arin enterprises

शाक्त तन्त्र रूप – हिन्दु देवीहरू

SamacharDesk – उर्मी चन्दा-भाज | २०७८ फाल्गुण २४, मंगलबार

हिन्दु समाजमा सबैभन्दा कम बुझिएको र डरलाग्दो मानिएको समुदाय हो, तान्त्रिकहरू । अर्थात् तान्त्रिक भन्ने बित्तिकै डरलाग्दो देखिने अघोरीको चित्र देखिन्छ – खरानी धसेका र श्मशानमा अनौठो साधना गरिरहेका चित्र ।

सामान्य मानिस तन्त्रमार्गीबाट केही पर नै बस्न खोज्छ र उसलाई धार्मिक पथबाट भ्रष्ट मान्छ । म पनि यस्तै सोचाइबाट हुर्केकी थिएँ – यस्तो डरलाग्दो काल मार्गबाट हिँड्नेहरूबाट सतर्क हुनुपर्ने कुरा सुनेरै हुर्केँ ।

रोबर्ट इ स्वोबोदको ‘अघोर : एट द लेफ्ट ह्याण्ड अफ गड’बाट यस विषयमा मेरो रुचि जाग्यो र यसपछि तन्त्र के हो, यसको दर्शन, मूर्तिकला र प्रतीकहरूबारे अध्ययन गर्न थालेँ ।

सामान्यतः तन्त्रमा शिव र शक्ति दुई महत्त्वपूर्ण पक्ष हुन् । तर कुनै तन्त्र परम्परामा पुरुषलाई शिव नमानी विष्णु अथवा बुद्ध नै मानिन्छ । तर शक्ति भने सबैमा पाइन्छ । तसर्थ मैले यस प्रबन्धमा शक्तिबारे अध्ययन गर्न खोजेकी छु – हिन्दु, बौद्ध र बोन धर्ममा ।

तन्त्र के हो ?

हिन्दु धर्मको एउटा सम्प्रदाय, दर्शन, परम्परा र योगलाई तन्त्र भनी व्याख्या गरिएको पाइन्छ । यस शब्दको पहिलो उल्लेख ऋग्वेदमा आउँछ । संस्कृतमा ‘तन्’ अर्थात् विस्तार भन्ने मूलबाट तन्त्र शब्द बनेको हो ।

अजित मुखर्जी र मधु खन्नाले ‘द तान्त्रिक वे’ नामक लेखमा तन्त्रलाई यसरी व्याख्या गरेका छन् –

(शाब्दिक अर्थमा भन्नुपर्दा) तन्त्र भनेको त्यस्तो व्यवस्थित र वैज्ञानिक अभ्यास प्रक्रिया हो जसले मानिसको ज्ञान र स्थानलाई विस्तार गर्ने सम्भावना जगाउँछ, जसबाट उसले आफ्नो भित्री आध्यात्मिक शक्तिबोध गर्न सक्छ ।

द्वैतवादी शैव सिद्धान्तका १० औँ शताब्दीका विद्वान् रामकण्ठले तन्त्रलाई यसरी व्याख्या गरेका छन् –

तन्त्र भनेको देवताद्वारा प्रकाश पारिएको ज्ञानपुञ्ज हो, जसले देवताको आराधनामा के महत्त्वपूर्ण छ र के चीजले बाधा गर्छ भन्ने व्याख्या गर्छ । यसले तन्त्र अभ्यासका लागि आवश्यक दीक्षा र शुद्धीकरण रीति पनि व्याख्या गर्छ ।

छोटकरीमा, तन्त्र भनेको हिन्दु समाजभित्रको (सामान्यतः) द्वैत, आगम (अर्थात् वैदिक–इतर) परम्परा हो जसले शिव र शक्ति वा प्रकृति र पुरुषलाई चिन्दछ, यससँग सम्बन्धित थुप्रै रीतिरिवाजको व्याख्या गर्छ र पूर्व वैदिक कालदेखि निरन्तर चलिरहेको छ । प्रमुख हिन्दु तन्त्र हिन्दु तन्त्र पूर्व–आर्य युगदेखि पाइन्छ । यसअन्तर्गत महत्त्वपूर्ण परम्परामा शैव, शाक्त वा कौल, त्रिक वा कश्मीरी (शैववाद), श्रीविद्या, गाणपत्य, सौर्य र वैष्णव रहेका छन् । यी सबैलाई अझ दक्षिणाचार, वाममार्ग र मध्यमार्गमा विभाजन गर्न सकिन्छ । विशेषतः वामाचारलाई तन्त्रसँग बढी नजिकको मानिन्छ ।

हिन्दु तन्त्रका प्रमुख अधिष्ठात्री देवीहरू

पार्वती – शिवकी शक्तिका रूपमा पार्वती दुई भुजायुक्त सुन्दर देवीका रूपमा देखाइन्छ । उनलाई उमाको नामबाट पनि चिनिन्छ र देवी सतीको पुनरावतार मानिन्छ । उनको एक हातमा कमल र अर्को हातमा अभय मुद्रा देखाइन्छ ।

राधा – पौराणिक पात्र भए पनि वैष्णव मतमा राधा निकै लोकप्रिय छ । बृहद् गौतमीय तन्त्रले राधालाई श्रीकृष्णकी अधिष्ठात्री राधारानीका रूपमा वैभवकी देवी मान्दछ । उनलाई श्रीकृष्णसँग लीलामा रमाइरहेकी देखाइन्छ ।

लक्ष्मी – पौराणिक व्याख्याभन्दा फरक लक्ष्मी तन्त्रले देवी लक्ष्मीलाई भगवान् विष्णुको आज्ञाअनुसार ब्रह्माण्डको सृष्टि, पालन र संहार गर्ने देवीको रूपमा व्याख्या गर्छ । तान्त्रिक लक्ष्मीलाई शवासनमा भगवान् विष्णुझैँ पद्म, गदा, शङ्ख र चक्रसहित देखाइन्छ ।

गणपतिकी शक्ति – प्रायः एकल रूपमा देखाइने गणेशको मूर्ति गाणपत्य तन्त्रअनुसार भने एक वा धेरै अधिष्ठात्री देवीसँगै देखाइन्छ । गणेशसँगै बुद्धि, ऋद्धि र सिद्धि वा अष्टसिद्धि देखाइन्छ । अझ ६४ योगिनीमध्येकी एक विनायकी भगवान् गणेशकै स्त्रीरूप पनि मानिन्छ । उनलाई स्त्रीगणेश, गजानना, विघ्नेश्वरी र गणेशानीको नामबाट पनि चिनिन्छ ।

हिन्दु तन्त्रका प्रमुख सृष्टिकर्ता मातृका देवीहरू

पार्वती – पार्वती शिवका अधिष्ठात्रीबाहेक मातृरूपमा गणेशसँग पनि देखाइन्छ । शैव सिद्धान्तमा पार्वती पनि महत्त्वपूर्ण देवी हुन्, किनकि सबै शास्त्रहरू पार्वती वा देवीसँग शिवको संवादका रूपमा आउँछ । पार्वतीका विभिन्न रूपमा ललिता, मीनाक्षी र कामाक्षी पनि पर्दछन्, जुन विभिन्न सम्प्रदायले पनि उत्तिकै पूजा गर्छन् ।

आदिपराशक्ति – परमात्माको प्रकृति रूपको आदि पराशक्ति । उनकै शक्तिले सबै देवी तथा दशमहाविद्याको उत्पत्ति भएको हो । ब्रह्माण्डको परब्रह्माको सृष्टिका कारण पनि उनै आदिशक्ति हुन् । उनलाई कौल मतमा सातवटा सिंहयुक्त सुसज्जित आसनमा देखाइन्छ । उनीसँगै देवी लक्ष्मी र सरस्वती तथा उनको पाउमा श्रीयन्त्र राखिएको हुन्छ । भद्रकाली – भद्रको अर्थ असल भन्ने हुन्छ । कालीको यो रूप भद्र देखाइन्छ, उनको चार वा छ भुजा देखाइन्छ जसमा आयुध, पद्म र पात्र देखाइएको हुन्छ । उनलाई शव आसनमा देखाइन्छ । उनको वरपर देवीदेवताहरूले भक्तिभावसहित पुजिरहेका हुन्छन् । यी देवी शैव र शाक्त मतमा लोकप्रिय छिन् ।

महादेवी – परादेवीको रूपलाई महादेवी भनिन्छ र यिनलाई महाकाली, महालक्ष्मी वा महासरस्वतीको रूपमा देखाइन्छ । महानिर्वाण तन्त्र, ललितासहस्रनाम आदि कौल शास्त्रमा महादेवीको वर्णन पाइन्छ । उनलाई सबैभन्दा सुन्दर, सबैभन्दा शक्तिशाली देवीका रूपमा देखाइन्छ । उनको मूर्तिकला देवी दुर्गाझैँ थुप्रै भुजामा आयुधसहित र सिंहमाथि वा कहिलेकाहीँ कमलमाथि बसेकी रूपमा देखाइन्छ ।

महालक्ष्मी – वैष्णव तन्त्रमतमा महालक्ष्मीलाई महाविष्णुकी अधिष्ठात्री देवीका रूपमा मानिन्छ । उनका सबै गुण लक्ष्मीझैँ कमलको फूल र हात्तीका प्रतिमासहित देखाइन्छ । उनका चार भुजा देखाइन्छ । उनलाई पञ्चरात्र शास्त्रमा सृष्टिकर्ताको रूपमा वर्णन गरिएको छ ।

ललितत्रिपुरसुन्दरी – श्रीविद्यातन्त्रको सबैभन्दा महत्त्वपूर्ण देवी हुन्, ललितत्रिपुरसुन्दरी । उनीबाहेक सबै देवी वा देवतालाई सहायक भूमिकामा मात्र मानिन्छ । तीनवटै पुरका सबैभन्दा सुन्दरी देवीकी रूपमा उनलाई आदिपराशक्तिझैँ लक्ष्मी, सरस्वती र पाउमा श्रीयन्त्रसहित देखिन्छ । कहिलेकाहीँ उनलाई ब्रह्मा, विष्णु, शिव र इन्द्र वा ईशानले बोकेको देखाइन्छ । उनका चार भुजामा पद्म, पाश, अंकुश र उखुको धनु देखाइन्छ । पद्म र धनुले उनको कामाक्षी अर्थात् कामकी देवीका रूप देखाउँछ । उनी दशमहाविद्यादेवीमध्ये पनि मानिन्छ । उनलाई ध्यान र अवस्थाका आधारमा रक्त, स्वर्ण वा धूम्र वर्णमा पनि देखाइन्छ ।

हिन्दु तन्त्रका प्रमुख संहारकर्ता देवीहरू

चामुण्डा – चामुण्डालाई कुनै कबिला समुदायकी देवीको रूपमा मानिन्छ र पछि हिन्दु तथा जैन मतमा पनि संलग्न भएको मानिन्छ । उनी सप्तमातृकामध्ये एक हुन् र उनको कथा चण्डमुण्डको वधसँग सम्बन्धित छ । नेपाली चित्रकलामा उनलाई डरलाग्दी देवीका रूपमा चार, आठ, दश वा बाह्र भुजायुक्त र मुण्ड आसनमा देखाइन्छ । उनी रक्त वा कालो वर्णमा मुण्डमालासहित र स्तन केही तल झरेको देखाइन्छ । उनका हातहरूमा पाश, खड्ग, खट्वाङ्ग, ढाललगायत थुप्रै आयुध देखाइएको हुन्छ । उनी बसेकी, उभिएकी वा पलेटी कसेकी रूपमा पनि देखाइन्छ । मातृकाका रूपमा उनी रोग वा मृत्यु हर्ने देवीका रूपमा पनि पुजिन्छ । गुजरातमा यी देवी चामुण्डा–चोटिलाका रूपमा दुई रूपमा जोडिएकी छिन् । उनी सिंहारुढ गरेकी, रातो र हरियो सारी लगाएकी र त्रिशूल बोकेकी रूपमा देखाइन्छ ।

काली – काली प्रमुख तान्त्रिक देवी हुन् । निरुत्तरतन्त्र, योगिनीतन्त्र, कामाख्यातन्त्र आदिले उनलाई तन्त्रको प्रमुख देवी मानेका छन् । काली तन्त्र–इतर समुदायमा पनि उत्तिकै पुजिन्छन् । उनको नाम ‘काल’ शब्दबाट आउँछ, जहाँ कालको अर्थ समय र मृत्यु दुवै हुन्छ । कालीको प्रतिमा कालो वा गाढा नीलो वर्णको, चार भुजामा क्रमशः माथिल्लो दायाँ हातमा खड्ग, बायाँमा छेदन गरिएको शिर र तल्लो बायाँ हातमा छेदन गरिएको शिरबाट टप्केको रक्त पात्रमा थापिरहेकी देखाइन्छ । उनी नग्न रूपमा ५० वटा मुण्डको माला र काटिएका हातको अम्बरसहित देखाइन्छ । उनी शिवलाई टेकिरहेकी र जिह्वा बाहिर निकालेकी देखाइन्छ ।

एकानंशा – वैष्णव तन्त्रमा एकानंशा देवीको उल्लेख पञ्चरात्र ग्रन्थमा पाइन्छ । उनी विष्णुकी शक्तिका रूपमा राजा नन्दकी पुत्रीकी रूपमा बालक कृष्णलाई कंशबाट बचाउन जन्मेकी हुन् । मथुराका केही मन्दिरहरूमा उनी विष्णु र बलराम वा इन्द्रसहित दुवैकी बहिनीकी रूपमा देखाइन्छ । उनले भगवान् विष्णुलाई कालनेमी दैत्यलाई पराजित गर्न सघाएकी थिइन् । उनी कालो बादलले घेरिएकी देखाइन्छ ।

गुह्यकाली – कश्मीर शैववादमा १२ प्रकारका कालीको उल्लेख पाइन्छ र यसमध्ये गुह्यकाली प्रमुख हुन् । उनको वर्णन महाकालसंहिताअन्तर्गतको गुह्यकाली खण्डमा पाइन्छ । गुह्यकाली १० वक्त्रको देखाइन्छ, जसमध्ये एउटा प्रमुख मानव वक्त्र छ भने अन्यमा चितुवा, सिंह, स्याल, बाँदर, भालु, मकर, गज, अश्व र गरुड वक्त्र हुन्छ । उनका १० वक्त्रमा २७ नेत्र हुन्छ । उनका आठ भुजा देखाइन्छ भने बृहत्तर रूपमा ५४ भुजासम्म देखाइन्छ । उनका आयुधहरूमा अंकुश, अक्षमाला, कपालपात्र, ढाल, शक्तिदण्ड, खट्वाङ्ग, धनु, चक्र, घण्ट, कंकाल, सर्प आदि देखाइन्छ । उनी भैरव र श्वान आसनमा बसेकी हुन्छिन् ।

हिन्दु तन्त्रका प्रमुख सामूहिक देवीहरू

दशमहाविद्या – दशमहाविद्यादेवी शाक्ततन्त्रका प्रमुख देवीहरू हुन् । दशमहाविद्यामा काली, तारा, त्रिपुरसुन्दरी, भुवनेश्वरी, छिन्नमस्ता, धूमावती, बगलामुखी, मातङ्गी र कमला पर्दछन् । महाविद्या सतीदेवीको क्रोधपूर्ण भावबाट उत्पत्ति भएको मानिन्छ । दशमहाविद्याको पुरानोमध्येको उल्लेख गुह्यातिगुह्य तन्त्रमा पाइन्छ, जसमा दशमहाविद्यालाई भगवान् विष्णुको दशअवतारसँग जोडिएको छ ।

सप्त/अष्टमातृका – तान्त्रिक परम्परामा मातृकाहरू अत्यन्त महत्त्वपूर्ण देवीहरू हुन् । दक्षिण भारतमा सप्तमातृका (ब्रह्माणी, माहेश्वरी, वैष्णवी, कौमारी, वाराही, इन्द्राणी र चामुण्डा) र नेपालमा अष्टमातृका (सप्तमातृका +नारसिंही?, नेपालमा +महालक्ष्मी) पूजा परम्परा पाइन्छ । कहिलेकाहीँ षोडशमातृका पनि पूजा गरिन्छ – गौरी, पद्मा, शची, मेधा, सावित्री, विजया, जया, देवसेना, स्वधा, स्वाहा, माता, लोकमाता, शान्ति, पुष्टि, धृति र स्वस्ति । मातृकाको अवधारणा शैव परम्पराबाट आएको मानिन्छ ।

चौसठ्ठी योगिनी – योगिनीको मत ईश्वीको आठौँ शताब्दीतिर तन्त्रको चरम विकास हुँदा विशेषतः कौल र कापालिक सम्प्रदायमा महत्त्वपूर्ण मानिन्थ्यो । योगिनीको शाब्दिक अर्थ योगाभ्यास गर्ने महिला वा महिला योगी भन्ने हुन्छ । देवीले शुम्भ र निशुम्भ नामक दैत्यद्वयलाई पराजित गर्न देवीबाटै योगिनी उत्पत्ति भएको मानिन्छ । मातृकाको सङ्ख्याअनुसार मातृकाको सङ्ख्या ६४ वा ८१ भनी फरक पाइन्छ । डाकिनी – हिन्दु परम्परामा डाकिनी (वा शाकिनी वा काकिनी)ले मृतकको आत्मा बोक्ने मानिन्छ । हिन्दु परम्परामा १०८ डाकिनी भनी मानिन्छ, तन्त्रमतमा सबै डाकिनीले शरीरका चक्रहरूमा नियन्त्रण गर्ने बताइन्छ ।

अष्टसिद्धि – आध्यात्मिक अभ्यासबाट सिद्धि प्राप्त गरेकाहरूलाई सिद्ध भनिन्छ । आठ सिद्ध देवीहरूमा अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्य, इशित्वा र वशित्वा मानिन्छ । गाणपत्य तन्त्रले यी सिद्धिहरूलाई गणपतिका आठ अधिष्ठात्रीका रूपमा मान्छ । यस्तै, भगवान् श्रीकृष्णका अष्टसखीका रूपमा ललिता, विशाखा, चित्रा, चम्पकमल्लिका, तुङ्गविद्या, इन्दुलेखा, रङ्गदेवी र सुदेवीलाई मानिन्छ ।

नवदुर्गा – देवी दुर्गाका नौवटा रूपलाई कौलमार्ग र शक्तिवादमा महत्त्वपूर्ण मानिन्छ । नवदुर्गामा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री मानिन्छ, जसलाई नवरात्रिका नौ रातमा पूजा गरिन्छ । यसमध्ये सिद्धिदात्री र कालरात्रिलाई तान्त्रिकहरू अझ महत्त्वपूर्ण मान्दछन् । कालरात्रि दशमहाविद्याकी भैरवी रूप हुन् ।

परा–परापरा–अपरा – कश्मीर शैववादको त्रिक मार्गीहरूले शिव, शक्ति र नरका रूपमा पूजा गर्ने प्रमुख देवीहरू यी तीन हुन् । शिव, शक्ति र नरको रूप परा, अपरा र परापराको शक्तिबाट प्रत्याभूत हुन्छ । देवी रूपमा यी तीनै देवी कालीरूपसँग जोडिन्छ । परा भद्र रूपमा देखाइन्छ भने परापरा र अपरालाई डरलाग्दो रूपमा मुण्डमाला र खट्वाङ्गसहित देखाइन्छ ।

मुम्बई विश्वविद्यालयको संस्कृत विभागमा कम्पेरेटिभ मिथोलोजी विषयमा पोस्ट–ग्राजुएट डिप्लोमा डिग्रीका लागि बुझाइएको शोधको सम्पादित अंश

Categorized in संस्कृति