कामपाको कोभिड १९ निगरानी प्रणाली अब प्ले स्टोरमा
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७६ चैत्र २४, सोमबार

अब आम सर्वसाधारणले आफ्नो स्वास्थ्य अवस्थाको आधारमा कोरोनाभाइरस (कोभिड १९) को सम्भावनाको जाँच घरैबाट गर्न सकिने भएको छ । काठमाडौं महानगरपालिकाले बनाएको कोभिड १९ निगरानी प्रणाली मोबाइल एप अब प्ले स्टोरमा उपलब्ध भएसँग सर्वसाधारणलाई संक्रमणको सम्भावना जाँच्न सहज भएको हो ।
कामपाको समन्वयमा नेपाल रिसर्च एजुकेशन नेटवर्क, जनस्वास्थ्य सरोकार ट्रष्ट, इनोभेटिभ सोलुसन, नेपाल डिजास्टार–इमर्जेन्सी मेडिसिन सेन्टर लगायत संघसंस्थाको साझेदारिमा बनाइएको कोभिड १९ निगरानि प्रणाली एप अब ‘प्ले स्टोर’बाटै डाउनलोड गर्न सकिने भएको हो ।
यो एपको प्रयोग गरेर महानगरवासी हरेकले आफुले कत्तिको सावधानी अपनाउनुपर्ने हो, घरमै बस्दा सुरक्षित भइन्छ अथवा अस्पताल जानुपर्ने हो, बिशेषज्ञ स्वास्थ्य सेवा आवश्यक छ वा छैन जस्ता आफ्नो स्वास्थ्य सम्बन्धी अवस्थाको जानकारी लिन सक्नेछन् ।
‘नेपाल कोविड–१९ निगरानी प्रणाली’ बाट मुख्यतः चार प्रकारको सुविधा लिन सकिने बताइएको छ ।
यूजरले एपमा भरेको जानकारी र लक्षणको आधारमा कोरोना संक्रमणको स्वमूल्यांकन गर्न सकिनेछ ।
स्वमुल्यांकन मार्फत सम्भावित लक्षण देखिएका व्यक्तिलाई तुरुन्त चिकित्सकले फोन सम्पर्क गरी आवश्यक परामर्श दिइनेछ ।
स्वमूल्यांकन र फोन परामर्श पछि संक्रमणको सम्भावना देखिएका व्यक्तिलाई एम्वुलेन्सको व्यवस्था गरी खकार र स्वाव परिक्षणको लागि तोकिएको अस्पताल पनि पुर्याइनेछ ।
साथमा, भौगोलिक सूचना प्रणालीको माध्यमबाट सम्वन्धित निकायलाई संक्रमण नियन्त्रणका लागि आवश्यक थप उपाय अपनाउन पनि यसले प्रणालीबाट सहयोग हुनेछ ।
अहिलेको लागि यो प्रणाली काठमाडौंं महानगरपालिकामा पूर्ण रुपमा लागू हुनेछ भने महानगरपालिका बाहिरकाले पनि आफ्नो स्वास्थ्य अवस्थाबारे जान्नको लागि यो एप प्रयोग गर्न सकिने बताइएको छ ।
नेपालमा कोरोना भाइरस कोभिड १९ को रोकथाम र नियन्त्रणको लागि विभिन्न उपायहरुको खोजी भइरहेकै बेलामा काठमाडौंको अवस्था ट्र्याक गरी आवश्यक कदम चाल्नको लागि यस डिजिटल प्रणालीले ठुलो टेवा पुग्ने आशा गरिएको छ ।
कामपाले महानगरबासी सबैलाई यो एप डाउनलोड गरेर आफ्नो विवरण बुझाउन समेत आग्रह गरेको छ ।
Categorized in विज्ञान-प्रविधी