नेवाः अधिकार सिरपाःबाट तिनजना अगुवाहरु सम्मानित
SamacharDesk – सोसियल ब्यूरो | २०७५ चैत्र १०, आइतबार

यस वर्षको नेवाः अधिकार सिरपाःबाट वरिष्ठ समालोचक प्रा. माणिकलाल श्रेष्ठ, जनकवि दुर्गालाल श्रेष्ठ र मानव अधिकारवादी नेता मल्ल के सुन्दर सम्मानित भएका छन् । नेवाः अधिकार सिरपाः गुठीबाट शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उहाँहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले सम्मानित तिनै जनालाई सम्मान पत्र प्रदान गर्नुभयो । सम्मानको राशी रु.५० हजार रहेको छ । सम्मान राशी पुरस्कारका संस्थापक, डा. महेशमान श्रेष्ठकी धर्मपत्नी मोहिनीदेवी श्रेष्ठले प्रदान गर्नुभयो ।
विगत नौ महिनादेखि अस्पतालमा उपचाररत वरिष्ठ समालोचक प्रा. श्रेष्ठ अस्वस्थताका वावजुद पनि कार्यक्रमस्थल खुसिबुँमा पुगेका थिए । मन्तव्यको क्रममा उहाँले राज्यले भाषिक, जातीय समानतामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
जनकवि श्रेष्ठले अस्वस्थ अवस्थामा पनि नेपालभाषा र नेवाः मुद्दामा चिन्तित रहेका प्रा. माणिकलाल श्रेष्ठबाट सबैले शिक्षा र प्रेरणा लिन सक्नुपर्ने बताउनुभयो ।
मानवअधिकारवादी नेता मल्लले राज्यले हरेक नेपाली नागरिकले समान अवसर दिनुपर्नेमा आफै जातिवादी भएको आरोप लगाउनुभयो ।
शताब्दी पुरुष सत्यमोहन जोशीले संविधानमा नेपालका सबै भाषालाई राष्ट्रिय भाषाका रुपमा व्याख्या गरिएको भए पनि व्यवहारमा लागू नभएको बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकाले नेपाल भाषाको विकासका लागि महत्वपूर्ण कार्य गर्दै आएको बताएका छन् । स्थानीय भाषा, कला, संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि आफुले सक्दो योगदान दिने मेयर शाक्यको भनाई थियो ।
सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले नेपालमा गणतन्त्र स्थापना भए पनि जातीय उन्मुक्तिका लागि सङ्घर्ष गर्नुपर्ने स्थिती रहेको बताए ।
प्रा. माणिकलाल श्रेष्ठ नेपालभाषा साहित्य क्षेत्रमा समालोचना विधामा निरन्तर योगदान पुर्याउँदै आएका व्यक्तित्व हुन् भने मल्ल के. सुन्दरले विगतमा पत्रकारिता क्षेत्रबाट नेपालभाषा र नेवाः समुदायको सेवा गरेका छन् भने अहिले मानवअधिकारको क्षेत्रमा सक्रिय छन् ।
जनकवि दुर्गालाल श्रेष्ठले त जातीय समानताको पक्षमा र दमनको विरोधमा सयौं गीत, कविता लेखेका छन् ।
Categorized in समाज