arin enterprises

तामाङ समुदायहरु सोनाम ल्होसार मनाईंदै

SamacharDesk | २०७९ माघ ८, आइतबार

आज देशभरका तामाङ समुदायहरुले सोनाम ल्होसार पर्व मनाइरहेको छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाउने गरिन्छ ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५९ औं वर्ष सुरु भएको छ । विशेषगरी तामाङहरुको बसोवास रहेका स्थानमा आज दिन हर्षाेल्लासपूर्वक मनाइरहेको छ ।

आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष सुरु भएको छ । मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् ।

तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।

सरकारले सोनाम ल्होछारको अवसरमा आज सार्वजनिक विदा पनि दिएको छ । यसैगरी चीनमा पनि आजदेखि नयाँ वर्ष सुरु भएको छ । चिनियाँहरुले वसन्त उत्सव भन्ने यो पर्व दुई सातासम्म मनाउने गर्दछन् ।

कोरोनाका कारण पछिल्ला तीन वटा नयाँ मनाउन नपाएका चिनियाँहरुले यसपटक धुमधामसंग खरायो वर्गको नयाँ वर्षलाई स्वागत गरिरहेका छन् । चीनमा नयाँ वर्षको अवसरमा एक साता लामो विदा हुने गर्दछ ।

चीन मात्रै नभई सिंगापुर, मलेसिया, भियतनाम, कम्बोडिया, लाओस, थाइल्याण्ड, मंगोलियासहित दक्षिण पूर्वी एशियाका अधिकांश देशहरुमा यो पर्व मनाउने गरिन्छ ।

विश्वभर डेढ अर्ब बढी मानिसहरुले यो पर्व मनाउने भएकाले विश्वकै ठूलो पर्वको रुपमा पनि लिने गरिन्छ । करीब एक अर्ब चिनियाँहरुले यो पर्वको अवसरमा यात्रा गर्ने अनुमान गरिएको छ ।

चीन सरकारले गत महिना कोभिड नीति खुकुलो बनाएकाले नयाँ वर्षको अवसरमा करोडौं चिनियाँ परिवारबीच पुनर्मिलन हुने भएको छ । नयाँ वर्षको स्वागतका लागि चीनलगायतका देशहरुमा आतिषबाजी र सडक महोत्सवहरु भईरहेका छन् ।

Categorized in राष्ट्रिय