खड्गी सेवा समितिको स्थापना दिवस सम्पन्न
SamacharDesk – सोसियल ब्यूरो | २०७६ बैशाख २८, शनिबार

सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले समाजबाट लैङ्गिक र जातिय विभेदको अन्त्य हुँदै गएको दावी गर्नुभएको छ । अहिले हरेक क्षेत्रमा जातीय साथै लैङ्खिक सहभागीतामा समानता देखिन थालेको अध्यक्ष दाहालको भनाई थियो ।
काठमाडौंको वसन्तपुरमा शुक्रबार आयोजित नेपाल खड्गी सेवा समितिको ४६औं स्थापना दिवस र ११औं नायः दिवस कार्यक्रमलाई गर्दै दाहालले विगतमा जातीय भेदभावका कारण कैयनले हीनतावोधका कारण आफ्नो थर नलेख्ने गरेको स्मरण गर्दै अहिले यिनै थरहरु गर्वसाथ राख्ने गरेको बताउनुभयो ।
नेपाल खड्गी सेवा समितिका अध्यक्ष अंजिता खड्गीतर्फ संकेत गर्दै दाहालले राष्ट्रिय स्तरको संगठनमा महिला नेतृत्व देख्दा निकै खुसी लागेको बताउनुभयो ।
‘समावेशी र समानताको आवाज सहित आफुले गरेको संघर्षले अहिले सार्थकता पाउन थालेको देख्दा खुसी लाग्छ । अहिले संघसंस्थादेखि लिएर राजनैतीक पार्टी र संसदमा समेत महिला नेतृत्वको विकास हुन थालेको छ’ दाहालको भनाई थियो । ‘जातीय दृष्टिकोणले पनि हरेक जातीय समुदायले समान अवसर पाउने वातावरण वन्दै गएको छ ।’
कार्यक्रममा समितिका अध्यक्ष अंजिता खड्गीले संस्था र नायः दिवसको बारे जानकारी दिनुभयो । विगतमा पाहांचःर्हेको अवसरमा मनाउँदै आएको नायः दिवस उक्त समयमा नायः समुदाय नायःखिं बाजा बजाउनुका साथै जात्रा मनाउनमै व्यस्त रहने र सोही समयमा एसइइ परिक्षा समेत पर्न आउने हुँदा अहिले संस्थाको स्थापना दिवसमै मनाउने जानकारी खड्गीले दिनुभयो ।
समितिका संरक्षक मनोज नेवाः खड्गीले जातीय भेदभावको स्थितीमा धेरै परिवर्तन आइसकेको भएपनि अझै पनि विभेदको उन्मूलन भइनसकेको बताउनुभयो । समान हक र अधिकार प्राप्तीका लागि एकजुट भएर अघि बढ्नुपर्नेमा खड्गीले जोड दिनुभयो ।
सोही कार्यक्रममा संस्थाको स्थापना दिवस र नायः दिवसको अवसरमा आयोजना भएको खड्गी कप फुटसलको विजेता टोलिलाई ट्रफि सहित नगद पुरस्कार समेत प्रदान गरिएको थियो । प्रतियोगीतामा समितिको १७ वडा शाखा प्रथम भएको थियो भने भक्तपुर शाखा दोश्रो र बुङ्गमति शाखा तेश्रो भएको थियो ।
साथै संस्था र समुदायको उत्थानमा योगदान दिँदै आएका संचारमाध्यम र पत्रकारहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
कार्यक्रममा समितिका विभिन्न वडा एवम् क्षेत्रगत शाखाका प्रतिनिधि, जातीय संस्थाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।
Categorized in समाज