बेलायतमा 'युनिस' नामक आँधीबाट तीन जनाको मृत्यु
SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण ७, शनिबार

तीन दशकयताकै शक्तिशाली आँधीका कारण बेलायतमा ३ जनाको मृत्यु भएको छ ।
‘यूनिस’ नामको आँधी १ सय २५ माइल प्रतिघण्टाको वेगमा आएको थियो । आँधीका कारण लन्डनका साथै पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्डका कयौँ क्षेत्र प्रभावित भएका छन् । आँधीका कारण सयौँ हवाइ उडान तथा रेल सेवाहरू रद्द भएका छन् ।
तीव्र गतिमा बहेको हावाका कारण कतिपय स्थानमा रुख र बिजुलीका खम्बाहरू ढलेका, सडकमा लरी पल्टिएका छन् । आँधीकै कारण बेलायतका करिब दुई लाख घरहरूमा विद्युत् सेवा अवरुद्ध भएको आँधीका कारण जनजीवन प्रभावित बनेको बीबीसीले जनाएको छ । आँधी काबाट तीन जनाको मृत्यु समेत भएको छ । मृत्यु हुनेमा ३० वर्षीया महिला, २० वर्षीय र ५० वर्षीय पुरुष रहेका छन् ।
सरकारले अति आवश्यक परेमा घरबाहिर निस्किन र अनावश्यक यात्राहरूलाई कटौती गर्न सर्वसाधारणलाई अपिल गरेको छ । सडक आसपासका कैयौँ रुखहरू ढलेर सवारी साधनलाई क्षति पुर्याएको छ ।
Categorized in अन्तर्राष्ट्रिय