महिला सम्बन्धी कानून विषयक अभिमुखीकरण सम्पन्न
SamacharDesk – सोसियल ब्युरो | २०७५ आश्विन ७, आइतबार

देशमा संघीयता लागू भइसकेको र, साथमा देशमा नयाँ कानूनी व्यवस्था समेत लागू भइसकेको अवस्थामा महिला सम्बन्धी कानून सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंमा राजोपाध्याय समाजको आयोजनामा ‘संघीयतामा महिला सम्बन्धी कानूनी व्यवस्था’ विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अधिवक्ता रमेशकाजी श्रेष्ठले सहभागीहरुलाई हालको कानूनमा महिलासँग सम्बन्धित कानूनी व्यवस्थाको बारेमा जानकारी गराउनुभयो । अधिवक्ता श्रेष्ठले वर्तमान कानूनमा पारपाचुके अथवा पुरुषको बहुविवाहको अवस्थामा अंश, नागरिकता, राज्यका विभिन्न निकायमा समावेशी सहभागीता आदि सम्बन्धमा जानकारी गराउनुभएको हो ।
श्रेष्ठले गत भाद्र १ गतेबाट जारी नयाँ मुलुकी संहितापछि महिलाले पाएको अधिकार वा सुविधा र विगतको व्यवस्थाको बारेमा तुलनात्मक जानकारी पनि दिनुभयो ।
कानूनको बारे सम्पूर्ण रुपमा कोही जानकार नहुने तर आधारभूत ज्ञान भने हुनुपर्ने अधिवक्ता श्रेष्ठले बताउनुभयो । ‘कानूनको पूर्ण ज्ञान कसैमा हुँदैन । तर के गर्नुहुन्छ, के हुन्न भनेर आधारभूत ज्ञान सबैले राख्नुपर्छ । कानूनले अपराध तोकेका विषयमा जानकारी छैन भनेर पाइन्न ।’ श्रेष्ठको भनाई थियो ।
शान्ति निकुञ्ज मा.वि. काठमाडौंमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रमा आवद्ध महिलाको साथै गृहिणीहरु र पुरुषहरु समेत गरी ३० जनाको सहभागीता थियो ।
