इजरायली आक्रमणमा हमासका दुई पोलिटब्युरो सदस्यको मृत्यु
SamacharDesk | २०८० आश्विन २४, बुधबार

इजरायली हवाई आक्रमणमा परी प्यालेस्टाइनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) का दुई जना पोलिटब्युरो सदस्यको मृत्यु भएको छ ।
जकारिया अबु मुअम्मर र जवाद अबु शमाला प्यालेस्टाइनको दक्षिणी गाजा पट्टीमा आक्रमणमा युनिसमा गरिएको हवाई आक्रमणमा परि मृत्यु भएको हमासको एक आधिकारिक स्रोतले जानकारी दिएको हो ।
इजरायली सेनाका प्रवक्ता अविचय अद्राईले एक प्रेस विज्ञप्ति जारी गर्दै इजरायली विमानले हमासका अर्थमन्त्री अबु शामालाको सोमबार राति आक्रमणबाट मृत्यु भएको बताएका छन् ।
शमालाले हमासको वित्तीय मामिला हेर्दै आएका थिएभने गाजाभित्र र बाहिर वित्त तथा प्रत्यक्ष कार्यक्रम सञ्चालनका लागि रकम विनियोजन गर्थे ।
इजरायली सेनाले अबु मुअम्मरलाई आन्तरिक सम्बन्धको कार्यालयको प्रमुख र ‘हमासको वरिष्ठ योजनाकार’ र गाजामा सशस्त्र समूहहरूको बीचमा समन्वयकको भूमिका खेल्ने हमासको उच्च अधिकारीका रूपमा उल्लेख गरेको छ ।
हमासले गरेको आत्मघाती आक्रमणमा परी शनिबारसम्म कम्तीमा एक हजार आठ जनाको मृत्यु भएको इजरायली संचार माध्यमले जनाएको छ ।
यसैबीच मंगलबार प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा गाजा पट्टीमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या ७ सय ८८ पुगेको छ भने घाइते हुनेको संख्या ४ हजार १ सय पुगेको उल्लेख गरेको छ ।
Categorized in अन्तर्राष्ट्रिय