केन्द्रले वडालाई अलग बनाइदिएको वडाध्यक्षको भनाई
SamacharDesk – बिराज | २०८० माघ २६, शुक्रबार

काठमाडौं महानगरपालिका २२ वडाका वडाध्यक्ष चिनीकाजी महर्जनले हालको अवस्थामा मेयर बालेन साहले आफ्नो वडालाई केन्द्रबाट छुट्याइ दिएको अनुभुति भएको बताएका छन् ।
वडा कार्यालय संकटामा पत्रकारहरुसँग कुरा गर्दै वडाध्यक्ष महर्जनले कामपा २२ वडाको न्यूरोड क्षेत्रमा पार्किङ पूर्ण रुपमा निषेध गरेको सम्वन्धमा कुनै सरसल्लाह नगरी निर्णय लाद्न खोज्दा आफुहरुलाई अलग बनाइदिएको महसूस भएको भने ।
‘निर्णयको जानकारी दिनुलाई सल्लाह गरेको भनिन्न । मेयर बालेन साहले मलाई वा सरोकारवाला कसैसँग केही सरसल्लाह नगरी आफु मनपरी गर्न खोजे, यो हामी वडाबासी कसैलाई पनि मान्य छैन’ वडाध्यक्ष महर्जनले भने ।
मेयरले निर्णय सुनाउने र अरुले त्यसमा हुन्छ मात्र भन्ने भए वडाध्यक्ष वा वडा सदस्यको निर्वाचन नै किन गर्नुपर्यो भन्ने प्रश्न महर्जनले राखे ।
सबै काम मेयर एक्लैले गर्न र हेर्न नसक्ने भएकोले नै वडाध्यक्ष, वडा सदस्यहरु चाहिएको भन्दै महर्जनले वडासँग समन्वय, सहकार्य गरेर अघि बढ्न मेयर बालेनलाई सुझाव दिए ।
बजारमा हल्ला भए जस्तो आफुहरु कहिल्यै सशुल्क पार्किङको पक्षमा नभएको तर, न्यूरोड क्षेत्रमा निःशुल्क व्यवस्थित पार्किङको भने व्यवस्था हुनुपर्ने वडाध्यक्ष महर्जनको भनाई हो ।
काठमाडौंकै सबैभन्दा व्यस्त व्यापार क्षेत्र न्यूरोडमा पार्किङको सुविधा नभए स्थानीय व्यापारीहरु विस्थापित हुनुपर्ने अवस्था आउने महर्जनको दावी हो ।
‘न्यूरोड जस्तो व्यापारिक क्षेत्रको माग भनेको निःशुल्क व्यवस्थित पार्किङ हो । अहिले गणतन्त्रमा जनताको माग र आवश्यकता अनुसार नेतृत्वले काम गर्ने हो, नेतृत्वले निर्णय लाद्ने होइन’ वडाध्यक्ष महर्जनको भनाई हो ।
विगतमा तत्कालीन मेयर विद्यासुन्दर शाक्यले स्मार्ट पार्किङको ठेक्का लगाउँदा पनि आफुले विरोध गरेको स्मरण गर्दै नेतृत्व कहिल्यै स्थानीय वासिन्दाको माग अनुसार नचलेको गुनासो महर्जनले गरे ।
केशव स्थापितको कार्यकाल देखि न्यूरोडका स्थानीय व्यापारीहरुले सीमित र उपयुक्त ठाउँमा निःशुल्क व्यवस्थित पार्किङको माग गर्दै आएकोमा त्याे मागको सुनुवाई गर्नेतर्फ आजसम्म कुनै पनि नेतृत्वले वास्ता नगरेको महर्जनले बताए ।
न्यूरोडका स्थानीय व्यापारी साथै खिचापोखरी न्यूरोड व्यापार संघका अध्यक्ष सागर शाक्यले ७२ सालको भुइँचालो र कोभिड महामारीले थला परेको व्यापार क्षेत्मा बल्ल केही सुधार देखिन थालेकोमा न्यूरोडमा पार्किङ पूर्ण रुपमा निषेध गरेपछि आफुहरु विस्थापित हुनुपर्ने अवस्था आएको बताए ।
भुकम्प वा कोभिड महामारीको अवस्थामा कर छुटसम्म नदिने राज्यले अहिले झन न्यूरोडको व्यापार पुरै सुकाउनै खोजेको हो कि जस्तो देखिएको शाक्यको भनाई हो ।
‘घरजग्गा बैंकमा धितो राखेर लिएको ऋणबाट व्यापार गर्न बसेकोमा व्यापार छौं । राज्यबाट कुनै सुविधा त छैन छैन, झन उल्टो ग्राहकको पार्किङको सुविधासम्म पनि खोसेर हामीलाई उठिवास नै लगाउन खोजेको देखियो’ शाक्यको भनाई हो ।
विना पार्किङको सुविधा, व्यापारको कल्पना पनि गर्न नसकिने शाक्यले भने ।
स्थानीय वासिन्दा साथै साधारण क्लब गणबहालका अध्यक्ष राधाकृष्ण महर्जनले मेयरको राम्रो कामको समर्थन पनि गर्दै आएको तर, नराम्रो कामको विरोधमा सडकमा उत्रिनुपरे पछि नहट्ने बताए ।
‘काठमाडौं मलको अनाधिकृत संरचना हटाउँदा समर्थनमा उत्रेका पनि हामी नै हो । अहिले स्थानीय वासिन्दा, संघसंस्था, व्यापारी र वडालाई समेत समन्वय नगरी गरिएको यो अव्यवहारिक निर्णयको विरोधमा हामी सडकमा उत्रिनुपरे पनि पछि हट्ने छैनौं’ महर्जनको भनाई थियो ।
पत्रकार सम्मेलनमा उपस्थित व्यापारी, स्थानीय संघसंस्थाको साथै दलीय प्रतिनिधि, पेशाकर्मीहरुले मेयर बालेनको अव्यवहारिक निर्णय विरुद्ध एकजुट भई विरोधमा उत्रिने बताएका थिए ।
Categorized in स्थानीय