पाटनको तलेजु भवानी ४०३ वर्ष लागिन्
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ २६, बिहिबार

ललितपुरको तुलजा अर्थात तलेजु भवानी ४०२ वर्ष पूरा भएर ४०३ बर्षमा टेकेकी छन् । हो, आज तुलजा भवानीको जन्मोत्सव । तलेजु भवानीको जन्मोत्सव, विशेष त हुने भइहाल्यो ।
आज तलेजुको जन्मोत्सव ललितपुर दरवार क्षेत्रमा धुमधामका साथ मनाइएको छ । देवी देवता अथवा मन्दिरको जन्मोत्सव अथवा स्थापना भएको दिनमा गरिने यस किसिमको पूजालाई स्थानीय भाषामा बुसादँ भन्ने गरिन्छ ।
तलेजु भवानीको बुसादँको अवसरमा आज ललितपुर दरवारमा कुशकण्डीका यज्ञ र देश बलि पूजा गरिएको थियो ।
यस क्रममा तलेजुका पुजारी रक्षण राजोपाध्यायले कुशकण्डीका यज्ञ गरेका थिए भने देशबलि पूजा हंसराज कर्माचार्यले गरे ।
यस्तै तलेजु भवानीको भने पूजा निरण ज्वालानन्द राजोपाध्याय, बिष्णुचन्दन राजोपाध्याय, बिनोद ज्वालानन्द राजोपाध्याय र ओमकर ज्वालानन्द राजोपाध्यायले गरेका थिए।
आजको बुसादँ पूजामा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, उपप्रमुख मन्जिला बज्राचार्य, १६ वडाका अध्यक्ष निर्मल रत्न शाक्य र पाटन संग्रहालय अधिकृत सुरेश लाखेको पनि सहभागीता रहेको थियो ।
पूजा पछि महानगर प्रमुख महर्जन, उपप्रमुख बज्राचार्य, वडाध्यक्ष शाक्य र अधिकृत लाखेलाई फुलमाला लगाइदिनुका साथै स्थानीय परम्परा अनुसार अन्डा सगुन दिइएको थियो ।
ललितपुरमा तलेजु भवानीको स्थापना तत्कालीन समयमा काठमाडौका राजा शिवसिंह मल्लले सिद्धिनरसिंह मल्ल र उनकी आमा लालमतिलाई पाटनमा महा सामन्त बनाएर राज्य गर्न पठाएका थिए ।
यसै सिलसिलामा लालमति तुलजा भवनीको यन्त्र आफ्नो साथमा लिइ छोरा सिद्धिनरसिंह मल्लसँग पाटन बस्न आएकी थिइन् ।
राजा बन्नका लागि दिक्षित हुनुपर्ने भएको हुँदा वकनिम्हका विश्वनाथ उपाध्यायलाई गरु स्थापना गरी सिद्धिनर सिंह मल्लले दिक्षा पनि लिए ।
दिक्षा लिइसकेपछि नेपाल सम्वत ७४० जेष्ठ शुक्ल दशमी बुधबारका दिन सिद्धिनरसिंह मल्लको राज्याभिषेक गरिएको थियो ।
त्यससँगै सोही दिन अर्थात् जेष्ठ शुक्ल दशमीकै दिन ललितपुर दरवार भित्र हालको मूलचोकमा कोट्याहुती यज्ञ गरेर तलेजु भवानीको पनि स्थापना गरिएको थियो ।
सो दिनबाट विश्वनाथ उपाध्याय र उनकै सन्ततीहरुले तलेजु भवानीको नित्य पूजालाई निरन्तरता दिँदै आएको छ, जुन आजको दिनसम्म पनि निरन्तर छ ।
साथमा हरेक वर्षको जेष्ठ शुक्ल दशमीको दिन तलेजु भवानीको बुसादँ पनि गरिँदै आएको छ ।
Categorized in संस्कृति