arin enterprises

पोखरामा अन्नपूर्ण केबुलकार संचालनमा

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण ८, आइतबार

पोखराको फेवातालदेखि सराङकोटसम्म केवल कार संचालनमा आएको छ ।

पोखराको पर्यटकीय गन्तव्य फेवाताल किनारबाट सराङकोटडाँडासम्म ‘अन्नपूर्ण केबुलकार सञ्चालनमा आएको छ । फेवाताल र सराङकोटडाँडा दुई पर्यटकीय गन्तव्यलाई जोड्नका लागि अन्नपूर्ण केबुलकार प्रालिले केबुलकार निर्माण गरेको हो ।

१३ वर्षअगाडि अध्ययन भएर २ अर्बभन्दा बढी लगानीमा निर्माण गरेर शुक्रबारदेखि व्यावसायिक सेवा सुरुवात गरिएको अन्नपूर्ण केबुलकार प्रालिका निर्देशक तीर्थ त्रिपाठीले बताए । केबुलकार पोखरा महानगरपालिका– १८ को सेतीबाट सराङकोटसम्म २ हजार २६५ मिटर लामो रहेको छ । केबुलकारको क्षमता १ घण्टामा २ हजार मान्छेहरू ओहोरदोहोर गराउन सक्ने रहेको बताए । तर हाललाई क्षमताभन्दा आधा मात्रै संचालन हुने त्रिपाठीले बताए ।

फेवातालबाट साङकोटसम्म केबुलकारबाट ९ मिनेटमा पुग्न सकिने बताएका छन् । केबुलकारले आगामी नयाँ वर्षमा ‘ग्रान्ड लन्चिङ’ गर्ने र हालका लागि ‘सफ्ट लन्चिङ’मार्फत बिहान १० बजेदेखि साँझ ४ बजेसम्म व्यावसायिक सञ्चालन गर्ने तयारी गरेको छ । स्वदेशी तथा विदेशी पर्यटक धेरै आउने पोखरामा पर्यटनको एउटा नयाँ ‘ब्रान्ड’ थपिएको हो ।

अंग्रेजी नयाँ वर्षका दिनदेखि व्यावसायिक सञ्चालनको योजना रहे पनि प्राविधिक समस्याका कारण ढिलाइ भएको हो । केबुलकारको तल्लो स्टेसन समुद्र सतहदेखि ८२४ मिटरमा रहेकामा माथिल्लो स्टेसन एक हजार ४६५ मिटर रहेको छ । प्राकृतिक सुन्दरताले भरिएको पोखरामा केबुलकार पर्यटकको नयाँ गन्तव्य र रोजाइ बन्ने देखिन्छ ।

Categorized in बिजनेस