संकटका समयमा स्काउटको भूमिकामा जोड
SamacharDesk – समाचारडेस्क | २०७८ पौष २८, बुधबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संकटको समयमा स्काउटमा आबद्ध युवाको भूमिका उल्लेखनीय रहेको र आगामी दिनमा आवश्यक पनि रहेको जनाएका छन् ।
मंगलबार भक्तपुर नगरपालिकाका स्थानीय स्काउटको दीक्षान्त समारोहमा बोल्दै नगर प्रमुख प्रजापतिले नेपाल स्काउटको गतिविधिले अझै व्यापकता पाउने विश्वास व्यक्त गरेका हुन् ।
“संकटको समयमा निःस्वार्थ रूपमा देश र जनताको सेवा गर्नु नै स्वयंसेवा हो,” प्रजापतिले भने, “कोभिड–१९ महामारी नियन्त्रणमा भक्तपुर नगरपालिकामा स्काउटले उल्लेखनीय भूमिका खेलेको छ र आगामी दिनमा पनि यसले अझै व्यापकता पाउने विश्वास छ ।”
नेपाल स्काउट भक्तपुर नगरपालिकाका स्थानीय संरक्षकसमेत रहेका सुनिल प्रजापतिले स्थानीय स्काउट तदर्थ समितिलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले नगरपालिकाका प्रमुख प्रजापति, उपप्रमुख रजनी जोशी, नगर शिक्षा शाखाका सदस्य सचिव कृष्णप्रसाद कर्माचार्यलगायतलाई दीक्षित गरेका थिए ।
नेपाल स्काउटले देशका ७५३ वटै स्थानीय तहमा आफ्नो शाखा विस्तार गरिसकेको जनाउँदै नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले विद्यालय तहमै स्काउटिङ शिक्षा आवश्यक रहेको जनाएका छन् ।
कार्यक्रममा भक्तपुर नगरपालिकाकी उपप्रमुख तथा नेपाल स्काउट भक्तपुर नगरपालिकाका स्थानीय प्रमुख स्काउट जोशीले अनुशासित र इमानदार नागरिक तयार गरी सभ्य समाज बनाउन नेपाल स्काउटको भूमिकाको प्रशंसा गरेकी छिन् ।
Categorized in समाज