विश्वमा धनाढ्यहरुको संख्या बढ्यो
SamacharDesk | २०८० चैत्र २२, बिहिबार

अमेरिकी बिजनेस म्यागजिन फोब्र्सले विश्वका धनाढ्यहरुको सूची सार्वजनिक गरेको छ ।
सन् २०२४ को मार्चसम्मको सम्पति र सेयर मूल्यको आधारमा एक अर्ब डलर भन्दा बढी सम्पति हुनेहरुको सूचि फोब्र्सले जारी गरेको हो । यस्तो सूचीमा विश्वका दुई हजार ७८१ धनाढ्यहरु समेटिएका छन् । यो संख्या हालसम्मकै धेरै हो ।
यी सवै धनाढ्यहरूसंग १४२० अर्ब डलर सम्पति रहेको पनि फोब्र्सले जनाएको छ । फोब्र्सका अनुसार विश्वका धनाढ्यहरु झन् झन् धनी देखिएका छन् ।
यिनीहरु मध्ये एक चौथाईको सम्पति केही घटेको छ । शीर्ष स्थानका २० धनाढ्यहरुले एक वर्ष यता ७ खर्ब अमेरिकी डलर कमाएका छन् । धनाढ्यहरु मध्ये अमेरिकाबाट सबैभन्दा धेरै ८१३ जना रहेका छन् ।
जसको सम्पत्ति ५ दशमलव ७ ट्रिलियन डलर रहेको छ । धनाढ्य धेरै हुने दोस्रो नम्बरमा चीन रहेको छ । जहाँ ४७३ अर्बपति रहेका छन् भने उनीहरुको कुल सम्पत्ति १ दशमलव ७ ट्रिलिनय छ ।
भारत अर्बपतिहरु हुने तेस्रो देश बनेको छ । भारतका दुई सय जना अर्बपति रहेका छन् । धनाढ्यको पहिलो नम्बरमा यस पटक फ्रान्सेली फेसन कम्पनीका मालिक बर्नार्ड अर्नाल्ट परेका छन् ।
उनको सम्पत्ति २ खर्ब ३३ अर्ब अमेरिकी डलर रहेको छ । यस्तै दोस्रो नम्बरमा रहेका अमेरिकी उद्यमी एलन मस्कको सम्पत्ति १ खर्ब ९५ अर्ब अमेरिकी डलर छ भने तेस्रो नम्बरका अमेरिकाकै जेफ बेजसोको सम्पत्ति १ खर्ब ९४ अर्ब अमेरिकी डलर छ ।
यसैगरी चौथो नम्बरमा परेका फेसबुकका संस्थापक मार्क जुकरबर्गको सम्पत्ति १ खर्ब ७७ अर्ब र पाँचौं नम्बरका आरोकल टेक्नोलोजीका अध्यक्ष ल्यारी एलिसनको सम्पत्ति १ खर्ब ४१ अमेरिकी डलर छ ।
भारतका मुकेश अम्बानी नौ नम्बरमा परेका छन् । अम्बानीको सम्पत्ति १ खर्ब १६ अर्ब डलर छ भने १७औँ स्थानमा रहेका भारतकै गौतम अडानीको सम्पत्ति ८४ अर्ब डलर छ ।
अर्बपतिको सूचिमा चिनियाँ ज्याक मा ८१औं नम्बरमा परेका छन् । उनको सम्पत्ति २४ दशमलव ५ अर्ब अमेरिकी डलर छ । नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी एक हजार ७६४ औँ स्थानमा परेका छन् ।
Categorized in बिजनेस