arin enterprises

‘ओली कुर्सीमा बसिरहनु निर्लज्जताको पराकाष्ठा’

SamacharDesk – बिराज | २०७८ आषाढ १, मंगलबार

जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री पदमा बस्नु भनेको निर्लज्जताको पराकाष्ठा भएको बताउनुभएको छ ।

समाचारडेस्कको लाइभ सम्वादमा कुरा गर्दै नेता श्रेष्ठले आफैंले बहुमत पु¥याउँदै सरकार बनाउन आह्वान गरेर फेरी पनि आफैंले प्रधानमन्त्री पदमा बस्न जानु निर्लज्जताको पराकाष्ठा भएको बताउनुभएको हो ।

‘धारा ७६ (५) अनुसार सरकार बनाउन मार्ग प्रसस्त गरिदिएँ भनेर आफैंले बोल्ने र फेरी आफैंसँग बहुमतको समर्थन भएको दावी गर्दै विना हस्ताक्षरको नामावली देखाएर प्रधानमन्त्री पदमा टाँस्सिएर बस्नु भनेको निर्लज्जताको पराकाष्ठा नै हो’ श्रेष्ठको भनाई हो ।

संविधानलाई मिच्दै अवैधानिक ढङ्गले ओली कुर्सीमा टाँस्सिएर बसेको नेपालमा मात्रै नभई विश्व समुदायको बीचमै हास्यास्पद भएको उहाँको भनाई हो ।

कुराकानीकै क्रममा नेता श्रेष्ठले वर्तमान सरकारमा जसपा पार्टी छ भन्ने भ्रममा नपर्नको लागि पनि आग्रह गर्नुभयो ।

‘अहिले राजेन्द्र महतो लगायतका नेताहरु सरकारमा जानुभएको छ, उहाँहरुलाई पार्टीले कारवाही गरेर निष्काशित गरीसकेको अवस्थामा उहाँहरुलाई जसपा पार्टीको प्रतिनिधि भन्न मिल्दैन, जसपा सरकारमा छैन’ श्रेष्ठले प्रष्ट पार्नुभयो ।

६० प्रतिशत उपस्थिती रहेको कार्यकारिणी समितिको वैठकले नै महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेतालाई कारवाही गर्ने निर्णय गरेको उहाँले स्मरण गर्नुभयो ।

उक्त कारवाही एक अध्यक्षले अर्को अध्यक्षलाई गरेको नभई पार्टीको विधान, निर्णय उल्लंघन गर्ने नेताहरुलाई पार्टीले गरेको भनेर निर्वाचन आयोगले पनि बुझ्नुपर्ने श्रेष्ठको भनाई हो ।

‘यो एक अध्यक्षले अर्को अध्यक्षलाई अथवा एक समूहले अर्को समूहलाई कारवाही गरेको होइन, पार्टीको विधिविधान अन्तर्गत रहेर पार्टीको विधान उल्लंघन गरेकालाई कारवाही गरेको हो’ श्रेष्ठले भन्नुभयो ।

नेतालाई देवत्वकरण गर्ने, नेताको जयजयकार गर्ने परिपाटीको कारणले पार्टीलाई विचार र सिद्धान्तको बलले भन्दा नेताको व्यक्तिगत विचारबाट चलाउन खोज्दा हरेक पार्टीमा विवाद बढ्ने र पार्टी टुक्रिने प्रवृत्ती बढेको विचार श्रेष्ठले राख्नुभयो ।

सामन्ती सोचबाट माथि उठेर विचार र सिद्धान्तलाई प्राथमिकतामा राखेर पार्टी चलाउनुपर्ने सुझाव श्रेष्ठले दिनुभयो ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082