arin enterprises

स्वस्थानी व्रतकथा र हामी

SamacharDesk – सुनिल उलक | २०८१ माघ १७, बिहिबार

मसंग दुइवटा विद्यावारिधी गरेका थेसिसका कपीहरु छन् ।

एउटा लिण्डा लुइस ईलटिसको जसले यूनिभर्सिटी अफ विस्कान्सिन मैडिसिनबाट विद्यावारिधी गरेकी थिइन् । उनको विषय थियो– ‘स्वस्थानी व्रतः नेपालमा नेवाः महिला र संस्कार ।’ उनको विद्यावारिधीको विषयमा स्वस्थानी व्रतलाई नै प्राथमिकता दिइएको थियो ।

उनले सन १९८५ मा विद्यावारिधी गरेको करिव २५ वर्ष पछि जेस्सिका वान्थाइन बर्कन्होल्जले सिकागो यूनिभर्सिटीबाट स्वस्थानी व्रतकथाको विषयमा विद्यावारिधी गरिन् । उनको विषय थियो– ‘स्वस्थानी व्रतकथा परम्पराः नेपालका हिन्दूहरुमा स्वयमको, स्थानको तथा पहिचानको परिवर्तन ।’

यसरी लामो अन्तरालमा दुई अमेरिकी महिलाले स्वस्थानी व्रत र स्वस्थानी व्रतकथामा विद्यावारिधी गरे तापनि कुनै नेपालीले भने यो विषयलाई प्राथमिकता दिएर शोध गर्न चाहेको भेटिँदैन ।

जेस्सिकाले भने पछि पुस्तक पनि छपाए । उनकाे Reciting The Goddess नामक पुस्तक बजारमा आएको पनि छ । मेरो हातमा दुबै थेसिस भएको हुँदा पनि मैले केही गहिराईबाट अध्ययन गर्ने कोशिस गरेको छु ।

‘गोमयजु’ को जीवनका सुखदुःख, आँसुहाँसो तथा सम्पन्नता विपन्नता बिच रुमल्लिएको कथा नै स्वस्थानीको कथा हो

स्वस्थानी शव्दको अर्थ हो– स्व अर्थात आफ्नो तथा स्थान अर्थात ठाँउ हो । तसर्थ स्वस्थानी कथा भनेको आफ्नै ठाउँको वर्णित कथा हो ।

यसमा वर्णित देवी नेवाःहरुले पूज्ने अष्टमात्रिकाको रुप हो भने यसमा वर्णन गरिएको शहर लावण्य देश – साँखु हो ।

साथै यहि साँखुमा बस्ने एक महिला ‘गोमयजु’ को जीवनका सुखदुःख, आँसुहाँसो तथा सम्पन्नता विपन्नता बिच रुमल्लिएको कथा नै स्वस्थानीको कथा हो ।

सबैभन्दा पुरानो स्वस्थानीको कथा भने करिव ४५० वर्ष अगाडि नेपाल सम्वत ६९३ (बि.सं. १६२९) मा हस्तलिखित संस्कृतमा नेपालभाषा मिसाएर लेखिएको राष्ट्रिय अभिलेखालयमा सुरक्षित राखिएको छ ।

साथै सो समय यो व्रत केवल २ दिन १ रात अर्थात केवल दुइ दिनको हुने देखिन्छ ।

तर यसको केवल ३० वर्ष पछि लेखिएको स्वस्थानी व्रतकथामा भने ३० दिनको हुने वर्णन गरिएको छ । बि.सं. १६५९ देखि मात्र स्वस्थानी व्रत ३० दिनको हुन थालेको भन्ने बुझ्न सकिन्छ । साथै यो नेपालभाषामा मात्र लेखिएको थियो ।

यसरी नेवाःहरु बिच स्वस्थानी व्रतकथा ब्यापक हुन थालेपछि बि.सं. १७३० माघ शुक्ल पञ्चमीका दिन कान्तिपुरका राजा प्रताप मल्लले मखन तानाबहाःमा पहिलो पटक स्वस्थानीको मुर्ति स्थापना गराएका थिए ।

उपत्यकामा गोरखाली राजा पृथ्वीनारायण शाहले आक्रमण गरी गोरखा राज्यमा समाहित भएपछि मात्र स्वस्थानीको व्रत तथा वाचन अन्य खस तथा ब्राम्हणहरुले पनि अंगिकार गरेका हुन् ।

स्वस्थानीको नेपाली भाषानुवाद राजा गिर्वाण वीर बिक्रमको पालामा बि.सं. १८६६ मा मात्र भएको थियो ।

पुराणका कथामा प्रमुख पात्र भने स्थानिय बिभिन्न नाममा राखिएको छ । यसैले स्वस्थानीको कथा हाम्रा आख्यानका कथालाई आफ्नो ठाउँको कथा बनाइएको कथा हुँदा यसको नाम नै स्वस्थानी रहेको हो 

यसरी हेर्दा मल्लकालमा शुरू भएको स्वस्थानीको व्रत कथा गोर्खालीले काठमाडौं उपत्यका विजय गरेको ४० वर्ष पछि मात्र अन्यले पनि यसलाइ अंगिकार गरेको मान्न सकिन्छ ।

शुरुका स्वस्थानी आठ पन्नाको ताडको पातमा लेखिएको थियो भनेपछि यो बिस्तृत भएर करिव ४०० पन्नाको मोटो किताब बनेको थियो । शुरुका करिव दुई सय वर्षसम्म केवल नेपालभाषा मात्र प्रयोग भएको भेटिएको छ ।

साथै यसको कथामा पनि समय समयमा फेरबदल भइरहेको पनि पाइन्छ । स्वस्थानीको मूलकथा स्कन्दपुराणमा रूमल्लिएको छ । यहि स्कन्द पुराणमा रहेको केदार खण्डलाई नै केन्दबिन्दु बनाएर यो कथा लेखिएको छ ।

पुराणका कथामा प्रमुख पात्र भने स्थानिय बिभिन्न नाममा राखिएको छ । यसैले स्वस्थानीको कथा हाम्रा आख्यानका कथालाई आफ्नो ठाउँको कथा बनाइएको कथा हुँदा यसको नाम नै स्वस्थानी रहेको हो ।

यस कथा भित्र मुख्य पात्र गोमयजु नै हुन् । नेपाली अनुवाद गरिँदा गोमा ब्राम्हणीको रुपमा लेखिएको छ । दोश्रो गोमयजुको छोरा नवराज र तेश्रो नवराजकी श्रीमती चन्द्रावती ।

तीन पात्र संगै तीन चरित्र रहेको छ ।

गोमयजु शान्त, जस्तै दुखमा पनि नआत्तिने, नवराज आमाको आज्ञाकारी सुपुत्र जसको असल चरित्रले गर्दा पछि राजा बन्छन् । तेश्रो चन्द्रावती स्वार्थी स्वभावको । केवल सुखभोग गर्न चाहने । लोभ, लालच र घमण्डले गर्दा निकै दुख पाए ।

यस कथाको मुख्य विषयवस्तु नै महिला केन्द्रित रहेको छ । यसमा पनि मुख्य विवाह पछि पतिको घरलाई स्वीकार्नुपर्ने तथा नयाँ घरमा जस्तै विषम परिस्थिती रहे तापनि खुशीसंग रहनु पर्छ भन्ने देखाइएको छ ।

गोमयजुले विवाह पछि पुगेको पति शिवदत्तको घरको दयनीय अवस्था र चन्द्रावतीले विवाह पछि पुगेको पति नवराजको घरमा खासै धेरै फरक देखिँदैन । दुबै गरीब थिए । साथै धनी घर र सुखसयलमा हुर्किएका गोमा र चन्द्रावती थिए ।

सबैभन्दा महत्वपूर्ण यो केवल नेपालमा मात्र पढिन्छ । यसमा लेखिएका पीठहरू पौराणिक कथाहरूसंग मिल्दैन 

आखिर को हुन् त गोमयजु वा को हुन त नवराज भन्ने प्रश्न हामी स्वस्थानी पढ्ने हरेकमा खुलदुली हुने गर्दछ ।

के यी पात्र केवल काल्पनिक हुन वा कुनै राजनैतिक चरित्रलाई लिएर लेखिएका हुन् । स्वस्थानी व्रत कथा के साँच्चै पौराणिक कथा हो त ? के यसको सम्बन्ध महाभारतसंग छ ? के यसमा हरेक अध्यायमा भनिए जस्तो कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि अर्थात कुमारले भन्ने र अगस्त्य मुनिले लेखेकै हो त ? यी सबै अनुत्तरित प्रश्नहरू छन् ।

सबैभन्दा महत्वपूर्ण यो केवल नेपालमा मात्र पढिन्छ । यसमा लेखिएका पीठहरू पौराणिक कथाहरूसंग मिल्दैन । यो कथामा महिलामाथि अन्याय भएको बढी देखिन्छ । तर महिलाको सहनशिलता र उसको धैर्यले गर्दा जीवनमा सुखसुविधा सबै प्राप्त हुन्छ ।

यस कथामा दैवी शक्तीको कथावस्तु देखाएर महिलालाई धैर्य गरेमा अवश्य फल प्राप्त हुने देखाइएको छ । यसको कथावस्तुले भगवानको छलकपटहरू देखाएको छ । भगवान माथि प्रश्नचिन्ह लगाईएको छ । भगवान सम्पूर्ण रूपले पूर्ण होइन हामी मनुष्य झैं स्वार्थी पनि हुने गर्छ भन्ने देखाइएको छ ।

यसको व्रत बस्दा सोचेको पूरा हुन्छ भनिन्छ । तर यसको दैवी शक्तिले होइन यसका कथावस्तुले महिलामा आत्मविश्वास बृद्धि गर्छ, कार्यमा लगनशिलता बढाउँछ । जसले गर्दा आफ्नो लक्ष्य प्राप्ती गर्दछ ।

यस स्वस्थानी व्रतकथामा शालीनदीको वर्णन रहेको हुँदा शालीनदीमा व्रत बस्ने तथा नुहाउनेहरुको भिड लाग्ने गर्दछ ।

तर पुराना स्वस्थानी कथामा भने कुनै पनि नदीको नाम उल्लेख गरिएको थिएन । करिव दुई सय वर्ष अगाडिबाट मात्र शालीनदीको उल्लेख गरिएको भेटिएको छ ।

तसर्थ शालीनदीमा व्रत बस्ने चलन पनि बढीमा दुई सय वर्ष मात्र भएको अनुमान गरिएको छ ।

साथै यहि स्वस्थानी व्रत आरम्भ हुने समय पौष शुक्ल पूर्णिमाको दिनबाट दुई जात्रा दुई ठाउँमा लाग्ने गर्दछ । चाँगुनारायणमा चाँगुनारायण जात्रा तथा साँखुमा माधवनारायण जात्रा । यो दुबै जात्रालाई धेरै पुरानो जात्रा मानिँदैन ।

माधवनारायणको कठिन एक महिना लामो व्रत बस्ने गरिन्छ ।

 

Categorized in विचार