टिसिरिजको सहकार्यमा नेपालमा ‘ट्यालेन्ट हन्ट’ प्रशारण हुने
SamacharDesk – बिजयरत्न | २०७८ भाद्र ९, बुधबार

एउटै मञ्चबाट गायन, नृत्य र अभिनय प्रतिभा देखाउन पाइने रियालिटि शो ‘ट्यालेन्ट हन्ट’ प्रसारण हुने भएको छ ।
यही भदौ ११ गते शुक्रबारबाट नेपालमै पहिलोपटक एउटै मञ्चबाट गायन, नृत्य र अभिनय प्रतिभा छान्ने अनलाइन रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ नाइस टेलिभिजनबाट प्रसारण हुन लागेको हो ।
बलिउडमा स्थापित म्यूजिक कम्पनी टि–सिरिज स्टेज वर्क गुहावटी र टि–सिरिजको शैक्षिक पहलसँगको सहकार्यमा उक्त शो हुन लागेको नाइस टिभि सुत्रले जनाएको छ ।
भदौ ११ गतेदेखि प्रत्येक शुक्रबार र शनिबार राति ८ः४५ बजे नेपालका लागि अधिकारिक प्रतिनिधि काइजेन इन्क प्रालिको आयोजनामा नाइस टेलिभिजन एचडीमार्फत उक्त कार्यक्रम प्रशारण हुने बताइएको छ ।
प्रतियोगितामा तीनवटै विधाका विजेतालाई भारतस्थित टि–सिरिज स्टेज वर्क गुहावटीमा काइजेन इन्ककातर्फबाट दस लाख रुपैयाँ बराबरको छात्रवृृत्ति प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपाली र भारतीय चलचित्र तथा संगीत उद्योगका हस्तीलाई निर्णायक राखिएका छन् भने प्रत्येक शृंखलामा तीनवटै विधाका दुई–दुई अलग निर्णायक रहने भएका छन् ।
यस रियालिटी शोको नारा ‘टिकेट टु बलिउड’ रहेको र विजेताहरूले भारतीय चलचित्र उद्योग बलिउडमा समेत प्रवेश पाउने सम्भावना उच्च रहेको आयोजकको दावी छ ।
अनलाइन अडिसनबाट छनोट भएका १२० प्रतीस्पर्धीबीच तीन चरणबाट खारिएका प्रतिभाले अन्तिम प्रतिस्पर्धामा आफ्नो प्रस्तुति राख्ने बताइएको छ ।
Categorized in पेजथ्री