arin enterprises

गायक पुरुषोत्तमको ‘सुथसिया निभाः’सार्वजनिक

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०८१ चैत्र १०, सोमबार

गायक पुरुषोत्तम श्रेष्ठको नेपालभाषाको गीत ‘सुथसिया निभाः जुयाः’ सार्वजनिक भएको छ ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा नेपालको पहिलो चलचित्र ‘आमा’की आमा वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंहले उक्त गीत सार्वजनिक गरिन् ।

कन्फराक्टीभ मिडिया सोलुसनबाट आयोजित कार्यक्रममा वरिष्ठ अभिनेत्री सिंहले उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरिन् ।

कार्यक्रममा वरिष्ठ अभिनेत्री सिंहले अहिले नेवाः कला क्षेत्र पनि व्यापक बन्दै गएको भन्दै खुसी पोख्दै म्यूजिक भिडियोमा आफुले कलाकारहरुकै पीडा देखेको बताइन् ।

वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरले कार्यक्रममा सार्वजनिक गरिएको म्यूजिक भिडियाका निर्देशक बिराजकाजी राजोपाध्यायले आफुसँग करीब २५ वर्ष अघि नेपाल टेलिभिनजमा हसना कार्यक्रममा आफुसँग सहकार्य गरेको स्मरण गरे ।

‘करीब २५ वर्ष अघि हामीले हसना कार्यक्रम चलाउँदा नेपालभाषाका म्यूजिक भिडियोहरु खासै बन्दैनथियो । अहिले दिनकै जसो नेपालभाषाका नयाँ नयाँ म्यूजिक भिडियोहरु रिलिज भइरहँदा खुसी लाग्छ’ वरिष्ठ सिने पत्रकार तुलाधरले भने ।

वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठले आफुले म्यूजिक भिडियोको पात्रमा आफैलाई नै पाएको बताए ।

‘एक समय म आफैं सडक दुर्घटना भएर हिँड्न नसक्ने अवस्थामा घर बस्नुपरेको थियो । यो म्यूजिक भिडियोको कथावस्तुमा मेरो त्यहि अवस्था पाएँ, मैले आफैंलाई यसमा देखें’ श्रेष्ठले भने ।

त्यसैगरी वरिष्ठ गायक जुजुकाजी रंजित, वरिष्ठ संगीतकर्मी बुद्ध सायमिले एउटा राम्रो गीत र म्यूजिक भिडियो बनेको भन्दै कलाकारिता क्षेत्रमा निरन्तरता दिन गायक श्रेष्ठलाई आग्रह गरे ।

म्यूजिक भिडियो निर्देशक बिराजकाजी राजोपाध्यायले आफुले करीब १५ वर्ष पछि म्यूजिक भिडियो निर्देशन गरेको र यो भिडियो सम्पूर्ण कलाकारहरुप्रति समर्पित गरेको बताए ।

‘दुर्घटना लगायत विभिन्न कारणले कलाकारहरु शारिरीक मानसिक पीडामा बस्नुपर्ने अवस्था होला । त्यस्तो अवस्थामा कलाकारलाई आवश्यक साथ सहयोग हामीले नै दिने हो । यो गीत त्यस्तै सम्पूर्ण कलाकारहरुमा समर्पित छ’ निर्देशक राजोपाध्यायले भने ।

गायक पुरुषोत्तम श्रेष्ठले एकदम मिहिनेत गरेर राम्रो गीत बनाउन प्रयास गरेको बताउँदै साथ सहयोगको लागि सबैमा अपिल गरे ।

गायक श्रेष्ठकै युट्युब च्यानल पुरुश्रेष्ठमार्फत सार्वजनिक भएको छ ।

उक्त म्यूजिक भिडियोको छायाङ्कन र दृश्य सम्पादन पूर्ण महर्जनले गरेका छन् । म्यूजिक भिडियोको निर्देशनको साथै रचना बिराजकाजी राजोपाध्यायको रहेको छ ।

म्यूजिक भिडियोमा गायक श्रेष्ठको साथमा उनकै अर्धाङ्गिनी रन्जु श्रेष्ठले अभिनय गरेका छन् ।

संगीत सुमन कपालीको रहेको छ ।

Categorized in पेजथ्री