ठेचो नवदुर्गा १२ बर्ष जात्रा सुरु
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ श्रावण १०, मंगलबार

आज नेवार समुदाय गथांमुगः चः¥हे पर्व मनाउँदैछन् । ललितपुर जिल्लाको गोदावरी नगरपालिकाको ठेचोका बासीन्दाको लागि भने आजको दिनको अर्को एउटा पनि विशेषता र महत्व रहेको छ ।
आजबाट ठेचोमा नवदुर्गा भवानीको १२ वर्षे जात्रा सुरु भएको छ । हरेक १२ बर्षको एकपटक गथांमुगः चः¥हे (घण्टाकर्ण चतुदर्शी) को दिनबाट ठेचो नवदुर्गाको १२ बर्षे जात्रा सुरु हुने गर्दछ । आजको दिन ठेचोस्थित नवदुर्गा मन्दिरको मूल ढोकामा तान्त्रिक विधिबाट पूजा गरी ताल्चा लगाएपछि जात्रा सुरु हुने गर्दछ ।
वर्षको ३६५ दिनै खुल्ला रहने यस मन्दिरमा १२ वर्षे जात्राको क्रममा एक पटक मात्रै ताल्चा लगाइन्छ । यो जात्रा सुरु भएसँगै ठेचोबासीलाई विभिन्न बन्देज लाग्ने गर्दछ । जात्रा अवधिभर नवदुर्गा गुठीको बाहेक बस्तीमा अन्य बाजाको साथै घण्ट, सिठ्ठी, ताली बजाउन नहुने, बिहे, व्रतबन्ध र भोजभतेर गर्न नहुने नियम रहेको छ ।
साथै ठेचोमा खुट्टा झुन्ड्याएर बस्न, राति ९ देखि बिहान ४ बजेसम्म हिँडडुल गर्न र रात बस्ने गरी घरमा पाहुना बोलाउन पाइनेछैन । यो बन्देजबारे बस्तीमा ‘नायःखिं’ बाजा बजाई मान्छेहरूलाई सूचित गराइन्छ ।
‘देवताहरु गुप्तबासमा दुःखमा बस्ने भएकाले देश (ठेचो) मा खुसियाली मनाउन नहुने मान्यता छ । त्यस्तै विभिन्न शक्तिपीठबाट तन्त्र साधनामार्फत गोप्य पूजा गरी देवता र जल मन्दिरमा ल्याइन्छ, त्यसैले राति हिँडडुल गर्न निषेध गरिएको हो’ गुठीका संयोजक प्रशान्त मालीले समाचारडेस्कलाई बताए ।
यी बन्देजहरु नवदुर्गाको धुखः नाचपछि फुकुवा हुन्छ । धुखः नाच फागुन÷चैततिर नाचिन्छ । जात्रा अवधिका पर्वपूजाहरु १२ वर्षे जात्रा अवधिमा २८ वटा पर्वपूजा गरिन्छ । यसमा ६० वटा पशु बलि आवश्यक पर्छ ।
जात्राभरि आगंसिँ अर्थात् स्वँसिँ (चाँपको काठ) ल्याउने, नवदुर्गाको मूल डबलीमा छाप्रो बनाई देवता प्रतिस्थापन गर्ने, देय् भ्वय् (देश भोज) भनी ठेचो र सुनाकोठीवासीलाई भोज खुवाउने चलन छ ।
जात्राको मुख्य आर्कषण सुनाकोठीको कुल्पी यज्ञ पनि हो । रातभरि नै यज्ञ गरी नयाँ मुकुट, पोसाक, खड्गमा तन्त्र साधना गरी देव प्रतिष्ठा गरिन्छ । नवदुर्गा देवगणका गणेशले तन्त्रसाधना गरिएको तिलक लगाइदिएपछि सबै देवगणमा देवता चढ्ने विश्वास छ ।
ठेचोको नवदुर्गा देवगणमा भैरव, काली, बाराही, कुमारी, गणेश, ब्रह्मायणी, महादेव, महालक्ष्मी, विष्णुदेवी, सिंहिनी, बाघिनी, इन्द्रायणी र श्वेत भैरव १३ जना छन् । हरेक देवगणको तान्त्रिक तवरबाट छुट्टाछुट्टै नृत्य हुन्छ । श्वेतभैरवको नृत्य १२ वर्षमा एक पटक मात्रै गराइन्छ ।
यस्तै इन्द्रायणी देवीको भने नृत्य गराइँदैन । किम्वदन्ती अनुसार इन्द्रायणी देवी बनेर नृत्य गर्ने हरेक गुठियारको मृत्यु हुन थाल्यो । कालान्तरमा इन्द्रायणी देवीको भेषमा नृत्य गर्न सबै डराए । अहिलेसम्म त्यो नृत्य गर्ने आँट कसैले गरेको छैन । पाटन दरबार क्षेत्र, सुनाकोठी, ठेचो, चापागाउँ, बुङ्गमतीमा ठेचो नवदुर्गाको नृत्य प्रस्तुत गरिन्छ ।
विभिन्न स्थानमा हुने नाचमध्ये पाटन दरबारको नाचको विशेष आकर्षण छ । ठेचोमा नवदुर्गा देवीलाई ‘शिवद्यःचाः’ वा ‘शिभिल द्यःचाः’ नामले सम्बोधन गरिन्छ । शिवद्यःचाः र पाटन दरबारको लिच्छवि राजा मानदेवका इष्टदेवी मनमानेश्वरीबीच मीत साइनो रहेको मानिन्छ ।
मनमानेश्वरी देवीलाई भगवतीका रूपमा पुजिन्छ । सत्ययुगमा भगवतीले शिवद्यःचालाई साथ लिई असत्यमाथि विजय प्राप्त गरेको विश्वास छ । यही कारणले दरवारमा विजयादशमीको राती नवदुर्गा गणको शिवद्यःचाः (मूल देवता) र मनमानेश्वरी देवीलाई भेट गराउने चलन छ ।
त्यसपछि नवदुर्गा गणकोतर्फबाट भैरव, काली र बाराहीले मनमानेश्वरी देवीलाई नृत्यसहित फूलमाला चढाइन्छ । मनमानेश्वरी देवी विजय भएको उपलक्ष्यमा फूलमाला चढाएर बधाई दिएको गुठीयारहरुको बुझाइ छ । जसलाई नेपाल भाषामा पायाः भनिन्छ । पायाःलाई जात्राको मुख्य आर्कषणको रुपमा लिइन्छ ।
यो जात्रा लिच्छविहरूले पाटनमा किरात वंशलाई पराजित गरेको इतिहाससँग पनि जोडिन्छ ।
नरबलि किम्बदन्ती
उपत्यकाका अधिकांश देवी नाच मालीहरूले नै सञ्चालन गर्ने गरेको पाइन्छ । यस्तै ठेचो नवदुर्गा नाचमा पनि माली जातीबाहेक नेवार भित्रकै अन्य जातिलाई प्रवेश निषेध छ ।
तर, कुल्पी यज्ञ सम्पन्न भइसकेपछि मन्दिरसम्म ल्याउँदा सिंहिनी देवगणलाई ठेचोको न्हुछें गुठीका महर्जन समुदायका थकालीले बाटो देखाउँदै ल्याइन्छ । त्यस दिन न्हूछेँ गुठीका थकालीले पनि नवदुर्गा नाचमा सहभागी हुन अनुमति पाउने कुरामा विशेष कथा छ ।
पहिले पहिले नवदुर्गा नाच न्हूछेँ गुठीका महर्जन समुदायका गुठीयारले सञ्चालन गर्थे । प्रत्येक १२ वर्षे जात्रामा नरबलि दिने चलन थियो । न्हूछेँ गुठीयारले जात्रा अवलोकनमा आएका खोकनाका एक जना पुरुषको बलि चढाए । बलि चढाइ सकेपछि बलि दिइएको व्यक्ति आफ्नै ज्वाइँ भएको गुठियारले थाहा पाए ।
यसकारण गुठियारकी छोरीले दिएको श्रापपछि नाचबाट न्हँछेँहरू पछि हटे । त्यसपछि तन्त्रविद्यामा निपुण माली समुदायलाई यो नाच हस्तान्तरण गरियो ।
त्यसपछि १२ वर्षे जात्रामा सिंहिनी देवगणलाई न्हूछेँ गुठीका थकालीले बाटो देखाउने चलन चल्यो । बाटो देखाउँदा सिंहिनीलाई आफ्नो गुठीमा प्रवेश गराउन सके नवदुर्गा नाच न्हूछेँ गुठियारले नै सञ्चालन गर्न पाउने किम्वदन्ती छ ।
त्यो बलिको कथाले अझै मान्छेहरू १२ वर्षे जात्रामा ठेचो आउन डराउने गर्छ । अभिलेखहरूमा भेटिन्छ, अंशुवर्मा (सातौं शताब्दी) भन्दा पहिलाका राजा शिवदेवले चैतको कुनै दिन वत्सला देवीलाई प्रत्येक वर्ष नरबलि दिने चलन चलाएका थिए ।
सूर्यवंशी राजा शिवदेवका पालामा सर्वप्रथम नवदुर्गा पूजामा नरबलिको चलन चल्यो ।
उपत्यकामा भद्रकाली खड्गसिद्धि नाच, पचली भैरव, नरदेवी, दी प्याँख (देवी नाच), कीर्तिपुरको बाघ भैरव, भक्तपुरको नवदुर्गा, बोडेको नीलबाराही, ललितपुरको हरिसिद्धि भवानी देवी, खोकनाको रुद्रायणीमा नाचको १२ वर्षे जात्रा मनाइन्छ ।
Categorized in संस्कृति