विश्वभरी रेडक्रश दिवस मनाईँदै
SamacharDesk – बिराज | २०७८ बैशाख २५, शनिबार

आज मे महिनाको ८ तारीख, विश्वभरी विभिन्न किसिमले विश्व रेडक्रश दिवस मनाईँदैछ । परोपकार र सामाजिक सेवाको सन्देश दिँदै हरेक वर्ष आजकै दिन विश्व रेडक्रश दिवस मनाइन्छ ।
यस वर्ष दिवसका कार्यक्रमहरु भने भर्च्युअल माध्यममा सीमित भएको छ । कोरोना महामारीको दोश्रो लहरले भयावह रुप लिईरहँदा भौतिक उपस्थितीका बीच दिवसको कार्यक्रम हुनसक्ने स्थिती छैन ।
यद्यपि यहि महामारीको अवस्थामा रेडक्रश र रेडक्रशकर्मीको सेवाभावको महत्वलाई भने झनै बढाइदिएको छ ।
महामारीको अवस्थामा संक्रमणको जोखिमका बीच विश्वभरी विभिन्न देशका रेडक्रशकर्मीहरु रगत संकलन, प्लाज्मा दानको साथमा सामाजिक सचेतना जगाउन विभिन्न किसिमले स्वयमसेवकका रूपमा सक्रिय भइरहेका छन् ।
रेडक्रशका संस्थापक स्वीट्जरल्यान्डको जेनेभा निवासी जाँ हेनरी ड्यूनालाई सम्झिँदै उनकै जन्मदिनको दिनमा विश्व रेडक्रश दिवस मनाउने गरिएको हो । हेनरी ड्यूनाको जन्म सन् १८२८ मे ८ को दिनमा भएको थियो । उनी नोबेल शान्ती पुरस्कारका प्रथम विजेता समेत हुन् ।
ड्यूना एक समयमा कामको सिलसिलामा इटालीको सल्फेरीनो पुग्दा युद्धमा घाइते भइ रगताम्मे भएका सिपाहीँहरु र मृतकहरु देखेर ड्यूनाको मन रोयो र उनले ती घाइते सिपाहीँहरुको उद्धार र उपचार अनि शव व्यवस्थापनमा योगदान दिए ।
उनले सोही घटनाको वर्णन गर्दै सन् १८५९ मा ‘मेमोरी अफ सोल्फेरिनो’ नामक पुस्तक पनि लेखेका थिए ।
यसै घटनाले उनलाई विश्व परोपकारकालागि एउटा संस्थाको आवश्यकता महसूस गरे र सन् १८६३ मा रेडक्रसको अन्तराष्ट्रिय कमीशन (आईसीआरसी) का रुपमा शुरुवात गरे ।
आजको दिनमा संसारभरिका १९० भन्दा बढी देशहरुमा रेडक्रश स्थापना भइसकेको छ ।
विभिन्न युद्धग्रस्त क्षेत्रको साथमा प्राकृतिक विपद् आदि जस्तो स्थितीमा रेडक्रशले उद्धार, स्वास्थ्य सेवा आदिमा योगदान दिँदै आएको छ ।
नेपालमा सन् १९६३ बाट नेपाल रेडक्रस को शुरुवात भएको हो । सम्पूर्ण ७५ वटै जिल्लाहरुमा नेपाल रेडक्रसले आफ्नो सेवाहरु दिँदै आएको छ ।
रेडक्रशलाई यसको रातो प्लस चिन्हले चिनाउँछ । स्वीट्जरल्यान्डको झन्डामा रातो पृष्ठभूमिमा सेतो प्लस रहन्छ । स्वीट्जरल्यान्डका नागरिक हेनरी ड्यूनाको सम्मानमा सेतो पृष्ठभूमिमा रातो प्लस राखेर रेडक्रश चिन्ह बनाइएको हो ।
पाकिस्तानमा भने प्लस चिन्ह प्रयोग नगरी सेतो पृष्ठभूमिमा रातो चन्द्रमा प्रयोग गरिएको छ । यसलाई रेड क्रिसेन्ट भनेर चिनिएको छ ।
विगतका दिनमा नेपालमा अस्पताल, चिकित्सक, एम्बुलेन्स र औषधी पसलहरुले समेत रेडक्रश चिन्ह नै प्रयोग गर्ने गर्दथे । यसले गर्दा रेडक्रश चिन्हलाई गलत ढङ्गले बुझिने र गलत व्याख्या बढ्न थालेपछि अभियानै चलाइएपछि अब अस्पताल, चिकित्सक, एम्बुलेन्स र औषधी पसलहरुमा छुट्टाछुट्टै चिन्ह प्रयोग हुन थालेको छ ।
Categorized in राष्ट्रिय