आजदेखि विश्वकप क्रिकेट
SamacharDesk | २०८० आश्विन १८, बिहिबार

एक दिवसिय विश्वकप क्रिकेट बिहीबार देखि भारतमा सुरु हुँदैछ ।
प्रतियोगिताको उद्घाटन खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्नेछन् । गुजरातको अहमदाबादमा रहेको नरेन्द्र मोदी रंगशालामा नेपाली समय अनुसार बिहीबार दिउँसो सवा दुई बजे यो खेल सुरु हुनेछ ।
एक दिवसिय विश्वकप क्रिकेटको यो संस्करणमा १० टोली सहभागि छन् । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफ्गानिस्तान, इंग्ल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, न्युजिल्याण्ड र नेदरल्याण्ड्सले समुह चरणमा राउण्ड रोबिन लिग खेल्नेछन् ।
शिर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिता ४५ दिनसम्म चल्नेछ । विश्वकप क्रिकेटलाई फुटबलपछि लोकप्रियताको आधारमा दोस्रो सबैभन्दा ठुलो प्रतियोगिता मानिन्छ ।
भारतले एक्लै प्रतियोगिता आयोजना गरेको यो पहिलो अवसर हो । यसअघि सन् १९८७, १९९६ र २०११ मा दक्षिण एसियाका अन्य देशहरुसँग मिलेर भारतले विश्वकप आयोजना गरेको थियो ।
एक दिवसिय विश्वकप क्रिकेटको साविक विजेता इंग्ल्याण्ड हो भने ५ उपाधिसहित अष्ट्रेलिया सर्वाधिक सफल टोली हो । विश्वकप क्रिकेटको यो १३ औँ संस्करण हो ।
सन् १९७५ मा पहिलो पटक विश्वकपको आयोजना भएको हो । वेस्ट इन्डिजले पहिलो संस्करण मात्र होइन सन् १९७९ मा दोस्रो विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि पनि जित्यो ।
तर यसपाली क्यारेबीयन टोली वेष्ड इंडीज पहिलो पटक एक दिवसिय विश्वकप क्रिकेटमा छनोट हुन असफल भएको छ । यसपालि विश्वकप राउन्डरोविन संरचनामा खेलिने छ ।
जहाँ सहभागी प्रत्येक दस टिमले एकअर्कासँग प्रतिस्पर्धा गर्नुपर्ने छ । कुल ४५ खेल खेलिएपछि शीर्ष स्थानमा रहने चार टिम सेमिफाइनलमा पुग्ने छ । त्यसपछि फाइनल मङ्सिर ३ गते हुने छ ।
विश्वकपको सन् २०२७ मा हुने अर्को संस्करणदेखि १४ टोली सहभागि हुनेछन् ।
Categorized in स्पाेर्ट्स