arin enterprises

भ्यागुतोलाई भात खुवाउने अनौठो परम्परा

SamacharDesk – सन्दिप महर्जन | २०७९ श्रावण २६, बिहिबार

 नेवार समाजमा अनौठा र मौलिक परम्पराहरु छन् । नेवारहरु चाडपर्वमा आफुमात्र खाँदैनन्, पशुपंक्षीलाई समेत ख्वाउने गर्छन् । तिहारमा काग र कुकुरलाई पूजा नै गरेर ख्वाउँछन् ।

त्यस्तै गाईलाई पनि आमाको रुपमा लिएर पूजा गरेर ख्वाउँछन् । नागपंचमीमा त नागलाईसमेत खानेकुरा राखिदिने चलन छ । यति मात्र होइन, नागलाई पूजा गर्ने नेवारहरुले नागको शत्रु मानिने भ्यागुतालाई समेत पूजा गरेर भात ख्वाउने गर्छन् ।

नेवारहरु यो परम्परालाई ब्यांजा नकेगु भन्ने गर्छन् । ब्यांजा नकेगु अर्थात भ्यागुतोलाई भात खुवाउने । सुन्दा अचम्म लाग्न सक्ला तर यो सदियौं पुरानो चलन हो । नेपालको चर्चित इतिहासकार गौतम बज्राचार्यका अनुसार कुनै समयमा दक्षिण एसियाभरी मनसुन कल्चरको रुपमा गरिने यो परम्परा अब नेवाः समुदायमा मात्र बाँकी छ ।

हरेक वर्ष क्वाति पुन्हि अर्थात जनै पूर्णिमाको दिनमा खेतमा अन्न बालीको रक्षा गरिदिने रक्षकको रुपमा भ्यागुतोलाई भात ख्वाउने गरिन्छ ।

सो दिनमा बिहान शुद्ध भई नुहाई धुवाई गरेर, घरमा सरसफाइ गरी पूजा इत्यादि सम्पन्न भएपछि केराको पातमा भातको साथै क्वातिसहित घरमा पकाइएको मासु, अन्य तरकारी सबै राखेर चराचुरुङ्गीको लागि भनेर घरको छतमा राखिन्छ ।

त्यस्तै ढोका बाहिर कुमार देवता र अरु जनावरको लागि भनेर राख्ने गरिन्छ । बाँकी भाग खेतमा लगेर आली आलीमा भ्यागुतोको लागि भनेर राख्ने गरिन्छ ।

अन्न बालीको रक्षा गर्ने प्राणी भएकोले भ्यागुतोलाई पूजा गरेर भात राखिदिएको भन्ने कथन समाजमा प्रचलित छ । तर यो परम्परासँगै एउटा किम्वदन्ति पनि जोडिएको छ ।

किम्वदन्ती अनुसार कुनै समय घण्टाकर्ण नामक एक राक्षसले सबैलाई दुःख दिइरहेको थियो । त्यसबेलामा भ्यागुतोको चतुर्‍याइँको  कारण त्यस राक्षसलाई मार्न सफइ भइयो ।

त्यसै खुसियालीमा भ्यागुतोलाई भात खुवाउने गरेको हो भन्ने कथा पनि समाजमा प्रचलित छ । अर्को किंवदन्ती अनुसार बर्खाको समयमा इन्द्र देवले घमण्ड गरि पानी नपारेको र भ्यागुताको बुद्धिले इन्द्र पनि हारेको र वर्षा गराएपछि सधन्यवाद भ्यागुतोलाई भात खुवाउने गरेको मान्यता पनि छ ।

सामान्य रुपमा हेर्ने हो भने पनि भ्यागुताले धानबालीमा नोक्सान पुर्याउने कयौं किरा फटयांग्रोहरु खाइदिन्छ, किसानलाई मद्दत गर्छ । कथावस्तु जे भएपनि प्रकृतिमा रहेका हरेक सानो भन्दा सानो जीव पनि अति महत्त्वपूर्ण छ ।

हरेक जीवनको अस्तित्त्वले पर्यावरणीय चक्रलाई सन्तुलनमा राख्न मद्दत गर्छ र जीवनलाई सम्भव बनाउँछ । भ्यागुतोको पनि आफ्नै महत्त्व छ । माथि उल्लेख गरिए जस्तै भ्यागुतोले अन्न बालीको मात्र रक्षा गर्दैन, वातावरणीय सन्तुलन कायम गरीराख्न पनि सघाउँछ ।

जीवनसँग सम्वन्धि यस्ता हरेक पक्षको दर्शन र महत्त्व हामीले बुझ्नुपर्छ भन्ने भाव ‘ब्यांचित जा नकेगु’ जस्ता परम्पराले दिन्छ ।

Categorized in संस्कृति