arin enterprises

एक नर्सको कोरोना संक्रमण अवधिको डायरी

SamacharDesk – रबिता श्रेष्ठ | २०७७ मङ्सिर १३, शनिबार

२०७७–०७–०३

सोचे जस्तो हुन्न जीवन, साँच्चिकै हुन्न रहेछ । त्यो कालो दिन, जुन दिन मेरो जीवनमा आउला भनेर मैले कहिले कल्पनासम्म गरेकी थिइन । सुरक्षाका त्यत्रो उपाय अपनाउँदा पनि मलाई कसरी कसरी कोरोना भाईरसले आक्रमण गर्यो, मलाई थाहै भएन ।

अकल्पनीय क्षण मेरो अगाडी थियो, तर आफुले आफैलाई सम्हाल्नुपर्छ जस्तो लाग्यो । म आफैं कमजोर भएँ भने मेरो परिवार, मेरी छोरीहरु, मलाई माया गर्ने आफन्त, साथीभाईहरुलाई कस्तो होला भनेर म आफैं बलियो हुनुपर्छ, मैले यो रोगलाई परास्त गर्नुपर्छ भनेर दृढ विश्वास लिई अगाडी बढें ।

यो कुरा सबैभन्दा पहिले मेरो जीवनसाथीलाई भन्नुपर्छ जस्तो लाग्यो, फोन डायल गरें । फोनको घन्टि बज्दै गर्दासम्म मनमा अनेकौं कुराहरु खेलिरहेका थिए ।

फोन उठ्यो अनि मैले भनें, ‘मेरो कुरा ध्यान दिएर सुन्नुस्, कत्ति पनि मन आत्तिने होइन । मलाई हिजो राती ज्वरो आएको थियो ।’

नाइट ड्युटि आउँदा हाँसीखुसी आएकि म ड्युटीमै ज्वरो आएको कुरा सुन्दा उहाँ एकछिन झस्किनुभयो । ‘साधारण रुघाखोकी होला नि’ उहाँले भन्नुभयो ।

उता छोरीहरुलाई पनि नेपालमा लकडाउन शुरु हुँदाको समयदेखि नै सम्झाएर तयारी गरेको थिएँ । त्यसैले उनीहरुलाई नि सम्झाउन त्यत्ति गार्हो परेन

झन मन भक्कानियो, मैले त एन्टिजेन टेस्ट गराइसकेको थिएँ । स्ट्रङ पोजेटिभ पनि आइसकेको थियो । तैपनि आफ्नो मन बलियो बनाएर भन्ने हिम्मत जुटाएर भनें, ‘मलाई त कोरोनाको आशंका गरेको छ, पिसिआर टेस्ट गराउनुपर्छ । आज म घर आउँदिन, मलाई लिन नआउनुस् ।’

पेशाले नर्स भएकोले मलाई थाहा थियो, मेरो पिसिआर टेस्ट पनि पोजेटिभ नै आउँछ भनेर । तैपनि मेरो श्रीमानलाई परिस्थिती आफैंले बुझ्नका लागि समय दिएँ । रिपोर्ट आएपछि मात्र आफु घर आउने कुराको जानकारी गराएँ ।

उता छोरीहरुलाई पनि नेपालमा लकडाउन शुरु हुँदाको समयदेखि नै सम्झाएर तयारी गरेको थिएँ । त्यसैले उनीहरुलाई नि सम्झाउन त्यत्ति गार्हो परेन ।

‘मामु कोरोनाको विरामीसँग सम्पर्कमा आएको कारण क्वारेन्टाइनमा बस्नुपर्ने भयो । त्यसैले मामु केही दिन अस्पतालमै बस्नुपर्छ ल’ छोरीहरुलाई पनि सम्झाएँ । मेरो १६ वर्षकी छोरी र ११ वर्षकी छोरीहरुले राम्रोसँग बुझे ।

‘मामु नहुँदा बाबाको राम्रो ख्याल गरेस् है भनेर सम्झाएँ । छोरीहरुले पनि हस् भनेर सहमति जनाए ।

मेरी छोरीलाई पहिलेदेखि नै फाइटर बन्नुपर्छ नकि लुजर भनेर सिकाएको कुराहरुलाई उनीहरुले वास्तवमै मनन गरेर देखाए । १६ वर्षकी मेरी छोरी अलिकति पनि विचलित भइनन् ।

अनलाईन क्लास लिँदै खाना बनाएर आफ्नो बाबा अनि बहिनीलाई ख्वाउने गर्थिन् । परिपक्व व्यवहार देखाउँदै आफ्नी बहिनी र बाबालाई सम्हालिन् ।

त्यसैगरी मेरो श्रीमानले पनि मलाई त्यत्तिकै हौसला प्रदान गर्दै हरेक पल खाजा, खाना खाने बेलामा भिडियो कल गर्नुहुन्थ्यो अनि आफु नाच्न नजाने पनि छोरीहरुसँग नाचेर मलाई प्रोत्साहन दिनमा केही कमी गर्नुभएन । ईश्वरसँग यहि प्रार्थना गर्न चाहन्छु कि हरेक जुनीमा तपाईँकै संगिनी भएर जन्मिन पाउँ ।

२०७७–०७–०४

हुन त कोरोना रोग लागेपछि समाज, इष्टमित्रबाट अपहेलित हुनुपर्छ भनेर विभिन्न सामाजिक संजालमा सुनेकी अनि देखेकी पनि थिएँ । तर म आफैं संक्रमित हुँदा मलाई माया गर्ने अनि साथ दिने मेरा प्यारा आफन्त साथीभाई, सँगै काम गर्ने सहकर्मीहरुप्रति धेरै आधार प्रकट गर्न चाहन्छु ।

उहाँहरु सबैको माया अनि सद्भावले गर्दा नै मलाई रोगसँग लड्न आत्मबल बढायो, सकारात्मक सोचको विकास गरायो ।

उहाँहरु मलाई भेट्न सुरक्षित तरीकाले आउनुहुन्थ्यो । तर म आफैंलाई डर लाग्थ्यो कि कतै मैले त उहाँलाई रोग सार्दिन कि भनेर ?

१२ दिन अस्पतालको आइसोलेसनमा बस्दा कति अन्तरद्वन्द पनि भए, लाग्थ्यो अब मलाई केही भइहाल्यो भने मलाई पनि प्लास्टिकको कात्रो ओढाएर मेरो आफन्तजन विना नै मेरो पनि अन्तिम संस्कार गरिन्छ होला भनेर ।

फेरी अर्को मनले मलाई आफैंलाई सम्झाउँथ्यो, ‘कहाँ त्यस्तो नचाहिने कुरा सोचेर आफ्नो मनोबल गिराएर रोगसँग लड्ने क्षमता घटाउनतिर लागेको ! हुन्न, यसरी नकारात्मक सोचले त अझ मलाई झन कमजोर बनाउँछ ।’

यस्तै यस्तै सोच्दै आफैमा रमाउने प्रयास गरें । त्यो बेला मेरो मन बहलाउने साथी बन्यो टिकटक । दिनदिनै नयाँ नयाँ भिडियोहरु बनाएर पोस्ट गर्न थालें ।

@rabita_shrestha

तिमी र म हामी मिलेर यो संसार जित्नुपर्छ। @hikmatshrestha3 #isolationtime #day7 #foryoupage #bestronger #staypositive

♬ original sound - Upshana sing Thakuri - Saugat

 

कतिजनालाई त म विरामी भनेर पनि थाहा थिएन । शुरुमा त मैले, म आफु पोजेटिभ भएको पनि भनेकी थिइन । मात्र म विरामीसँगको सम्पर्कले गर्दा क्वारेन्टीनमा बसेको भनेकी थिएँ ।

साथीहरुको राम्रो कमेन्टले गर्दा ममा थप सकारात्मक सोचहरुको विकास हुनथाल्यो र मलाई अझ सशक्त बनायो ।

सात दिनसम्ममा मेरो लक्षणहरु पनि विस्तारै कम हुन थाल्यो । आफुले आफुलाई अलि फुर्तिलो महसूस गरेपछि मात्र टिकटकमा आइसोलेसन डे सेभेन भनेर पोस्ट गरें ।

त्यसपछि त झन आफन्तहरुबाट मायाको ओइरो नै लाग्यो । विरामी हुँदा पनि कस्तो एक्टिभ है भन्ने कुराले ममा उर्जा थप बढायो । त्यसपछि दिनदिनै आइसोलेसन डे ८, ९, १०, ११, १२ गर्दै भिडियोहरु पोस्ट गरें ।

हुँदा हुँदा साथीहरुको आफन्तजनलाई कोरोना लाग्दा पनि मेरै भिडियो देखाएर हौसला दिन थालिएको रहेछ । ‘हेर्नुस्, कोरोना लागेको दिदीले यसरी नडराइकन कोरोनासँग लडिराख्नुभएको छ’ भन्दै मेरो भिडियो देखाइने रहेछ ।

यो कुरा थाहा पाउँदा म अझै हर्षले गदगद भएकि थिएँ । जिन्दगीमा अरु ठुला ठुला काम गर्न नसकेपनि कोरोनाको विरामीहरुका लागि रोल मोडल भएर देखाउन सकुं भन्ने सोच जाग्यो ।

अस्पतालमै बसेर पनि कतिलाई नडराउन हौसला दिन थालें । रोग लाग्नै नदिने हो, यदि लागिहाले पनि नआत्तिन रोगलाई हराउने हो भनेर सुझावहरु दिन थालें ।

२०७७–०७–०५

म आइसोलेसनमा बसेको १२औं दिन, पिसिआर परिक्षण गराएर घर आएँ ।

एउटा अनौठो अनुभुति गरें । आफ्नै घर आउनलाई पनि कता कता डर लागेको जस्तो, बाटोमा आउँदा पनि कसैलाई मैले यो रोग सार्दै पो छु कि भन्ने विचारहरु मनमा आइरहेका थिए ।

ट्याक्सीमा आउँदा पनि ड्राइभर दाईलाई अनिवार्य रुपमा मास्क लगाउन भनें । अनि पैसा छुने वित्तिकै हात स्यानिटाइज गर्न भनि सल्लाह दिएँ ।

उहाँले पनि आफुले बोकेको स्यानिटाइजरको बोेतल देखाउनुभयो ।

यस कुराले मलाई केही हदसम्म ढुक्क बनायो । जनमानसलाई पनि कोरोनाको बारे, सुरक्षाका उपायबारे ज्ञान रहेछ भनी खुसी महसूस गरें ।

मलाई लिन श्रीमान आउनुभएको थियो । मेरो हातमा सामानहरु देखेर उहाँले आफ्नो सहयोगी हातहरु बढाउनु भयो । जुन कुरा मैले त्यो क्षणमा स्वीकार गर्न उपयुक्त ठानिन ।

पिसिआर टेस्ट अझै नेगेटिभ आएको थिएन । सिटि भ्याल्यु मात्र १६ बाट बढेर ३१ पुगेको थियो । यो भनेको मतलब मैले अरुलाई रोग सार्न सक्ने सम्भावना एकदम न्यून थियो अथवा भनौं छँदैछैन । तैपनि आफ्नो घर आउँदा पनि कता कता डर लागेको जस्तो आफुले आफुलाई सम्झाउन नसकेको अवस्था थियो ।

सीधै घरको छतमा गएर अस्पतालबाट ल्याएका सबै सामानहरु घाममा सुकाएँ । नुहाई धुवाई गरेर मात्र घरमै पनि आफ्नो छुट्टै आइसोलेसनमै बसें । तलको फ्ल्याटमा श्रीमान अनि छोरीहरु, म माथिल्लो तलामा बसें ।

निको भएर घर आउँदा पनि छोरीहरुसँग अङ्गालो हाल्न नपाउने, आफ्नो श्रीमानलाई पनि पराईसँग जस्तो व्यवहार गर्नुपर्ने । उफ यो क्षण ..... । जुन कुरालाई मैले शब्दमा उतार्नै सक्दिन ।

तैपनि साना नानीहरुका अगाडी अनुहारमा प्रशन्नताको प्रदर्शन गरें । ‘अब मात्र केही दिन है, रिपोर्ट नआएसम्म’ छोरीहरुलाई मुस्कानसहित नै भनें ।

‘आजदेखि मामु माथि अनि तिमीहरु तल, कस्तो रमाईलो है’ मनको पीडामाथि खुसिको नकाब ओढाउँदै हावामा अङ्गालोको अनुभुति गराउँदै म आफ्नो कोठामा प्रवेश गरें ।

मलाई खाना पुयाउन आउँदा पनि नानीहरु अनुहारमा फेस शिल्ड अनि मास्क लगाएर आउँथे । अनि म पनि हतार हतार मास्क खोज्थें ।

एउटा छुट्टै परिस्थिती श्रृजना गरेको अवस्था कोरोनाले ल्याएको सकारात्मक परिवर्तन ।

२०७७–०७–०६

हामी चारैजना परिवारका सदस्य भेटघाट त गथ्र्यौं तर सामाजिक दुरीका साथ खुल्ला आकाशको मुनि ।

माथि छतमा मेरी ११ वर्षकी छोरी, घडी घडी मसँग टाँस्सिन आउन खोन्थिन् । तर मेरो जेठी छोरीले उसलाई त्यसो नगर्नका लागि सम्झाउँथिन् ।

मेरो पनि मन र मुटुले त कहाँ मानेको थियो र ? तैपनि उनीहरुको अगाडी केही नभएको झैं मुसुक्क हाँसेर भन्थें, ‘अब मात्र केही दिन है’ ।

यसरी नै घर आएको सात दिन बित्यो ।

फेरी पिसिआर गराउने सम्झिएर म रातभरी सुत्नै सकिन । कहिले दायाँ त कहिले बायाँ, कोल्टे फेरीरहें ।

मनमा अनेकन कुराहरु खेलिरहे । एक त पिसिआर गर्नुको पीडा, त्यसमाथि परिणाम के आउला भन्ने कौतुहलताले गर्दा रात कसरी काटें मैले, यहाँ कागजमा उतार्नै सक्दिन ।

२०७७–०७–११ 

पिसिआर गरेर आएपछि पनि मनमा अनेकौं कुराहरु खेलि नै रहे । नेगेटिभ आए छ ठिकै छ, परिवारसँग दशैं मनाउन सकिन्छ । तर फेरी पोजेटिभ नै आयो भने के गर्ने ?

त्यो रात कसरी बिताएँ, त्यो मलाई मात्र थाहा छ । यहाँ लेखेर त्यो क्षणको अनुभव साट्नै सकिन्न ।

रिपोर्टको कुराले छटपटाइरहेको मन त्यति बेला शान्त भयो जति बेला डाक्टरको फोन आयो, ‘बधाई छ, तपाईँको रिपोर्ट नेगेटिभ आयो’ ।

एकछिन त सपना हो कि विपना जस्तो भयो । ‘साँच्चिकै हो र, रिपोर्ट खइ त ?’ मैले प्रश्न गरें ।

उहाँले तुरन्त रिपोर्ट पठाउनुभयो र बल्ल ढुक्क भएँ । मेरो खुसीको त सिमाना नै रहेन ।

छिटो छिटो आफ्नो बुढालाई फोन गरेर भनिहालें । छोरीहरुलाई अङ्गालोमा बेर्न हतार भएको थियो । तैपनि मनमा अझ डर भने थियो नै । आफु बसेको कोठाको सरसामानहरु घाममा लगेर सुकाएँ । आफु पनि नुहाई धुवाई गरेर बल्ल १८ दिनपछि आफ्नो कोठामा आएँ ।

आफ्नै कोठामा आउँदा पनि नौलो महसूस गरेकी थिएँ । मलाई आत्मीय बनाउनका लागि श्रीमान अनि छोरीहरुले भरपुर सक्दो कोसिस गर्नुभएकोमा उहाँहरुलाई मुरी मुरी धन्यवाद ।

२०७७–०७–१२ 

कोभिड १९ ले गर्दा सकारात्मक तथा नकारात्मक दुईटै कुराको अनुभुति गरायो । जुनसुकै कुराको पनि दुईटा पक्ष हुन्छ भनेर सुन्न त धेरै सुनेको थिएँ । तर यो कुरालाई आज आफैंले अनुभव गर्ने अवसर दिलायो ।

हुन त कोरोनाको बेला मलाई, हतोत्साहि गर्ने, मेरो आत्मबलमा ठेस पुर्याउने मान्छेहरुको पनि कमी भने थिएन । तैपनि आफु कमजोर नबनीकन त्यस्ता कुरालाई वास्ता नगरी म अगाडी बढें र १८औं दिनमा कोरोना टेस्ट नेगेटिभ आउनमा आफ्नो दृढ विश्वासलाई अटल बनाएँ ।

मलाई यो अवधिमा साथ दिने मेरा आफन्त, परिवारहरु, मेरा शुभचिन्तक साथीभाईहरुलाई धन्यवाद नदिइकन म बस्नै सक्दिन । सम्पूर्णमा हार्दिक साधुवाद अनि सबैजना सुरक्षित रहनका लागि पनि अनुरोध गर्न चाहन्छु ।

Categorized in विचार