arin enterprises

आज विश्व खानेपानी दिवस

SamacharDesk | २०७९ चैत्र ८, बुधबार

‘खानेपानी तथा सरसफाइ संकट समाधानका लागि द्रुततर परिवर्तन’ नाराका साथ आज संसारभर विश्व पानी दिवस मनाइैंदैछ । 

यो दिवस प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइन्छ भने नेपालमा पनि आज बुधबार विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो ।

सन् १९९२ मा एजेण्डा २१ मा समाहित गरिएको पानी दिवसको रूपरेखालाई आत्मसात् गर्दै सन् १९९३ देखि मार्च २२ तारिखका दिन विश्वभर यो दिवस मनाउन थालिएको थियो ।

पञ्च तत्वमध्येको एक पानी सबै जीव र वनस्पतिका लागि आवश्यक मानिन्छ । नेपाल विश्वमै जलस्रोतमा दोस्रो धनी देश भनिए पनि धेरै सहर, बजार र गाउँमा खानेपानीकै समस्या छ ।

अझ काठमाडौंवासीहरुले पानीको समस्या वर्षाैंदेखि झेलिरहेको छ । दिनदिनै काठमाडौंमा जनघनत्व बढेसँगै मेलम्ची जस्ता ठूला आयोजनाले पनि धान्न नसक्ने अवस्था रहेको छ ।

विगतलाई मध्यनजर गर्दै सुरु भएको मेलम्ची आयोजना अहिले आएर काठमाडौंमा जनघनत्वमा दोब्बर वृद्धि भएपछि पानीको समस्या ज्यूँकात्यूँ नै रहेको छ । अझ मेलम्चीको पानी वितरणमा पनि निरन्तरता नहुँदा काठमाडौंवासीहरु हैरान भइसकेका छन् ।

मेलम्ची आयोजना पनि वर्षायाममा सुरुङ भत्किने समस्याले बन्द गर्नुपर्ने कहिले सुख्खायाममा पानीको कमीले आयोजना बन्द गर्नुपर्ने जस्ता ढिलासुस्ती भइदिँदा काठमाडौंवासीहरुले पानीको समस्या झेलिरहनु परेको छ ।

अझ गत वर्ष मेलम्चीमा आएको पहिरोले मेलम्चीको मुहान मै अवरोध हुँदा आयोजनाको क्षमतामा भन्दा कम मात्र पानी वितरण भइरहेको देखिन्छ ।

विश्वमा देखा परेको स्वच्छ खानेपानीको सङ्कट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउन थालिएको हो ।

पानी पृथ्वीको सर्वश्रेष्ठ प्राणी मानिसका लागि मात्र नभई सबै जीव र वनस्पतिको जीवनको आधार हो । चेतनशील प्राणीका रुपमा मानवको जीवनका क्रियाकलाप पनि पानीमा निर्भर रहन्छन् ।

हाम्रा घरायसी क्रियाकलाप, खेतीपाती र पशुपालन जस्ता कृषि प्रणाली, स्वास्थ्य र आर्थिक क्रियाकलापदेखि धार्मिक एवं सांस्कृतिक संस्कारमा गर्भावस्थादेखि मरणोपरान्तसम्म पानीको आवश्यकता पर्दछ ।

पृथ्वीको दुई तिहाइ भू–भाग पानीले ओगटेको भए पनि स्वच्छ पानीका स्रोत कम छन् । असावधानीपूर्वक थालिएका विकास प्रयास र मानवीय हस्तक्षेपका कारणले भएका सीमित स्वच्छ पानीका स्रोतसमेत प्रदूषित भएका छन् ।

स्वच्छ पानी र गुणस्तरीय मानव जीवनको महत्व दर्शाउनका लागि नै विश्व खानेपानी दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्घले सन २०३० सम्म विश्वका सबै जनसङ्ख्यालाई स्वच्छ खानेपानी र सरसफाइको सुविधा उपलब्ध गराउने कार्यक्रम ल्याएको छ ।

दिगो विकास लक्ष्यका कार्यक्रमअन्तर्गतको यो लक्ष्य हासिल गर्न नेपालले १५औँ आयोजनामा पानीका उपलब्ध स्रोतको संरक्षण, सम्वद्र्धन र किफायती उपयोग गर्ने नीति, रणनीति, कार्यक्रम र योजना तय गरेको छ ।

यसअन्तर्गत सतहको पानी, वर्षाको आकाशे पानी, सतहमुनिको पानी तीनवटै स्रोतको उपयोग गर्ने नीति लिइएको छ । दिवसका अवसरमा नेपालमा पनि सरकारी, सामाजिक र निजी क्षेत्रबाट पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको जनाइएको छ ।

Categorized in राष्ट्रिय