arin enterprises

काठमाडौं सुनचाँदी व्यवसायीहरुको नेतृत्वमा रोहिना

SamacharDesk – बिराज | २०८० चैत्र ३, शनिबार

काठमाडौँ सुनचाँदी व्यवसायी संघले रोहिना देवी शाक्यको नयाँ नेतृत्व पाएको छ । शनिबार सम्पन्न संघको २१ औँ वार्षिक साधारणा सभा तथा सातौँ अधिवेशनले शाक्यलाई संघको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

कार्य समितिको ३ जना उपाध्यक्षमा उपेन्द्रकाजी शाक्य, मुक्तीरत्न वज्राचार्य र दशरत्न वज्राचार्य चयन भए ।

सचिवको जिम्मेवारी लेखरत्न शाक्यले पाउँदा रमेशमान शाक्य कोषाध्यक्ष बनेका छन् । अभिषेक शाक्य सह सचिव र पद्मेश शाक्य सह कोषाध्यक्ष पदमा चुनिए ।

कार्य समितिमा सदस्यमा सुर्यरत्न बज्राचार्य, सुरेन्द्रकाजी शाक्य, सुजेन शाक्य, निकेशरत्न बज्राचार्य, मनिष शाक्य, उजिना शाक्य, मोहिनी शाक्य, संजयरत्न शाक्य, माणिकरत्न शाक्य, रविन्द्र शाक्य, कबीरचन्द्र बज्राचार्य, सन्दिप शाक्य र अरुणा श्रेष्ठ पनि निर्विरोध निर्वाचित भए ।

यसअघि, संघको साधारण सभाको उद्घाटन सत्रमा बोल्दै युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले लिच्छवी कालदेखिको इतिहास बोकेको सुनचाँदी व्यवसायमा युवा पुस्तालाई टिकाउन युवा मन्त्रालयले ठोस योजना ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

सुन तस्कर काण्डमा संलग्न देखिएकालाई पक्राउ गर्न सुरु भइसकेको बताउँदै मन्त्री श्रेष्ठले दोषी कोही उम्किन नदिने पनि बताए ।

‘सुन तस्कर सम्वन्धि अध्ययन अनुसन्धान गर्न गठीत आयोगको प्रतिवेदन हिजो प्राप्त भई हिजै मन्त्रिपरिषद्को वैठकबाट यसलाई अध्ययन पश्चात कार्यान्वयनमा लाने निर्णय भइसक्यो । साथमा हिजैबाट दोषी देखिएकालाई पक्राउ गर्न पनि सुरु भइसक्यो । निर्दोष ढुक्क भए हुन्छ, दोषी कोही पनि उम्किन दिँदैनौं’ मन्त्री श्रेष्ठले भने ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बजारमा संलग्न व्यापारीले नभई बाहिरी तत्वले गर्दा तस्करी भइरहेको बताए ।

अध्यक्ष सुरेश शाक्यले आफ्नो तीन वर्षे कार्यकालमा यस संस्थाको गरिमा अझ उच्च पार्न कार्य गरेको भनाई राखे ।

Categorized in बिजनेस