३२औं विश्व अपांगता दिवस मनाईंदै
SamacharDesk – Ram Dangol | २०८० मङ्सिर १७, आइतबार

आज ३२औं बिश्व अपांगता दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
यस वर्षको अन्तर्राष्ट्रिय अपांगता दिवसको नारा ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने रहेको छ ।
नेपालमा संविधानले अपाङ्गगता भएकाहरुको अधिकार सुरक्षित गरे पनि त्यस अनुसारको ब्यवहार भने हुन सकेको छैन । सरकारी कार्यालयदेखि सडकसम्म अपांगमैत्री नहुँदा अपाङ्गगता भएकाहरुले ठूलो सास्ती ब्यहोर्नु पर्ने गरेको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई विश्वव्यापी रूपमा स्थापित गर्ने प्रयासका क्रममा सन् १९८१ लाई संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय अपाङ्गता वर्षका रूपमा घोषणा गर्यो अपाङ्गता भएका व्यक्तिहरूका सवालमा विश्वव्यापी रूपमा काम गर्न दस वर्षे कार्ययोजना बनाएर लाग्यो ।
१९८३ मा समीक्षा गर्दै सोही वर्षदेखि ३ डिसेम्बरलाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउन थालिएको हो । नेपालमा यो दिवस सन् १९९३ देखि मनाउन थालिएको हो । जुन हरेक वर्ष राज्य पक्षको नेतृत्वमा सबै सरोकारवालाको सहभागितामा विभिन्न कार्यव्रmम गरी मनाइँदै आएको छ ।
विश्व बैङ्कका अनुसार विश्वका अति गरिबमा २० प्रतिशत अपाङ्गता भएका व्यक्तिहरू छन् । यस्तै युनिसेफका अनुसार सडक युवामा ३० प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् भने अपाङ्गता भएका बालबालिकाको मृत्युदर अन्य बालबालिकाको तुलनामा निकै उच्च रहेको छ ।
युनेस्कोले उजागर गरेको तथ्याङ्क अनुसार विकासोन्मुख देशमा ९० प्रतिशत अपाङ्गता भएका बालबालिका विद्यालय जानबाट वञ्चित रहेका छन् ।
अपाङ्गता कुनै असक्षमता, व्यक्तिको कमजोरी वा कुनै भौतिक शरीर वा मानसिक अवस्थासँग जोडिएको विषय मात्र होइन, यो एउटा समग्र अवस्था हो । एक अध्ययनले देखाए अनुसार ७० वर्षभन्दा माथिका प्रत्येक व्यक्तिहरूले औसतमा झन्डै आफ्नो जीवनको ११ प्रतिशत आयु कुनै न कुनै रूपमा मानसिक वा शारीरिक कार्यसीमिततामा अपाङ्गतामा बाँच्नु पर्छ ।
अपाङ्गता शारीरिक वा मानसिक परिवर्तन मात्र नभई ती व्यक्तिहरूमाथि विभिन्न प्रकारका विभेद र उपेक्षा गरिन्छ, उनीहरूलाई सेवा र सुविधामा अवरोध सिर्जना गरिन्छ, उनीहरूको मानव अधिकारलाई कुण्ठित गरिन्छ तब अपाङ्गताको अवस्था सिर्जना हुन्छ ।
त्यसैले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, २००६ ले पनि अपाङ्गतालाई व्यक्तिगत वा शारीरिक अवस्था नभनेर विभिन्न प्रकारका भौतिक, दृष्टिकोणजन्य, सञ्चारसम्बन्धी र सामाजिक अवरोधहरूको परिणाम हो भनी व्याख्या गरेको छ ।
३२ औं अपांगता दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको जीवनस्तरमा सुधार ल्याउन अपाङ्गता अधिकारसम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले नेपालको संविधान, मौलिक हक, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन लगायतको प्रभावकारी कार्यान्वयनबाट मात्रै अपांगता भएका व्यक्तिको जीवनस्तर र जीवनयापनमा सुधार हुनसक्ने उल्ल्ेख गनुभएको छ ।
Categorized in राष्ट्रिय