रौतहटको मनि ट्रान्सफरका संचालकमाथि गोली प्रहार
SamacharDesk | २०८० चैत्र २, शुक्रबार

रौतहटकोे परोहा नगरपालिका ९ रामपुरखापस्थित शिवम् मनि ट्रान्सफरका संचालकमाथि गोली प्रहार भएको छ ।
हतियारसहित आएका तीन जना भारतीय लुटेराको समूहले मनि ट्रान्सफरमा प्रवेश गरी नगद काउन्टरमा बसेका नितेष शाहलाई गोली प्रहार गरेको हो । उनीहरुले ५२ लाख रुपैयाँ समेत लुटेको रौतहट प्रहरीले जनाएको छ ।
कञ्चटमा गोली लागी घाईते भएका साहलाई उपचारको लागि वीरगञ्जको न्यूरो अस्पतालमा लगिएको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
गोली चलाउने लुटेराको समूहलाई जिल्ला प्रहरी कार्यालय रौतहटले भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो । लुटेराहरु भारतीय नम्वर प्लेटको मोटरसाईकल चढेर आएको हो ।
पक्राउ परेका लुटेराहरु मुनिस यादव, राजकुमार पासवान र चन्द्र भारती रहेको पनि खुलेको छ । उनीहरुको साथबाट कटुवा पेस्तोल र १ थान गोली समेत बरामद गरिएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
Categorized in अपराध