पत्रकार दबूका पदाधिकारीलाई ललितपुरबाट शुभकामना
SamacharDesk – सोसियल ब्यूरो | २०७६ मङ्सिर ३, मंगलबार

भाषिक पत्रकारिता क्षेत्रमा पनि व्यावसायिकताको विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएको छ । आज ललितपुरमा आयोजित कार्यक्रमका वक्ताहरुले विभिन्न मातृभाषामा पत्रकारिता गरिरहेका पत्रकारहरुले व्यावसायिकताको पनि ख्याल गर्नुपर्ने बताइएको हो ।
नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखा र ताम्रकार समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले मातृभाषामा पत्रकारिता क्षेत्रमा पनि व्यावसायिकताको विकास हुनुपर्ने बताउनुभयो ।
‘मातृभाषामा पनि पत्रकारिकता गरेर पत्रकारले घर धान्न सकोस्, परिवार पाल्न सकोस् । यस किसिमको वातावरण बनाइनुपर्छ । यसको लागि नेवाः पत्रकारहरुको छाता संगठनले भूमिका खेल्नुपर्छ’ अध्यक्ष ताम्रकारले भन्नुभयो ।
यसैगरी, नेवाः पत्रकार राष्ट्रिय दबूका नवनिर्वाचित केन्द्रीय अध्यक्ष सुरजबीर बज्राचार्यले मातृभाषा पत्रकारिता क्षेत्रलाई सबल बनाउन हरदम सक्रिय रहने प्रतिवद्धता व्यक्त गरे ।
‘आज बधाई लिने दिन होइन, तपाईँहरुले शुभकामना दिनु, साथ दिनु । ३ वर्षको कार्यकालमा केही उपलब्धीमूलक काम गरौं । नेपालभाषा पत्रकारिता क्षेत्र र नेवाः पत्रकारको लागि केही गरौं । त्यसपछि बधाई लिउँला’ बज्राचार्यको भनाई थियो ।
कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबू केन्द्रीय समितिका नवनिर्वाचित कार्यसमितिलाई दबू ललितपुर शाखा र ताम्रकार समाजले शुभकामना साथै बधाई दिएको थियो ।
नवनिर्वाचित केन्द्रीय समितिले नेवाः परम्परा अनुसार रातो दहिको टिका सगुनको साथमा अण्डा सगुन समेत दिएर शुभकामना दिएको हो । दबू ललितपुर शाखाका पदाधिकारीहरुले सगुन दिए भने ताम्रकार समाजका अध्यक्ष ताम्रकारले खादा ओढाए ।
Categorized in समाज