भोटोजात्राको अवसरमा भोलि उपत्यकामा सार्वजनिक बिदा
SamacharDesk – समाचारडेस्क | २०८० जेठ १०, बुधबार

भोलि बिहिबार भोटोजात्राको अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिइने भएको छ ।
आज गृह मन्त्रालयले एक सूचना जारी गर्दै भोलि उपत्यकामा सार्वजनिक बिदा हुने जानकारी दिएको हो ।
रातो मच्छिन्द्रनाथ र मीननाथको रथलाई जाउलाखेल पुर्याइएको चौथो दिनमा भोटो जात्रा गर्ने परम्परा रहेको छ ।
सोही अनुसार रथ जाउलाखेलको पुगेको चौथो दिन भोलि बिहिबार भोटो जात्रा गर्न लागिएको हो । दुवै रथलार्य गत सोमबार थतिटोलबाट तानेर जाउलाखेलमा पुर्याइएको थियो ।
भोलिको भोटो जात्रा राष्ट्राध्यक्षको हैसियतले राष्ट्रपति रामचन्द्र पौडेलबाट अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
भोटोजात्रापछि मच्छिन्द्रनाथको मुर्तिलाई खटमा राखि बुंगमति लगिन्छ भने मीननाथको रथलाई जाउलाखेलबाट तानेर मानभवन, कुमारीपाटी, थतिटोल हुँदै टंगल पुर्याइन्छ ।
यसको साथमा यस वर्षमा रातो मच्छिन्द्रनाथको रथ जात्रा विधिवत् रुपमा सम्पन्न हुनेछ ।
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ जात्रा विना कुनै विघ्नवाधा, सफलतापूर्वक सम्पन्न भएमा समयमा वर्षा भई खेतमा बालीनाली राम्रो हुने जनविश्वास रही आएको छ ।
रातो मच्छिन्द्रनाथलाई शैवहरु महादेवको रुपमा पुज्दछन् भने वैष्णवले विरिंचि नारायण, सुर्यका उपासकले सूर्य र शाक्त धर्माबलम्बीले शक्तिको रुपमा मान्दै आएका छन् ।
त्यस्तै बौद्धहरुले पद्मपाणी लोकेश्वरको रुपमा लिन्छन् । स्थानीय वासिन्दाले भने करुणामय, बुंगद्यःको नामले पुकार्दै आएका छन् ।
