arin enterprises

को हुन् नृसिंह भगवान ?

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ १, आइतबार

भोलि बैसाख पुर्णिमा अर्थात बुद्ध जयन्ती । बुद्ध जयन्तीको ठिक दुई दिन अघि बैसाख शुक्ल त्रयोदशीको दिनमा पनि एक भगवानको जयन्ती मनाइन्छ तर, यसको खासै चर्चा हुने गरेको छैन ।

नकि यस जयन्तीमा कुनै ठुलो पूजा वा महायज्ञ हवन इत्यादि नै गर्ने गरिएको छ । वैसाख शुक्ल त्रयोदशीको दिनमा भगवान विष्णुको चौथो अवतारको रुपमा विश्वास गरिने नृसिंह भगवानको जयन्ती हो ।

हुन त, नृसिंह जयन्ती हिजै सम्पन्न भइसकेको छ । तर आज यसको चर्चा किन गरिँदैछ भन्ने कौतुहलता पनि हुन सक्ला । स्वाभाविक पनि हो । यसको चर्चा त हिजै हुनुपर्ने हो ।

विभिन्न भगवानको जयन्ती मनाइन्छ, विभिन्न व्यक्ति, व्यक्तित्वको जन्मजयन्तीलाई उत्सवकै रुप दिइन्छ । तर नृसिंह जयन्तीको केही चहलपहल, चर्चा परिचर्चा नदेखिनुको कारण खोज्दै जागेको कौतुहलता नै यो लेख बन्न पुगेको छ ।

नर अर्थात मानव र सिंह अर्थात शेर । शेर एक जनावर मात्र नभई, जनावरहरुका पनि राजा । विष्णुपुराण लगायत विभिन्न धार्मिक ग्रन्थहरुले नृसिंहलाई आधा सिंह र आधा मानवको रुपमा बयान गरेको पाइन्छ ।

विष्णुले दैत्य राजा हिरण्यकश्यपुको वध गरी आफ्ना भक्त प्रहलादको साथमा संसारको उद्धार गर्न नृसिंहको अवतार लिएका थिए । विष्णुको उग्र अवतारको रुपमा लिइने नृसिंहलाई नरसिंह, नरहरि, नरकेशरी, उग्रवीर, र महाविष्णु पनि भन्ने गरेको पाइन्छ ।

को हुन् त नृसिंह, एकपटक अहिलेसम्म पढेका, सुनेका व्याख्या विश्लेषणतर्फ ध्यान दिउँ ।

प्रचलित पुराण अनुसार

श्रीमद् भागवत पुराणका अनुसार विष्णुको तेस्रो अवतार बराहले हिरण्याक्षको बध गरे । त्यस्को बदला लिन हिरण्याक्षका भाई दैत्यराज हिरण्यकश्यपुले कठोर तपस्या गर्दै ब्रह्मासँग अमरत्व वरदान मागे ।

ब्रह्माले अमरत्वको वरदान दिन नसकिने बताएपछि आफुलाई म मान्छेले, न भगवानले, न पशुले, न भित्र, न बाहिर, न भूमीमा, न आकाशमा, न अस्त्रले, न शस्त्रले, न दिनमा, न रातमा मार्न सकुन् भनेर वरदान मागे ।

हिरण्यकश्यपुको कठोर तपस्याले प्रशन्न भएका ब्रह्माले पनि तथास्तुः भनिदिए । यो वरदान पाएर आफूलाई भगवान ठानेका हिरण्यकश्यपुको प्रजामाथि अन्याय अत्याचार बढ्न थाल्यो । बिष्णुलाई शत्रु ठान्ने दैत्य राजले विष्णुको पूजामा बन्देज लगाए । विष्णुको पूजा गर्ने जो कोहीलाई दण्डित गर्थे ।

तर उनैका छोरा प्रहलाद भगवान बिष्णुका ठुलो भक्त भएर जन्मिए । छोरालाई अनेक तरहले विष्णुको पूजा नगर्न सम्झाए । सम्झाएर नमानेपछि यातना दिए, छोराकै हत्या समेतको अनेक प्रयास पनि गरे । तर हरेक पटक असफल नै भए ।

एकदिन हिरण्यकश्यपुले आफ्नो दरवारमा सबैको अगाडी छोरा प्रहलादलाई बाँधे र तेरो भगवान कहाँ छ भनेर सोधे । प्रहलादले मुसुमुसु हाँस्दै यत्रतत्र जहाँ पनि छन् भने ।

यो खम्बामा पनि छ भन्दै खम्बामा आफ्नो गडाले प्रहार गरे । गडाले हाकनेपछि खम्बा फुट्यो र खम्बा भित्रबाट ठूलो गर्जनकासाथ शरीर मानवको तर टाउको सिंहको भएका भगवान नृसिंह प्रकट भए ।

त्यस्पछि नृसिंहले हिरण्यकश्यपुलाई बोकेर आफनो काखमा राखी साँझको समयमा ढोकामा राखेर आफ्ना तिखा तिखा नङ्ग्राले पेट चिरी बध गरे ।

मल्लकालमा नेपाली समाजमा नृसिंहको स्थान

नृसिंहको पूजा र आराधनाले यश, सुख, समृद्धि, पराक्रम,सफलता र निर्बाध उन्नति दिने विश्वास गरिन्छ । नरसिंह मन्त्रले भूत पिशाच भय, अकाल मृत्यु र असाध्य रोगबाट छुटकाराका साथै जीवनमा शान्ति मिल्ने विश्वास गरिन्छ ।

वर्तमान समयमा नृसिंह भगवानलाई नेपाली समाजमा त्यत्ति मानेको देखिँदैन । यसको प्रमाण नृसिंह जयन्ती नै मान्न सकिन्छ । तर नेवार समाजमा भने नृसिंह भगवानलाई विशेष स्थान दिइएको पाइन्छ ।

मल्लकालमा नृसिंहले समाजमा ठुलो महत्व बनाएको देख्न सकिन्छ । उदाहरणको रुपमा काठमाडौं उपत्यकाको तीनै शहरको मल्ल दरवारमा नृसिंहको मूर्ति स्थापना हुनुलाई लिन सकिन्छ ।

त्यसैगरी काठमाडौंको विभिन्न स्थानमा नृसिंहको मन्दिर हुनुले पनि नेपाली समाजमा नृसिंहको स्थान उच्च थियो वा छ भनेर बुझ्न सकिन्छ । काठमाडौं नरदेवीस्थित नृसिंह मन्दिर नृसिंह जयन्तीको दिनमा खोल्ने गरिन्छ ।

यस नृसिंहलाई हनुमानढोका दरवारमा अवस्थित नृसिंहको प्राणको रुपमा लिइन्छ । नेपाली समाजमा नृसिंहलाई विभिन्न रुपमा पुज्ने गरिन्छ । क्षेत्रपालको रूपमा काठमाडौं उपत्यकाको तीनवटै शहरको मल्ल दरवारमा नृसिंहलाई विराजमान गराइएको पाइन्छ ।

पाटनको दरवार क्षेत्रको प्रवेशद्वारमा, काठमाडौको हनुमानढोका भित्र नासः चोकमा र भक्तपुरमा हाल संग्रहालयको प्रवेश द्वारको वाँयापट्टि नृसिंहलाई विराजमान गराइएको छ ।

हिरण्यकश्यपुको पेट चिरि रहेका उग्र नृसिंहलाई यसरी आफ्ना द्वारमा वा प्रांगणमा राख्नुको उद्देश्य भूत, पिशाच भय, रोगव्याधी आदिबाट मुक्ति र जीवनमा शान्तिको कामना हो ।

त्यसैगरी काठमाडौंको असन र बाङ्गेमुढाको ठिक बीचमा रहेको प्यंगःथां टोलमा पनि क्षेत्रपालको रुपमा नृसिंह भगवान स्थापना गरिएका छ । यहाँ भने नृसिंहको टाउको मात्र रहेको छ ।

उग्रनृसिंह

नृसिंहको विशेष गरी दुई रुपको पूजा गर्ने प्रचलन रहेको पाइन्छ । रिसाएका अथवा भनौं उग्ररुपका नृसिंह र रिस शान्त भइसकेका शान्त नृसिंह ।

हरेक वर्ष कार्तिक शुक्ल त्रयोदशीका दिन पाटन दरबार क्षेत्रमा नृसिंह अवतार प्रदर्शन गर्ने गरिन्छ । कार्तिक नाच अन्तरगत देखाइने उक्त नृसिंह उग्ररूपका हुन् ।

 वि.स १७२८ मा राजा सिद्धिनरसिंह मल्लले सुरु गरेको यस कार्तिक नाचमा नृसिंहले हिरण्यकश्यपुको बध गरेको दृश्य सबैमाझ देखाइन्छ ।

 

शान्त नृसिंह

हिरण्यकश्यपुको वध गरिसकेपछि पनि नृसिंह भगवानको क्रोध शान्त भएन । देवगण आई उनलाई फकाए, उनी मानेनन् । अन्तमा कसैको केही नलागेपछि विष्णु भक्त प्रहलादलाई नै देवगणले नृसिंह सामु पठाए ।

भक्त प्रहलादको अनुहार देखेपछि नृसिंहको रिस शान्त भयो । नृसिंहको यो शान्त रुप हो । नृसिंहका उग्र र शान्त दुवै रुप देख्न पाइने ललितपुरमा मात्रै होला । हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन ललितपुरमा शान्त रुपका नृसिंहको जात्रा निकालिन्छ ।

ललितपुरका राजोपाध्याय देव ब्राम्हणहरुको उपाकर्म गुठिले विश्व शान्तिको कामनासहित बाजागाजा र विभिन्न झाँकीसहित शान्त नृसिंहको शोभा यात्रा गर्ने गर्दछ ।

६ जोडी अप्सराहरु अगाडी हुन्छन् भने दायाँवाँया लक्ष्मीसरस्वती र अगाडि भक्त प्रहलादसँग शान्त नृसिंहको शोभा यात्रा गर्ने गरिन्छ ।

नृसिंहले पछाडि दुईवटा पुतली बाँधिएको हुन्छ । यी दुइ पुतलीलाई कसैले हिरण्याक्ष र हिरण्यकश्यपु भन्ने गरेका छन् भने कसैले शुम्भ र निशुम्भ पनि भन्ने गरेका छन । विज्ञहरुले यी दुई पुतलीलाई मधुकैटभ भनेका छन् ।

रोगव्याधी फैलिने समयमा हुने जात्रामा यी दुई पुतलीलाई रोग र व्याधिको रुपमा पनि लिइन्छ । शान्त नृसिंहको पूजा गर्नाले अकाल मृत्यु र असाध्य रोगबाट रक्षा हुने जनविश्वास छ ।

लक्ष्मीनृसिंह

नृसिंह भन्नै वितिकै हिरण्यकश्यपुलाई काखमा लिएर पेट चिरिरहेको रूप सबैको मानसपटलमा आइसक्छ । तर नृसिंहको लक्ष्मीसँगै बसिरहेको मुर्ति पनि रहेको छ ।

लक्ष्मीसहितको नृसिंह पूजा गर्नाले यश, सुख, समृद्धि,सफलता प्राप्त हुने विश्वास छ ।

गिरिजा नृसिंह

श्रीमद्भागवत पुराण र अन्य पुराणहरुमा नृसिंह खम्बाबाट प्रकट भएको भनिएतापनि मत्स्य, कूर्म, हरिवंशजस्ता पुराणहरुमा भने नृसिंह पहाड, जङ्गलबाट प्रकट भएको प्रमाणहरु पाइन्छ । त्यही पहाड, जंगलबाट प्रकट भएको नृसिंहलाई गिरिजा नृसिंह भनिन्छ ।

फर्पिङको शेषनारायण नजिक एक शिला छ, जुन शिलालाई नरसिंहनारायण भन्ने गरिन्छ । पहाडको मुनि रहेको त्यस शिलाबाट श्रीनृसिंह प्रकट भएको किम्बदन्ति छ ।

गिरिजा नृसिंह श्वेत (सेतो) वर्णका हुन्छन् । गिरिजा नृसिंहसँगै दुई जना शक्ति (श्रीमती) श्रीदेवी (लक्ष्मी) र भूदेवी (पृथिवी) हुन्छिन्  ।

नृसिंहभैरव

नृसिंह भनेको दुइ प्रकारको हुन्छ बलि दिने र बलि नदिइने । नृसिंह भैरवबाहेक अरु नृसिंहलाई भने बलि चढाइन्न । बलि चढाइने नृसिंह काठमाडौंको प्यंगःथां र पशुपति बत्सलेश्वरीमा रहको छ ।

बलि चढाइने नृसिंहलाई नृसिंहभैरवको साथमा सिंहमुखिभैरव पनि भन्ने गरिन्छ ।

हनुनृसिंह

धेरै पुराणहरुमा नृसिंहको मुख सिंहको भनिएको छ । तर कुनै कुनै पुराणमा भने मर्कच्छविम् अर्थात मुखमा बाँदरको छवि भएको पनि भनिएको छ ।

मानव विकासक्रमको प्रकृया हो दशअवतार

भगवान विष्णु परमेश्वर हुन् । यसै भनिएको छ विष्णुपुराण लगायत वैष्णव मतमा आधारित पुराण वा धार्मिक ग्रन्थहरुमा ।

संसारको कल्याण गर्न भगवान विष्णुले विभिन्न समयमा, विभिन्न यूगमा विभिन्न दशवटा अवतार लिए । तीनै दश अवतारमध्ये सत्य यूगमा चौथो अवतारको नृसिंहको अवतार लिए ।

धार्मिक मतलाई एकातिर राखेर विश्लेषण गरी हेर्ने हो भने विष्णुको दश अवतारलाई मानव विकाशक्रमको रूपमा पनि लिन सकिन्छ । चार्ल्स डार्विनका  क्रमिक विकास सिद्धान्त अनुसार जीवन पानीबाट सुरु भएको हो ।

दश अवतारमा पहिलो अवतार मत्स्य अवतार हुन्, जो पानीमा मात्र बस्न सक्छन् । पानी बिना जमीनमा माछा बाँच्नै सक्दैन ।

दोस्रो कुर्म अवतार पानीमा बस्छ तर जमीनमा पनि उसको जीवन सम्भव छ । बराह पुरै वँदेल हुन् । नृसिंह अवतारमा पुग्दा आधा मानव बनेको छ । पशुबाट विकसित भएको त छ तर, पुर्ण मानव रूपमा आउन सकेका छ्रैनन् ।

वामन अवतारमा पुग्दा पुरै मानव बने र शिक्षादिक्षा पनि लिइसके । तर पुर्ण रुपमा शारिरीक विकास हुन बाँकि छ । परशुराममा पुग्दा हातहतियार बनाउन जाने र शिकार गरी जीवन निर्वाह गर्न सिके ।

रामसम्म पुग्दा मानव मर्यादा पुरुषोत्तम नै बनिसके । शिक्षादिक्षाको साथमा टाढाबाटा प्रहार गर्न सकिने धनुषवाण लगायतका हतियारहरु बनाउन र चलाउन जाने । साथमा राज्य चलाउन पनि निपुण बने ।

कृष्णको समयमा त धनुषबाणभन्दा पनि टाढाबाट प्रहार गर्न सकिने ब्रह्मास्त्र, पाशुपतास्त्र जस्ता परमाणु हतियारहरु चलाउन जानिसके । फुटाउ र राज गर जस्ता राजनीति गर्न जानिसके र महाभारत युद्धसमेत गराए । यति मात्र होइन, समुद्र मुनि शहर बनाउने अवधारणासमेत विकास भइसक्यो ।

युद्धपछि संसारलाई शान्तिको आवश्यकता भयो र बौध अवतार आए शान्तीको प्रतिको रुपमा । कलकी अवतार विज्ञान र प्रविधिको यूग हो ।

कलकिको अर्थ कल अर्थात मेसीन पनि हो । कलियूगमा कलकि अवतारमा सृष्टिको संचालन नै मेसीनबाट हुन थाल्यो । यहाँसम्म कि मानवसम्म पनि मेसीन मावन अर्थात रोबोटको विकास भयो ।

साथमा कम्प्युटरमा सिस्टम अपग्रेड गर्नलाई फर्म्याट गरे जस्तै सृष्टिलाई फर्म्याट गरी नयाँ जीवन शुरुवात गर्न पनि विष्णुले कलकि अवतार लिए भनिन्छ ।

भन्दाखेरी यहाँबाट फेरी नयाँ जीवनको शुरुवात भयो । यो प्रकृयाको सुक्ष्म विश्लेषण गरी हेर्दा मानव विकास क्रम नै त देखिन्छ । डार्विनले मानव विकास क्रमको सिद्धान्त प्रतिपादन गर्नु अघि नै विष्णुको दश अवतारले यो प्रसङ्ग सबैको सामु ल्याइसकेको छ ।

धर्म वा धार्मिक ग्रन्थमा यस्ता धेरै विज्ञान लुकेको छ, जसलाई हामीले धर्म वा पूजापाठमै सिमीत बनाइदिएका छौं । एकपटक पुराणहरु फेरी पल्टाउँ न, र फरक दृष्टिकोणले यसको अध्ययन र वहस थालौं न ।

Categorized in संस्कृति