arin enterprises

नेपालको पहिलो सम्पदामैत्री व्यावसायिक भवन खुल्दै

SamacharDesk – समाचारडेस्क | २०७५ आषाढ १४, बिहिबार

राजधानीको अति व्यस्त व्यावसायिक केन्द्र न्यूरोडमा निर्माणाधीन देशकै पहिलो सम्पदामैत्री व्यापारिक भवन ‘महर्जन कम्प्लेक्स’को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै कम्प्लेक्सको संचालक कम्पनी महर्जन विजनेस एशोसिएट्स प्रा.लि आउँदो दशैं तिहारको अवसर पारेर कम्प्लेक्सको उद्घाटन गर्ने तयारीमा जुट्न थालेको छ । 

अहिले संचालक कम्पनी निर्माण कार्य सम्पन्न गरी भवनलाई यथाशिघ्र तयार गर्न कम्पनी रातदिन खटिरहेको छ । बसन्तपुरस्थित गद्दी वैठकसँग मिल्दोजुल्दो यस न्यू क्लासिकल भवनको स्वरुपलाई युनेस्कोले पनि सम्पदामैत्री भन्दै प्रशंसा गरेको छ । भवनको सम्पदामैत्री स्वरुपका कारण यसले न्यूरोड क्षेत्रकै शोभा बढाउने कम्पनीको दावी छ । 

महानगरीय प्रहरी वृत्त, कार्यालय जनसेवाको नाकै मुनि रहेको यस भवनमा सिसिटिभिको समेत व्यवस्था रहेको हुँदा सुरक्षाको दृष्टिले ढुक्क हुनुको साथै व्यवसायी एवम् ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर अत्याधुनिक सुविधाको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । भवनको बीच भागमा खुल्ला स्थान (void) छोडिएको छ । ती खुल्ला स्थानमा प्रत्येक तल्लामा राखिने बारका काँचहरुमा नेपालका विभिन्न प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाहरुलाई प्राथमिकताका साथ स्थान दिँदै चित्रहरु कुंदिने जानकारी कम्पनीले दिएको छ । 

‘व्यवसायिक भवनले पनि यस क्षेत्रको सम्पदाको सम्मान गर्नुपर्छ भन्ने हाम्रो मान्यता भएकाले सोही अनुसार भवनको स्वरुपलाई सम्पदामैत्री बनाएका छौं । स्वरुपलाई सम्पदामैत्री बनाउन कुनै कसर बाँकि राखेका छैनौं’ महर्जन बिजनेस एशोसिएट्स प्रा.लि.का अध्यक्ष कृष्णलाल महर्जनले बताउनुभयो, ‘भवनको स्वरुपदेखि सुविधासम्मलाई ध्यान दिँदै Central AC, Fresh Air को निरन्तर Supply, Back Up Generator, Fire Fighting System, Escalator, Capsule Lift, Closed Lift आदिको व्यवस्था गरेका छौं ।’ महर्जनले बताउनुभयो ।

यस भवनभित्र एकसय वर्गफिटदेखि पाँचसय वर्गफिटसम्मका ६० वटा पसल कवलहरु निर्माण भएका छन् । साथै यस भवनमा करीब एक हजार जनाले रोजगारको अवसर पाउने कम्पनीले जनाएको छ । देशको अर्थतन्त्रमा साथै रोजगारीको सवालमा समेत यस भवनले टेवा पु¥याउने कम्पनीका अध्यक्ष महर्जनले दाबी गर्नुभयो । 

साथै, महर्जनले यस भवनमा ज्वेलरी, रेस्टुरेन्ट, फेन्सीलगायतका विभिन्न पसलहरु रहने जानकारी दिँदै यस भवनलाई ज्वेलरी कम्प्लेक्सको रुपमा विकास गर्न सकिन्छ, भन्नुभयो । ‘यो भवन सुरक्षा, निर्माण शैली हरेक दृष्टिले ज्वेलरी व्यवसायीहरुको लागि उपयुक्त भएकाले ज्वेलरी व्यवसायीहरुले यस भवनमा चासो देखाइरहेका छन् र भवनलाई ज्वेलरी कम्प्लेक्सको रुपमा विकास गर्न पनि उहाँहरुले सुझाउनु भएको छ’ महर्जनले जानकारी दिनुभयो ।

निकट भविष्यमै पसलको बुकिङ खुल्ला गर्ने तयारीमा कम्पनी रहेको छ ।

Categorized in बिजनेस