arin enterprises

प्रचलित नेपाल लिपि अब युनिकोडमा

SamacharDesk – श्रोत : राजेन्द्र रञ्जित | २०७५ श्रावण २६, शनिबार

प्रचलित नेपाल लिपि अब युनिकोडमा आउने भएको छ । नेपाल लिपि गुथिका उपाध्यक्ष अनिल स्थापितले नेपाल लिपिलाई विश्वव्यापीकरण गर्न यसलाई युनिकोडमा लग्ने काम सम्पन्न भएको बताउनुभएको छ ।

नेपाल लिपि गुथिको ३८औं स्थापना दिवस र वार्षिकोत्सवको अवसरमा उपाध्यक्ष स्थापितले ईतिहासको कालखण्डमा विविध कारणले पछि परेको नेपाल लिपिलाई विकसित प्रविधीको सदुपयोगबाट विश्वव्यापीकरण गरिने बताउनुभयो ।

त्यसैगरी वरिष्ठ पत्रकार नेपालभाषा टाइम्सका सम्पादक सुरेश किरण मानन्धरले लिपि लगायत समाजका अमूल्यको सम्पत्तिको संरक्षण र प्रचार प्रसारका लागी परिवर्तनलाई पनि अंगाल्नुपर्ने बताउनुभयो । युनिकोडमा नेपाल लिपिसँगै, सामाजिक संजाल समेतको सदुपयोग गर्दै यसलाई युवा पुस्तामा लान सकिने मानन्धरको भनाई थियो ।

नेपाल लिपि गुथिको ३८औं स्थापना दिवसको साथै वार्षिकोत्सव शनिबार काठमाडौंमा सम्पन्न भएको हो ।

कार्यक्रममा गुथिबाट लिपि कक्षामा प्रथम, दोश्रो र तेश्रो हुनेलाई प्रमाण पत्र प्रदान गरिएको थियो । 

प्रचलित नेपाल लिपि कक्षामा सुयोग्य रत्न ताम्राकार, आनन्द कुमार महर्जन र सुनिता डंगोल क्रमशः पहिलो, दोश्रो र तेश्रो भइन् भने रञ्जना लिपि कक्षामा आनन्द कुमार महर्जन प्रथम, सुनिता डंगोल र सुयोग्य रत्न ताम्राकार दोश्रो, लुमिन ताम्राकार र सृष्टि श्रेष्ठ तेश्रो भए । 

दोश्रो रञ्जना लिपि कक्षामा भने बिद्या सागर तुलाधर प्रथम, सदिक्षा शाक्य दोश्रो, प्रमिला ताम्राकार र अनुसूया मानन्धर तेश्रो स्थानमा पर्न सफल भए  । पुरस्कृतहरुलाई वरिष्ठ पत्रकार नेपालभाषा टाइम्सया सम्पादक सुरेश किरण मानन्धरले प्रमाण पत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा गुथिका सचिव पवित्र कसाःले वार्षिक प्रगती प्रतिवेदन पेश गर्नुभयो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष उत्तम मानन्धरले पेश गर्नुभयो । 

Categorized in समाज