महर्जन कम्प्लेक्सको बुकिङ खुल्यो
SamacharDesk – विजनेस ब्यूरो | २०७५ चैत्र १४, बिहिबार

न्यूरोडको जुद्ध सालिक अगाडी निर्माणाधीन चर्चित महर्जन कम्प्लेक्सले बुकिङ खोलेको छ । सिमित ठाउँमात्र खाली भएको जनाउँदै कम्प्लेक्सले बुकिङको सूचना सार्वजनिक गरेको हो ।
कम्प्लेक्सको प्रवर्ध्दक कम्पनी महर्जन विजनेस एशोसिएट्स प्रा.लि.ले सो कम्प्लेक्सलाई नेपालको पहिलो सम्पदा मैत्री व्यापारिक भवन भनेर पनि दावी गरेको छ । यो कम्प्लेक्स गहना पसल, ब्रान्डेड पसल, फुड कोर्ट, रेष्टुरेन्ट, वित्तिय संस्था आदिको लागी निकै उपयुक्त रहेको पनि जनाएको छ ।
भवनमा उपलब्ध हुने सुविधाहरु समेत सार्वजनिक गर्दै ९ म्याग्निच्यूडसम्मको भूकम्प थेग्न सक्ने भूकम्प प्रतिरोधात्मक सो भवनमा आधुनिक क्याप्सुल लिफ्ट, एलिभेटर, एस्केलेटर, आगलागी नियन्त्रण प्रविधी लगायतका सुविधाहरु हुने कम्पनीले जनाएको छ ।
साथमा सो भवनमा २४सै घन्टा सुरक्षा प्रदान हुनुका साथै भवनको बीच भागमा खुल्ला स्थान हुने र स्वच्छ हावापानी, वातावरण हुने पनि जनाएको छ ।
सो कम्प्लेक्सका बारेमा विभिन्न खालको चर्चा र विवादहरु पनि बाहिर आइरहेका थिए । सो सम्बन्धमा कम्पलेक्सको मुद्दा सर्वोच्च अदालतसम्म पनि पुगेको थियो । कम्प्लेक्स विरुद्ध मुद्दा हाल्ने पक्षको दावी जिकीर नपुगेको भन्दै सर्वोच्चले कम्प्लेक्सकै पक्षमा फैसला सुनाइसकेको छ । साथै, यसको आधुनिक स्वरुपले विश्व सम्पदा क्षेत्रलाई नकारात्मक असर पुर्याउने भनिएकोमा यूनेस्कोले आवश्यक सोधपुछ र अध्ययनपछि यस भवनको स्वरुप नियो क्लासिकल डिजाइनको भएको र यसले वसन्तपुर क्षेत्रको रौनक थप्ने समेत बताएको थियो ।
Categorized in बिजनेस