महिला उद्यमशीलताको लागी भन्दै गुण व्युटिसियन तीनकुने शाखाको शुरुवात
SamacharDesk – इनटरटेनमेन्ट ब्यूरो | २०७५ मङ्सिर २९, शनिबार

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले देशको समृद्धिको यात्रामा महिलाहरु पनि सशक्त रुपमा अगाडी बढ्नुपर्ने बताउनुभएको छ । गुण व्युटिसियन ट्रेनिङ सेन्टर तीनकुने शाखाको उद्घाटन गर्दै उपमेयर खड्गीले सीप सिकेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो ।
खड्गीले घरको चुल्होमा मात्र सिमित नरही महिलाहरु पनि आफ्नै खुट्टामा उभिनुपर्नेमा जोड दिनुभयो । ‘आजका महिलाहरु भान्छा मात्रै होइन, देशलाई पनि सम्हाल्न सक्छन्’ उपमेयर खड्गीको भनाई थियो ।’
गुण ब्युटिसियन ट्रेनिङ सेन्टरकी संचालक गुणकेशरी ताम्राकारले महिला दिदीबहिनीहरुलाई आफ्नो खुट्टामा उभिनसक्ने बनाउनु नै आफ्नो प्रमुख उद्देश्य भएको बताउनुभयो । आफुले ट्रेनिङ सेन्टरको शुरुवात व्यापार वा नाफाको उद्देश्यले नभई, महिलाहरुको उत्थानको उद्देश्यले गरेको ताम्राकारको भनाई थियो । यहि उद्देश्य अनुरुप आफुले एक दशक अगाडी ट्रेनिङ सेन्टरको शुरुवात गरेको र यसलाई अझ वृहत रुपमा अगाडि बढाउन एकेडमिको अवधारणामा तीनकुने शाखाको पनि शुरुवात गरेको उनले जानकारी दिनुभयो ।
‘आज पनि धेरै महिला दिदीबहिनीहरुले आर्थिक, सामाजिक समस्या भोगि नै रहेका छन्, सीप हातमा भयो भने, आफ्नै खुट्टामा उभिन सकिन्छ, आफ्नौ जन्मभूमिमै केही गर्न सकिन्छ’ ताम्राकारको भनाई थियो ।
दुईचार पैसा नाफाको लागी यस क्षेत्रमा विकृती बढेको भन्दै आफुकहाँ तालीम लिन आउने महिलाहरुलाई यस किसिमका विकृतीलाई निर्मूल गर्दै गुणस्तरीय सेवाको लागी आफुले प्रोत्साहित गर्ने गरेको ताम्राकारले जानकारी दिनुभयो ।
गुण व्युटिसियन ट्रेनिङ सेन्टरले आफ्नो दशौं वार्षिकोत्सवको अवसर पारेर तीनुकने शाखाको शुरुवात गरेको हो । विगतमा ट्रेनिङ सेन्टरबाट हेयर कटिङ, व्युटिसियनको साथमा व्युटि प्रोडक्टको बारेमा समेत तालीमहरु दिँदै आएको थियो भने अब तीनकुने शाखाबाट तालीमको साथमा व्युटिसियन सम्बन्धि सेवा पनि प्रदान गर्ने जनाएको छ । एक दशक अगाडी ललितपुरको प्रयागपोखरीबाट शुरु भएको सेन्टर पछि गएर महापालबाट संचालन भइरहेको थियो भने अहिले तीनकुने शाखालाई एकेडमिको अवधारणामा संचालन गर्न लागेको सेन्टरकी संचालन ताम्राकारले बताउनुभएको छ ।
Categorized in बिजनेस