साँखुमा स्वस्थानी मेला नित्य पूजा र धार्मिक विधि मात्र पुर्याउँदै सम्पन्न गरिने
SamacharDesk – बिराज | २०७८ पौष २८, बुधबार

अहिले कोरोनाभाईरसको ओमिक्रोन भेरीएन्ट तीव्र गतिमा फैलिरहेको अवस्थामा कोभिड १९ साँखुको प्रशिद्ध माधवनारायण व्रत मेला नित्य पूजा र धार्मिक विधि मात्र पुर्याउँदै निरन्तरता दिइने बताइएको छ ।
श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले आज शालिनदि परिसरमै संचारकर्मीहरुसँग कुरा गर्दै आजसम्म अटुट रुपमा संचालन हुँदै आएको मेलालाई यस वर्ष पनि सक्दो सावधानी अपनाउँदै निरन्तरता दिने बताएको हो ।
समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले पत्रकारहरुसँग कुरा गर्दै सिमित संख्यामा व्रतालुहरु राखेर सक्दो सुरक्षित वातावरणमा मेला सम्पन्न गर्ने बताउनुभयो ।
‘व्रत वस्न धेरै जनाले सम्पर्क गरीरहेको भएपनि सिमित संख्यामा मात्र व्रतालुलाई सहभागी गराउन खोजिरहेका छौं, उहाँहरुको स्वास्थ्य सुरक्षाको जिम्मा पनि हामी नै लिन्छौं’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
सम्पूर्ण व्रतालुसँग पूर्ण खोप लगाएको कार्डको कपी लिनुका साथै निमोनिया भए नभएको यकिन गर्न एक्सरे समेत लिने समितिले जनाएको छ । आवश्यक भए एन्टिजेन परिक्षणकोसमेत व्यवस्था गर्ने बताइएको छ ।
गत वर्ष करीब ४ लाख भक्तजनले मेला भरेका थिए । यस वर्ष पनि ठुलै संख्यामा भक्तजन मेलामा आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै मेला भर्न आउनेहरुका लागि माधवनारायणको दुरदर्शनको व्यवस्था गरिने भएको छ ।
मेला अवधिभर स्वयम्सेवक, व्रतालु र भक्तजनहरुबीच भौतिक दुरी, मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सुरक्षाका उपायहरुलाई पनि कडाईकासाथ लागू गरिने पनि समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
‘हामीले मेला भर्नको लागि कोही पनि नआउनुहोला भन्न सक्दैनौं । आउनेहरुले स्वास्थ्य सुरक्षालाई पनि ध्यानमा राखिदिनुहोला र सकेसम्म भीडभाड नहुने वातावरण बनाउन सहयोग गर्नुहोला’ श्रेष्ठले भने ।
यस वर्षको स्वस्थानी व्रत मेलाको क्रममा माघ २ गते ‘चिभ्वय् नयेगु’ अर्थात नुन भोज खाने कार्यक्रम रहेको छ भने ३ गतेबाट व्रत र पूजा शुरु हुँदैछ ।
Categorized in संस्कृति