arin enterprises

“सकिमिला पुन्ही” मनाइयो

SamacharDesk – राम डंगोल | २०८० मङ्सिर १२, मंगलबार

हरेक वर्ष जस्तै यो वर्ष पनि कार्तिक शुक्ल पुर्णिमा, कछलाथ्व पुन्हिलाई उपत्यकाको नेवाः समुदायले सकिमिला पुन्हीको रुपमा मनाइयो।

सकिमिला पूर्णिमा तिहारपछि उपत्यकाका नेवारहरुले मनाउने पहिलो चाड हो । सकि भन्नाले पिँडालु र मिला भन्नाले चन्द्रमा भन्ने बुझिन्छ।

चन्द्रमास अनुसार पूर्णिमाका दिन मनाउने चाडको रुपमा मनाइन्छ । शखरखण्ड, पिँडालु उसिनेर खाने भएकोले यसलाई सकिमना पुन्ही भनेर पनि मनाउने गरेको पाइन्छ ।

विशेषगरी यो चाडमा भुटेको गेडागुडीहरुको छुट्टै महत्व रहेको । यो चाड अरु चाड जतिको ठूलो चाडको रुपमा नमनाए पनि बौद्ध धर्मावलम्बीहरुका लागि भने यो ठूलो चाड हो ।

यस दिन बहाः बही, चैत्य र मन्दिर अगाडि मकै, भटमास, केराउ, बकुला लगायतका विभिन्न थरीका गेडागुडी भुटेर त्यसबाट विभिन्न देवीदउता, कलश, मन्दिर र चैत्यको कलात्मक चित्र बनाएर पूजापाठ गर्ने गर्दछन् ।

यस्तै उसिनेको वनतरुल, पिंडालु र सखरखण्ड पनि देवी देउतालाई चढाउने र खाने गरिन्छ । यसरी कलाकृती बनाएपछी, विभिन्न गुठीका व्यक्तिहरुले परम्परागत वाद्यवादन बजाइ रागहरु गाएर गीत गाउने गरिन्छ। अन्तिममा यी सबै अन्नलाई प्रसादको रुपमा बाँड्ने चलन रहेको छ।

अन्नबालीहरु भित्र्याए पछिको अलिकती फुर्सदको समयमा मनाइने यस पर्वलाई चखस् अर्थात् सानो पर्वको रुपमा लिइन्छ भने यसमा घर(परिवार मात्र सम्मिलित भइ मनाउने गरिन्छ। बौद्ध धमावलम्विहरुले विपश्वी बुद्ध र अभिताभ बुद्धको पूजा गरेर अन्न दान गर्ने परम्परा छ ।

यो चाड मनाउनुको मुख्य उद्देश्य भनेको हामी स्वस्थ हुन प्रकृतिबाट प्राप्त मौसम अनुसारको अन्न तथा फलपूmलहरु ग्रहण गर्नुपर्दछ जसबाट मानिसहरु स्वस्थ हुन चाहिने भिटामिनहरु प्राप्त होस् भन्ने हेतुले मनाउने गरेको पाइन्छ ।

यस अलावा हामीले धार्मिक मान्यता अनुसार पर्व मनाएता पनि, यस भित्र विभिन्न जीवन दर्शनका पक्षहरु पाइन्छ। समय अनुसारको अन्न खाएर पर्व मनाउनुले जीवनलाई सहज रुपमा अगाडि बढाउनुपर्छ भन्ने सन्देश दिन्छ।

हलिमली ब्वयेगु भनी विभिन्न अन्नहरु द्वारा कलाकृतिहरु देखाउनुले हामीभित्र लुकेको सीप, कौशल र जाँगरिलोपनलाई उजागर गर्छ।

नयाँ अन्नबाली भित्र्याएपछीको खाली हुने केही समयमा यसरी हलिमली ब्वये गर्दै, मठ(मन्दिरमा विभिन्न ताल, राग र सुरमा संगीतमा मुग्ध भएर मनाउने यस पर्वले, आफुसँग भएको हरेक कुराको लागि कृतज्ञ हुनपर्छ भनी सिकाउँछ भने, आफू काममा जति व्यस्त भएपनी संस्कृती, संस्कार तथा जीवनको मूल आधारलाई बिर्सनु हुँदैन भन्ने गहिरो सन्देश पनि दिएको पाइन्छ ।

Categorized in संस्कृति