रिगलको कैद मिनाहा मुद्दामा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
SamacharDesk | २०८० आश्विन १८, बिहिबार

नेपालगञ्जका चेतना मानन्धरको हत्या गरी जन्मकैद भएका योगराज ढकालको कैद मिनाहा गर्नुको कारण पेश गर्न सर्वाेच्चले सरकारलाई आदेश दिएको छ ।
बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपषिद कार्यालयलगायतका विपक्षीलाई कैद मिनाहा गर्नुको लिखित कारण पेश गर्न आदेश दिएको हो ।
न्यायाधीश शर्माले रिगल ढकालसँग जोडिएका सबै फैसला, निर्णयसहितको सक्कल मिसिलहरुसमेत मगाएको छ । अदालतले सो निवेदनलाई गम्भीर रुपमा लिएर महान्यायाधिवक्ता स्वयंलाई बहसमा उपस्थित हुनसमेत आदेश दिएको छ ।
गुण्डा नाइके रिगलबाट रिट निवेदक भारती तथा उनको परिवारमाथि हुनसक्ने खतरालाई मध्यनजर गर्दै अदालतले सो रिट निवेदनको टुंगो नलागेसम्म निवेदक भारती शेर्पा र उनको परिवारका सदस्यरुलाई सुरक्षा प्रदान गर्नसमेत गृह मन्त्रालयलाई लेखेर पठाउन आदेश दिएको छ ।
त्यस्तै अदालतले रिट निवेदनमा उठाइएका कानूनी जटिलता र महत्वको विचार गर्दै पूर्ण इजलासमा पेश गर्न र यसलाई अग्राधिकार दिएर लिखित जवाफ आएको भोलिपल्ट अर्थात असोज २५ गते सुनुवाइको लागि पेशी चढाउनसमेत शर्तसहित आदेश दिएको छ ।
३ असोजमा संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले योगराज ढकालको कैद मिनाहा गरेका थिए ।
Categorized in राष्ट्रिय