वरिष्ठ कलाकार मदनकृष्णलाई चलचित्र दीर्घ साधना सम्मान
SamacharDesk – विजयरत्न | २०८३ आषाढ ६, शनिबार
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा योगदान दिनेतर्फ सबैको ध्यान जान जरुरी भएको बताएका छन् ।
शुक्रवार आयोजित राष्ट्रिय एवम् विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको अर्थतन्त्रको विकासमासमेत योगदान पुर्याउन सक्ने भन्दै सबैले त्यसतर्फ सोच्नु पर्ने बताए ।
राष्ट्रपति पौडेलले चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभएर नागरिकमा जागरण, रुपान्तरण, चेतना, राष्ट्रप्रेमको भावना जगाउने र हाम्रो मौलिक भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्ने माध्यम भएको बताए ।
‘चलचित्रका पर्दामा महिला, बालबालिका, दलित, आदिवासी जनजाति, मधेसी, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न भूगोल र समुदायका कथाहरू सम्मानजनक, संवेदनशील र यथार्थपरक रूपमा अटाउन् भन्ने मेरो अपेक्षा छ’ पौडेलको भनाई हो ।
सोहि समारोहमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र केवल मनोरञ्जनको माध्यममात्र नभई समाजको सामूहिक स्मृति, सपना र समयको दस्तावेजका रूपमा रहेको बताए ।
‘चलचित्र मनोरञ्जनको माध्यम मात्र नभई वास्तवमा चलचित्रलाई गहन अध्ययन गर्ने हो भने वा गहन दृष्टिले हेर्ने हो भने समाजलाई हेर्ने सामूहिक र सामाजिक स्मृति वा सपनाजस्तो र समयको दस्तावेज पनि हो कि जस्तो लाग्छ’ मन्त्री तिमिल्सिनाले भने ।
राष्ट्रिय चलचित्र पुरस्कार २०८२ को कुन विधामा को उत्कृष्ट ?
राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा व्यक्ति तथा फिल्मतर्फ गरी विभिन्न आठ विधामा पुरस्कार प्रदान गरियो ।
नवीन चौहान निर्देशित ‘ऊनको स्वीटर’ले तीन विधामा पुरस्कार जितेको छ । स्वीटर उत्कृष्ट चलचित्र घोषित हुनुका साथै उत्कृष्ट निर्देशकको पुरस्कार पनि निर्देशक नवीन चौहानले पाए भने यसै फिल्मबाट मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भइन् ।
उत्कृष्ट अभिनेताको पुरस्कार भने ‘परान’ फिल्मबाट वरिष्ठ अभिनेता नीर शाहले प्राप्त गरेका छन् । उत्कृष्ट पटकथातर्फको पुरस्कार पनि ‘परान’ ले नै जितेको छ । पटकथाका लागि याम थापा र दीपक आचार्य पुरस्कृत भएका हुन् ।
उत्कृष्ट छाँयाकनको पुरस्कार ‘कोशेढुंगा’ ले पाउँदा उत्कृष्ट सम्पादककोृ पुरस्कार पनि यसै फिल्मबाट नहकुल खड़काले प्राप्त गरे ।
यसै समारोहमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मानले पुरस्कृत गरिएको छ । श्रेष्ठलाई ३ लाख ७५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।
‘रमिताको पिरती’ बाट आना शर्मा र ‘झरी पछिको इन्द्रेणी’बाट बिमोचन दवाडीले जूरी प्रोत्साहन पुरस्कार प्राप्त गरे ।
समारोहमा चलचित्र क्षेत्रका ११ जनालाई विशेष योगदान सम्मान प्रदान गरिएको छ ।
यो सम्मान पाउनेमा प्रदर्शक विष्णु गोपाल श्रेष्ठ, प्रदर्शक डाक्टर सिंह गुरुङ, अभिनेत्री मेनुका प्रधान, निर्देशक अभिनाश विक्रम शाह, अभिनेता रोहित रुम्बा र सञ्चारकर्मी प्रकाश सुवेदी रहेका छन् ।
त्यसैगरी अभिनेत्री तथा खेलाडी एन्जिला तुम्बापो सुब्बा, अभिनेत्री लक्ष्मी बर्देवा, निर्माता विनोद शेरचन, प्राविधिक शंकर पाण्डे र स्वर्गीय पत्रकार दिनेश सिटौलाले पनि विशेष योगदान सम्मान पाएका छन् ।
लिम्बु भाषाको फिल्म ‘नामछोङ’ ले विशेष चलचित्र पुरस्कार २०८२ पाएको छ ।
उत्कृष्ठ आदिवासी फिल्मको पुरस्कार भने नेपालभाषाको फिल्म ‘इन्दिरा धिमे मैचा’ ले पाएको छ ।
चलचित्र पुरस्कार २०८२ को निर्णायक मण्डलको संयोजकमा वरिष्ठ अभिनेता हरिहर शर्मा रहेका थिए भने सदस्यहरूमा निर्देशक मिलन चाम्स, वरिष्ठ फिल्म प्राविधिक अरुण थापा, अभिनेत्री सरिता गिरी र संकृतिविद् तथा प्राध्यापक अरुण गुप्तो रहेका थिए ।
Categorized in पेजथ्री




