आज सेतो मच्छिन्द्रनाथको रथ हनुमानढोका लगिने
SamacharDesk – बिराज | २०८१ बैशाख ५, बुधबार

काठमाडौं सेतो मच्छिन्द्रनाथको रथयात्राको क्रममा आज रथलाई हनुमान ढोका बाहिर रहेको कालभैरव अगाडी पु¥याईँदैछ । असनमा रहेको रथलाई आज साँझमा असनबाट तानेर लगी हनुमानढोका कालभैरव अगाडी लगिनेछ ।
वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ जात्राको दोश्रो दिन रथलाई तानेर हनुमानढोका पुर्याइन्छ । आज रथ हनुमानढोका पुगेपछि आजको रथयात्रा सम्पन्न हुन्छ ।
आजको जात्रालाई लायकू याः भन्ने गरिन्छ । जसको शाब्दिक अर्थ दरवारको यात्रा हो । यस अर्थमा आजको रथयात्रा मल्लकालीन समयमा राजाको दर्शनको लागि देवतालाई दरवार पुर्याइएको भनेर सहजै बुझ्न सकिन्छ ।
आज रथलाई हनुमानढोकामै राखी भोलि भने लगनमा लगिनेछ । लगनमा सेतो मच्छिन्द्रनाथको आमा भनिएको रुखलाई तीन पल्ट परिक्रमा गराइएपछि लगंयाः अर्थात लगनको जात्रासँगै यस वर्षको सेतो मच्छिन्द्रनाथको रथयात्रा पनि सम्पन्न हुनेछ ।
यस अघि हिजो रथजात्राको पहिलो दिन रथलाई जमल तीनधारा पाठशालाबाट तानेर असन पुर्याइएको थियो ।
जनबहालबाट बाजागाजा र सांस्कृतिक झाँकीसहित खटमा बोकेर जमल पुर्याइएका सेतो मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइएपछि रथयात्रा सुरु भएको थियो । सेतो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा बोकी जनबहालबाट इन्द्रचोक, भेडासिंह, बाङ्गेमुढा, असन हुँदै जमल पुर्याइएको थियो ।
रथ असन पुगेपछि हिजै राष्ट्रप्रमुखका हैसियतले राष्ट्रपति रामचन्द्र पौडेल असन पुगी सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरेका थिए । जात्राको पहिलो दिन असंयाः सम्पन्न भएपछि अर्थात रथ असन पुगेपछि राष्ट्रप्रमुखले देवताको दर्शन र प्रसाद ग्रहण गर्ने परम्परा रहि आएको छ ।
