arin enterprises

तलेजु मन्दिर आज सर्वसाधारणका लागि खुला

SamacharDesk – बिराज | २०७८ आश्विन २८, बिहिबार

आज तलेजु मन्दिर सर्वसाधारणको लागि खुला काठमाडौंको हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा दर्शन र पूजा गर्नेको ठुलै घुइँचो लागेको छ ।

वर्षको एक पटक मात्र खुल्ने मन्दिरमा दर्शन र पूजाको लागि आज विहानैदेखि हजाराैंकाे संख्यामा दर्शनार्थीको भीडै लागेकाे थियाे ।

वर्षभरि दर्शन र पूजाको लागि बन्द रहने यो मन्दिर बडादशैंको महानवमीकै दिनमा मात्र खुला हुने गर्दछ ।

दर्शन र पूजाको लागि आज विहान अँध्यारैमा लामै लाइन लागिसकेको थियो । विहानको करीब ४ बजेतिरबाट मन्दिरको ढोका खोलिएको भएपनि त्यसभन्दा अघि नै लामै लाइन लागिसकेको थियो ।

वसन्तपुर र मखन दुईतिरबाट दुईवटा लाइनबाट दर्शनको व्यवस्था मिलाइएको छ ।

मखनतिरको ढोकाबाट मन्दिर परिसर प्रवेश गरी त्रिशुल चोकबाट खुड्किलो चढेर माथि तलेजु मन्दिरमा पूजा गरेर पछाडीतिरको खुड्किलोबाट झर्दै मूलचोकमा दर्शन गरी हनुमान ढोकाबाट बाहिरीने व्यवस्था गरिएको छ ।

हाल तलेजु भवानीको मूर्तिलाई मूलचोकको आगम कोठामा राखिएको छ । सप्तमीको दिनमा माथिको मन्दिरबाट विधिपूर्वक शुभ साइतमा तलेजु भवानीलाई मूलचोकको आगम कोठामा ल्याएर राखिन्छ भने दशमीको दिनमा पुनः मन्दिरमै राख्न लगिन्छ ।

कोरोना महामारीका कारण गत वर्ष भने मन्दिर खुला गरिएको थिएन ।

तलेजु भवानीलाई मल्ल राजाहरुको इष्ट देवीको रुपमा लिइन्छ । सुलतान समसुद्दीनको आक्रमणपछि सिम्रौनगढबाट भक्तपुर आएका राजा नान्यदेवले आफुसँगै तलेजु भवानी पनि यता काठमाडौंमा लिएर आएको ईतिहासविद्हरुले बताएका छन् । 

Categorized in संस्कृति