arin enterprises

क्यान्सर उपचार कोष सहयोगार्थ दौडको आयोजना

SamacharDesk – हेल्थ ब्युरो | २०७५ आश्विन ६, शनिबार

क्यान्सर पिडित विरामीहरुको उपचारकालागि नेपाल क्यान्सर सपोर्ट ग्रुपले खडा गरेको उपचार कोषको सहयोगार्थ जनचेतना फैलाउँदै दौडको आयोजना गर्ने भएको छ ।

‘क्यान्सरको उपचार नेपालमै’ भन्ने नारा सहित क्यान्सर उपचारमा सक्रिय नेपाल क्यान्सर हस्पिटल, यससँग आवद्ध सामाजिक संस्था, नेपाल क्यान्सर सपोर्ट ग्रुपको संयोजन र सहयोगी संस्थाहरुको संयुक्त आयोजनामा उक्त दौड हुन लागेको हो । आउँदो असोज १३ गतेका दिन दौड हुने आयोजकले जनाएको छ ।

‘नेपालमा बढ्दो क्यान्सर रोकथामकालागि विशेषतः शहरी क्षेत्रका युवाबीच सहभागितामूलक जनचेतना कार्यक्रमका रुपमा दौडको आयोजना गरेका हौं,’ नेपाल क्यान्सर सपोेर्ट ग्रुपका कोषाध्यक्ष गणेशभक्त श्रेष्ठले बताए, ‘दौडमा रोट्र्याक्ट क्लब अफ यलका युवाहरु र पांग्रो संस्थाको व्यवस्थापन सहकार्यले उल्लेख्य सहभागिताको अपेक्षा राखेका छौं’ श्रेष्ठले थपे ।

उचित जीवनशैली, खानपान र व्यायामले शरीरलाई रोग प्रतिरोधात्मक शक्ति विकास हुने तथ्य स्थापित गर्दै नेपालमा बढ्दो क्यान्सर विरुद्ध जनचेतना फैलाउन कार्यक्रम फलदायी हुने विश्वास नेपाल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. सुदिप श्रेष्ठले व्यक्त गर्नुभयो । ‘विशेषत युवापुस्तामा स्वास्थ्यप्रति सजगता र क्यान्सरबारे जनचेतना अभिबृद्धि भए क्यान्सर उपचारकालागि सहयोगी हातहरु पनि बढ्ने विश्वास सहित कार्यक्रम तयार गरिएको छ,’ डा.श्रेष्ठले भने । क्यान्सर सपोर्ट ग्रुपमार्फत न्यून आय भएका विरामीहरुकालागि स्थापित उपचार कोषकालागि अन्य संस्थाहरुको सहकार्यमा सहयोग जुटाउने लक्ष्य लिएको श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा सहकार्य गर्न डा. सुदिप आफै संलग्न रहेको रोटरी क्लब अफ यलका रोट्र्याक्ट क्लबका युवाहरु र स्वास्थ्यवद्र्धक साईक्लिङ्ग, हाइकिङ्ग लगायतका कार्यक्रमहरु आयोजना गर्दै आएको खेलकूदप्रेमी संस्था “पांग्रो” अग्रसर भएका हुन ।

दौडमा सहभागिता बढाउनका लागी पहिलो २ सय ५० सहभागीहरुलाई टिसर्ट बाँडिने भएको छ भने उपचार कोषमा सहयोग जुटाउन दौडमा सहभागिता दर्ता ५ सय रुपैया तोकिएको छ । 

हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालबाट विहान ७ बजे शुरु गरिने ५ किलोमिटरको दौडमा हजारौंको जनसहभागिता अपेक्षासहित कम्तीमा ३ लाख रुपैया उपचार सहयोग कोषमा जम्मा गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ ।

प्रत्यक्ष क्यान्सरलाई भोगेका परिवारजनहरुको बाहुल्यता र विज्ञ चिकित्सकहरु मिलेर नेपाल क्यान्सर सपोर्ट ग्रुपको स्थापना गरिएको हो । ग्रुपले न्यून आयका विरामीहरुको उपचारार्थ आर्थिक सहयोग, क्यान्सर रोकथामकालागि विज्ञ चिकित्सकहरुको संलग्नतामा देशव्यापी स्वास्थ्य शिविर, “सुदिप्त” क्यान्सर सर्भाइभरशिप भेला लगायत विभिन्न जनचेतनात्मक कार्यक्रमहरु आयोजना गर्दै आएको छ । त्यस्तै नेपालमा बैज्ञानिक स्वास्थ्य नीतिकालागि क्यान्सर रेजिष्ट्रि र स्वास्थ्य विमा लगायतका सवालमा सरकारसँग पैरवी पनि गर्दै आएको छ ।

Categorized in समाज