arin enterprises

काठमाडौँ महानगरपालिका र पाख्रीबास नगरविच भगिनी सम्बन्ध स्थापना

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ श्रावण २७, बुधबार

काठमाडौँ महानगरपालिका र प्रदेश १ धनकुटा जिल्लाको पाख्रीबास नगरविच भगिनी सम्बन्ध स्थापना भएको छ ।

मंगलबार काठमाडौँमा महानगरका प्रमुख विद्यासुन्दर शाक्य र पाख्रीबासका प्रमुख बृषबहादुर राईले भगिनी सम्बन्ध सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्बन्ध स्थापना हस्ताक्षरपछि काठमाडौँ महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत पाख्रीबास नगरको सुन्तले डाँडाको धार्मिक तथा पर्यटकीय क्षेत्र विकासका लागि सम्झौता पनि गरेको छ ।

सम्झौताबमोजिम त्यस क्षेत्रमा पार्क निर्माण गर्न महानगरले १ करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउनेछ ।

सम्झौतापछि बोल्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको गृह जिल्लाको नगर विकासको अभ्यास आफ्ना लागि पनि सिकाइ हुने विचार राख्नुभयो ।

एकै पटक धेरै वटा स्थानीय तहसँग मितेरी लगाउँदा त्यसलाई दिगो बनाउन समस्या हुन सक्ने भएकोले पहिलो चरणमा ७ प्रदेशका ७ स्थानीय तहसँग भगिनी सम्बन्ध स्थापना गर्ने योजनाअन्तर्गत काम भइरहेको प्रमुख शाक्यको भनाइ थियो ।

पाख्रीबास नगरपालिकाका प्रमुख बृषबहादुर राईले काठमाडौँ र पाख्रीबासको भूगोल एउटै भए पनि सपना अलग–अलग रहेको बताउनुभयो ।

‘काठमाडौँले रेल सेवाको कुरा गर्छ, त्यो हामी सपना देख्न सक्दैनौँ । सबै वडामा बाह्रै महिना यातायातका साधन लैजान सकियोस्’ पाख्रीबास नगर प्रमुख राईले भन्नुभयो ।

महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले दुई स्थानीय तहका विभिन्न तह र संरचनाहरुलाई मिसाएर संयुक्त रुपमा असल अभ्यास, आदान प्रदानबाट आपसी हित बढाउने अपेक्षा गर्नुभयो ।

समुद्री सतहबाट २ सय मिटरदेखि १ हजार ८५२ उचाइ भूगोल महाभारत पर्वत श्रेणीको उत्तरमा रहेको पाख्रीबास नगरमा १० वटा वडा छन् । १४४.२९ बर्ग किलोमिटर नगरको भौगोलिक क्षेत्र हो ।

साविकको पाख्रीबास, सान्ने, फलाटे, घोर्लीखर्क र मुगा गाउँ विकास समितिलाई जोडेर ०७१ मंसिर १६ गते पहिलो पटक नगरपालिका घोषणा गरिएकाे हाे ।

त्यसपछि ०७३ फागुन २७ गते चुङ्वाङ् गाउँ विकास समितिलाई गाभेर संघीय शासन व्यवस्था बमोजिमको नगर घोषणा गरिएको हो ।

अमरगढी नगरपालिकासँग पनि भगिनी सम्वन्ध

यही अवसरमा डडेल्धुराको अमरगढी नगरसँग पनि भगिनी सम्बन्ध स्थापना भएको छ ।

मंगलबार नै काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य र अमरगढी नगर प्रमुख विश्वेश्वरप्रसाद ओझा (विपिन) ले भगिनी सम्बन्ध सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

भगिनी सम्बन्धमा हस्ताक्षर तथा घोषणापछि महानगरको नगर-नगर साझेदारी कार्यक्रमअन्तर्गत अमरगढी पार्क निर्माणका लागि सम्झौता भएको थियो ।

सम्झौता बमोजिम अमरगढी नगरपालिकाको वडा नम्बर २ र ५ को भौगोलिक क्षेत्रमा अमरगढी पार्क निर्माण गर्न महानगरले १ करोड ५० लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउनेछ । त्यहाँको ४ सय ५० रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिनेछ ।

‘आपसी पर्या–पर्यटन एवं धार्मिक पर्यटनका लागि सहकार्य गर्न सकिने अवस्था छ । यसले देशको समृद्धिका लागि ठूलो टेवा पुग्नेछ’ शाक्यले भन्नुभयो ।

अमरगढी नगर प्रमुख ओझाले महानगरसँगको सम्बन्धबाट सहिद भीमदत्त पन्तको जन्ममूभि, प्रसिद्ध धार्मिक स्थल उग्रतारा रहेको धार्मिक तथा पर्यटकीय स्थल अमरगढीको प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा राख्नुभयो ।

०५३ सालमा देशभर घोषणा भएका १५ नगरपालिकामध्ये अमरगढी एक हो । डडेल्धुरा जिल्लाको सदरमुकाम वरिपरिका साविक डोटी घटाल, सहस्रलिङ्ग, खलङ्गा, उग्रतारा र भूमिराज गाउँ विकास समितिको भौगोलिक क्षेत्र गाभेर नगरपालिका बनाइएको हो ।

अमरगढी नगरपालिकाको नामाकरण रणबहादुर शाहको शासन काल तथा राजकुमार बहादुर शाहको नायवीमा संञ्चालित नेपाल एकीकरणको सिलसिलामा भएको हो ।

वि.सं. १८४४ भाद्र ३१ गते आइतबारका दिन सेती नदीको नारी दाङमा गोर्खाली सैन्यसित डोटेली सैन्य पराजित भइसकेपछि, डोटी राज्य पनि विशाल नेपाल अधिराज्यमा गाभिन पुगेको थियो । त्यसपछि यस भुभागको प्रशासकका रुपमा अमरसिंह थापा नियुक्त भए ।

यस क्षेत्रको संरक्षण र महाकाली पारीको भूभागमा विजय प्राप्त गर्न उनले डडेल्धुरा जिल्लाको सदरमुकाम खलङ्गाको टाकुरामा बिशाल ढुङ्गे किल्ला बनाए ।

नेपालको एकीकरणका लागि अमरसिंह थापाले निर्माण गरेको त्यही विशाल ढुङ्गे किल्लालाई जीवन्त राख्न ऐतिहासिक पुरुष अमरसिंह थापाको नामबाट अमरगढी नगरपालिकाको नामाकरण हुन गएको हो ।

सुदुरपश्चिम प्रदेश, महाकाली अञ्चलमा पर्ने डडेल्धुरामा एउटा संसदीय निर्वाचन क्षेत्र छ । यही जिल्लाको सदरमुकाम अमरगढी नगरमा ११ वडा छन् ।

१ प्रदेश १ अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापना गर्ने योजनाअनुसार महानगरपालिकाले यसअघि कर्णालीको चन्दननाथ, बागमतीको मेलम्ची र लुम्बिनीको रामग्राम नगरपालिकासँग सम्बन्ध स्थापना गरिसकेको छ ।

Categorized in स्थानीय