arin enterprises

प्रेरणाकाे श्राेत हाे १०५ वर्षीया मिठाई आमाको सक्रिय जीवन

SamacharDesk – धीरजराम राजभण्डारी, नःघल | २०८० पौष २१, शनिबार

मिठाईदेवी राजभण्डारी मेरी ठुली आमा हुनुहुन्थ्यो । १०५ वर्षमा उनको गएको पौष ९ गते सोमबारका दिन निधन भयो । आज उहाँलाई सम्झिँदै उहाँको बारे केही शब्द कोर्ने कोशिश गरेको छु ।

उहाँलाई नचिन्ने मान्छेको लागि उहाँ अरु जस्तै एक साधारण महिला नै हुनसक्छ तर, उहाँ विशेष हुनुहुन्छ । मिठाईदेवी राजभण्डारी, हरेक मान्छेको लागि एक प्रेरणाको श्रोत हुनसक्छ ।

धेरै मान्छे सानै उमेरमा निराश बनेको देखेका छु, धेरै मान्छेमा सानै उमेरमा नकारात्मकता देखेको छु । तर उहाँको १०५ वर्षको जीवन निकै उर्जावान र सकारात्मक रह्यो । उहाँको जीवनबारे अरुले पढेर केही उर्जा पाउन्, सकारात्मकताको संचार होस् भनेर पनि यो शब्द कोर्दैछु ।

उहाँको जन्म १९७६ भाद्र १६ गते कायाष्टमीको अघिल्लो दिन भएको थियो । उहाँ न्हायकंटोल, नःघल राजभण्डारीमा मात्र होइन, टोलमा सबैभन्दा जेठी हुनुहुन्थ्यो होला ।

नेवार समाजमा मान्छे ७७ वर्ष ७ महिना ७ दिन ७ घडी ७ पलाको उमेर पुग्दा पहिलो जंक्व गर्ने परम्परा छ । त्यस्तै मान्छेको जीवनको हजार पूर्णिमा पुगेपछि दोश्रो, ८८ वर्ष ८ महिना, ८ दिन, ८ घडी ८ पलामा तेश्रो र ९९ वर्ष, ९ महिना ९ दिन ९ घडी ९ पलामा चौथो जंक्व गर्ने गरिन्छ ।

मान्छेहरुको पहिलो र दोश्रो जंक्व भनेको सामान्य नै होला । तेश्रो जंक्वसम्म पनि धेरैको भएका छन् । तर, चौथो जंक्व हुनु मात्र होइन, हेर्न पाउनु पनि दुर्लभ र भाग्यकै कुरा भन्नुपर्छ । हाम्रो भाग्य नै भन्नुपर्छ, हामीले मिठाई आमाको चौथो जंक्वसम्म पनि हेर्न, गर्न पायौं ।

२०७६ साल असार ३ गते मंगलवारकाे दिनमा उहाँको चौथो जंक्व सम्पन्न भएको थियो । त्यो बेला हाम्रो पुरोहित बाजे पनि करीब ९२ वर्षको हुनुहुन्थ्यो । अरु ठाउँमा जान छोड्नु भइसकेको पुरोहित बाजे चौथो जंक्व गराउन पनि ठुलै भाग्यको कुरा हो भन्दै आफैं आएर जंक्व गराउनुभएको थियो ।

२०७६ सालमै उहाँलाई हामीले नःघल न्हायकंटोल राजभण्डारी कुलदेवतामा अभिनन्दन पनि गरेका थियौं । यो अभिनन्द उहाँलाई सय वर्ष पुगेको उपलक्ष्यमा भनेर गरिएको थियो । तर यो उहाँको उमेरको लागि मात्र थिएन, उहाँको सक्रिय र प्रेरणादायी जीवनको लागि थियो ।

उहाँ सय वर्ष जिउनु मात्र भएन, बाँचेर जानुभयो । उहाँ १०४ वर्ष पूरा गरेर १०५ मा लाग्नुभएको थियो । १०५ वर्ष, कुनै चानचुने कुरो थिएन । अहिले ४०–५० वर्षको उमेरमै सुगर, प्रेसरले च्यापिसकेको हुन्छ, यहाँ दुख्यो, त्यहाँ दुख्यो, हड्डि खिइयो आदि प्रकारका समस्या देखा पर्न थालिसकेको हुन्छ । उहाँ जीवनको अन्तिम केही दिन बाहेक स्वस्थ नै हुनुहुँथ्यो ।

उहाँमा कुनै रोग वा शारिरीक समस्या थिएन । त्यसको कारण मैले देखेको भनेको उहाँको जीवनशैली नै थियो । मैले थाहा पाएदेखि अन्तिम क्षणसम्म पनि उहाँका जीवन निकै सक्रिय थियो । उहाँको सक्रिय जीवनको बारे यहाँ कुराहरु साझा गर्न चाहन्छु र शुरुमा उहाँको दिनचर्यादेखि कुरा सुरु गर्दै क्रमशः उहाँको बारेमा भन्दै जाउँला ।

मिठाइ आमाको दिनचर्याः

उहाँ जहिल्य विहान ४–५ बजे त उठिहाल्ने, नित्यकर्म गर्ने, कुचो लगाउने, पूजाघर भित्र देउता सबै पखालेर पूजा सकाउनुहुन्थ्यो । त्यसपछि करीब १५–२० मिनेट त आफ्ना पितृहरुको नाममा, देउताहरुको नाममा पितृतर्पण, देवतर्पण दिनुहुन्थ्यो ।

यी आदि इत्यादि सबै काम सकाइवरी मात्र उहाँ बल्ल चिया खानुहुन्थ्यो । यो उहाँको दैनिक जीवनचर्या नै थियो ।

खानपान पनि उहाँको एउटै किसिमको हुन्थ्यो । विहान चिया पिउँदा चियासँग अण्डा, चिउरा र कुनै एउटा तरकारी चाहिन्थ्यो नै । उहाँको ब्रेकफास्ट जहिल्यै यस्तै हुन्थ्यो ।

खाना खाँदा सामान्य रुपमा दाल, भात र अचार त हुन्थ्यो नै । उहाँ मासु पनि दैनिक जसो नै खानुहुन्थ्यो ।

खाना खाइवरी केही समय सुत्नु त पर्थ्याे नै । पछि साँझमा खाजा भनेको चिया र बिस्कुट हुन्थ्यो । उहाँलाई आफ्नो शरीरलाई के चाहिन्थ्यो वा आफ्नो शरीरलाई के दिनुपर्छ पुरै थाहा छ जस्तो लाग्थ्यो मलाई ।

विगतका दिनमा त आफैं पकाएर नै खानुहुन्थ्यो । अझ पहिला त दम दिने केरोसिनको स्टोभ प्रयोग गर्नुहुन्थ्यो । दम दिँदै स्टोभ बालेर खाना पकाउनुहुन्थ्यो । पछि उहाँलाई अलि सजिलो होस् भनेर हामीले ग्याँस स्टोभ किनेर राखिदियाैं । अनि ग्याँसमा पकाउन थाल्नुभयो ।

पछि उमेर हुँदै गएपछि दाल र तरकारी हामीले दिन थाल्याैं तर, भात त आफैं पकाउनुहुन्थ्यो ।

घरमा कोही नातेदार, कोही पाहुना आए आफैं चिया पकाएर दिनुहुन्थ्यो । चिया मात्रले कहाँ हुन्थ्यो उनलाई फेरी, अण्डा एउटा त पकाउनै पर्थ्याे ।

भयो खान्न भन्यो भने उहाँ भन्नुहुन्थ्यो, ‘छन्त ख्येँय् छपा नं दयेका मफुला जिं’ (तिमिलाई अण्डा एउटा पनि पकाएर ख्वाउन सक्दिन र म) ।

उमेर झन बढ्दै गएपछि उहाँको आँखा निकै कमजोर हुन थाल्यो । आँखाले राम्ररी नदेख्ने भएपछि स्टोभ बलेको छ छैन हेर्न उहाँले आगोलाई छोएर हेर्ने गर्न थाल्नुभयो । यो त निकै जोखिमपूर्ण र डरलाग्दो भयो भनेर पछि भात पनि हामीले नै दिन थाल्याैं ।

त्यो बेलासम्म पनि उहाँले मैले सकिन भने भन्नु नै भएन ।

संस्कार, संस्कृतिको निरन्तरतामा कहिल्यै सम्झौता गर्नुभएनः

संस्कृति संस्कारको निरन्तरतामा पनि उहाँले कहिल्यै अल्छि मान्नुभएन वा सकेन भन्नुभएन । हरेक वर्ष आफ्ना श्रीमानको वार्षिक तिथिमा जलदान गर्नु नै हुन्थ्यो ।

यसपालि अलि गार्हो छ, यो वर्ष सकिन, सिधा मात्र दिएर सकाउँ त कहिल्यै भन्नुभएन ।

यति मात्र होइन, आफ्ना नातागोता सबैलाई बोलाएर सबैलाई ख्वाउनै पर्ने ।

वर्षेनी चाडबाड मनाउने कुरामा पनि सकेजति विधि पुरा गर्नुहुन्थ्यो । भयो, यति गरेर सिध्याउँ भन्ने त कहिल्यै सुनिन ।

झुठो बोली बोली लुकाई लुकाई बहिनीलाई पढाइन्ः

उहाँ नेपालको निकै लोकप्रिय लोकगीत ‘राजमति कुमति’ पहिलो पटक रेकर्डिङ गरेका आदिगायक सेतुरामकी सुुपुत्री थिइन् भने कवयित्रि नारायणदेवी श्रेष्ठकी दिदी ।

उहाँ आफुले भने पढ्न पाउनु भएन तर, शिक्षाको महत्वको विषयमा भने राम्रै जानकार थिइन् । त्यसैले उनले आफ्नी बहिनीलाई भने पढाइन् ।

त्यो बेला छोरी मान्छेलाई पढाउने चलन थिएन । छोरीलाई किन पढाउनुपर्यो र भनेर सोचिन्थ्यो । तर उहाँले आफ्नी बहिनीलाई झुठो बोली बोली, लुकाई लुकाई पढाइन् ।

उनले बहिनीलाई आफैंले पढ्न पठाइन् । घरमा कसैले नारायणदेवी कता गइन् भनेर सोधेमा यतै कतै होलिन् नि, खेल्न गएकि होलिन् आदि भनेर झुठो बोलेर स्कूल गएको कुरा लुकाइदिन्थे ।

आज मिठाई आमाले त्यसरी लुकाई लुकाई पढ्न दिएकै कारण उनकी बहिनी कवयित्री भइन् भन्दा फरक नपर्ला । नारायणदेवी आमाले पनि आफ्नी दिदीले त्यसरी पढ्न दिएको कुरा आज पनि सम्झिने गर्नुहुन्छ ।

आत्मविश्वासी र आत्मनिर्भरः

त्यत्रो बर्ष एक्लै बसेर पनि उहाँको आत्मविश्वास, आत्मनिर्भरता गजबको थियो । बसिरहेको मान्छे उठ्दा, भर्‍याङमा उक्लिँदा, ओर्लिँदा वा बाटोमा हिँड्दा कसैले हात समाएर सहारा दिन खोजे उहाँले पर्दैन भन्नुहुन्थ्यो र विना सहारा आफैं हिँड्ने गर्नुहुन्थ्यो ।

‘तिमीहरुले दिनहुँ मलाई यसरी हात समाउन आइराख्ने हो र ? मेरो बानी नबिगार, म आफैं हिँड्न सक्छु’ यस्तै भन्ने गर्नुहुन्थ्यो ।

उहाँलाई हेर्ने कोही नभएर एक्लै बसिरहनु भएको होइन । मैले, मेरो परिवारले गर्न सकिने, हेर्न सकिने गरिरहेकै थियौं । अरुले पनि गरिरहेकै थिए, हेरीरहेकै थिए ।

उहाँकी छोरी, ज्वाईँ आएर धेरै पटक नै सँगै बसौं जाउँ भनी आग्रह गरेका थिए । एक्लै किन बस्नु, हामी हेरिहाल्छौं नि, जाउँ भनेर धेरै पटक छोरी, ज्वाईँ, नातीहरुले भने ।

उहाँले हरेक पटक भन्नुभयो, ‘मलाई मेरो श्रीमानले जुन घरमा भित्र्यायो, म त्यहि घरमै मर्छु । यहाँबाट बाहिर म कतै जान्न ।’

अब विचार गरौं न, १०४ वर्ष पुरा गरिसकेको मान्छेले यति बोल्न सक्नु, गर्न सक्नु भनेको ख्यालठट्टाको कुरा हो र ?

जीवन दर्शन राम्ररी बुझेकी मान्छे थिइन्ः

उहाँ जन्मिने वित्तिकै मरेको भनेर अन्तिम काजक्रिया गर्न लग्न लागिसकेको रहेछ । उहाँलाई कपडामा पोको पारेर राखेको बेलामा अजि (ढाइ आमा) ले देखेछन् र यो त जिउँदै छ भन्दै के के औषधी उपचार गरेछन् र उनी बाँचे ।

यो कुरा सुनाउँदै उहाँले बेलाबखत भन्ने गर्नुहुन्थ्यो, ‘थुलिमछि म्वाये मानिगु खनी, उबले गनी सीले जि –यति धेरै बाँच्ने लेखेको रहेछ, त्यो कहाँ मर्थें र म) ।’

जन्मिनेवित्तिकै यस्तो भोग्नुपरेकोले होकि उहाँले जीवन पछि मृत्युको शास्वत सत्य निकै राम्ररी बुझिसक्नुभएको थियो । जीवन पछिको जीवनलाई उहाँले जिवीत छँदै थाहा पाइसक्नु भएको जस्तो मलाई लाग्छ ।

जीवनको अन्तिम अन्तिम क्षणतिर पुगेर उहाँलाई कसैको मृत्यु सामान्य लाग्न थालिसकेको थियो । फलानो कोही बित्यो भनेर सुनाउँदा उहाँले, ‘ए, हो र ?’ भन्ने सामान्य प्रतिक्रिया मात्र दिने गर्नुहुन्थ्यो ।

कहिलेकाहिँ भने म पनि यत्रो वर्ष भइसकें, मेरो जाने बेला चाहिँ कहिले आउने हो भन्नुहुन्थ्यो । कहिलेकाहिँ मलाई भन्नुहुन्थ्यो, ‘जि गथे सी जुइ हला (म कसरी मर्ने होला हगि) ?’ म भन्ने गर्थे ‘सास ध्याक्क रोकिन्छ, मरिन्छ नि ।’

पौष ९ गतेको दिन साँच्चिकै उहाँको सास ध्याक्क रोकियाे र जानुभयो । उहाँको शरीर त गयो, तर उहाँको माया, उहाँबाट हामीले पाएको प्रेरणा सधैं हामीमै अमर रहनेछ ।

 

नोटः यस लेखमा केही शब्दहरुमा त्रुटी हुन गएको र केही अंश छुट्टिन गएकोमा सच्याइएको छ– सं. ।

Categorized in विचार