arin enterprises

आज साउन १५, सबै नेपालीहरु खीर खाँदै

SamacharDesk – बिकाश | २०७७ श्रावण १५, बिहिबार

आज साउन १५, नेपालीहरु आज यो दिन खीर खाने दिनको रुपमा मनाइरहेका छन् ।

बहुलजाती भएको नेपालमा पर्व विशेषको साथमा विभिन्न पूजापाठ, भोजतेरमा समेत विशेष परिकारका रूपमा खाइने खीरको साउन १५ गतेका दिन विशेष महत्व रहन्छ । यो दिन प्राय सबै नेपालीले घर घरमा खीर पकाएर खाने गर्दछन् ।

कुनै धर्म विशेषसँग नजोडिएको र स्वादिष्ट परिकार समेत भएको कारणले आजको दिन हरेक धर्मावलम्बिका नेपालीहरुले खीर खाने गरेको पाइन्छ । 

खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिइन्छ । चामलसँग दूध, नरिवल, छोकडाको साथमा काजु, बदाम र चिनी हालेर खीर बनाउने गरिन्छ । 

प्रोटिन, फ्याट, कार्बाेहाइड्रेट लगायतका भिटामिन र मिनरल्स आपूर्ति गर्ने खीर बालबालिकादेखि वृद्धवृद्धासम्मलाई मनपर्ने परिकारको रुपमा पनि लिन सकिन्छ । 

व्रत बसेका बेला पनि खीर खाएरै व्रत तोड्ने गरिन्छ ।

नेपालमा वर्षभरि विभिन्न दिनमा विभिन्न परिकार पकाएर खाने प्रचलन छ । असार १५ मा दहि चिउरा खाने गरिन्छ भने एक महिना पछि साउन १५ मा खीर खाइन्छ । माघको १५ गते मालपुवा खाने गरिन्छ । 

त्यसैगरी अक्षय तृतीयाका दिन जौको सातु र सख्खरको सर्वत, कात्तिक महिनामा हरिबोधनी एकादशीका दिन पिँडालु र सखरखण्ड, हरितालिका तीजको पञ्चमीमा कर्कलोको गाभा खाने चलन छ ।

नेवारमा समाजमा त यस्ता परिकारको चलन अझ बढि छ । 

सिथिनखःमा मासको वः, हरिशयनी एकादशीमा ग्वार्चा, गुंपुन्हिको दिन क्वाति, मंसिर पुर्णिमामा यःमरि आदि खाने चलन नेवार समुदायमा छ ।

विभिन्न खाद्य पदार्थ वा परिकारहरुसँग जोडिएका यी चलनहरु हेर्दा नेपालीहरु समय अनुसार शरीरलाई आवश्यक खाद्य पदार्थ खान जानेको देखिन्छ ।

Categorized in समाज