मातृभाषा शिक्षाको सवालमा मन्त्री पोखरेल सकारात्मक
SamacharDesk – शिक्षा ब्युरो | २०७५ भाद्र २, शनिबार

शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री गिरीराजमणि पोखरेलले मातृभाषा माध्यमबाट शिक्षा प्रदान गर्न आफु सकारात्मक रहेको बताउनुभएको छ । नेपालभाषा एकेडेमीको प्रतिनिधीमण्डलसँगको भेटवार्तामा मन्त्री पोखरेलले समय सापेक्ष शिक्षा प्रणालीलाई सुधार गर्दै मातृभाषा माध्यमबाट शिक्षा प्रदान गर्न सकिने भन्नुभएको हो ।
अब कार्यान्वयन हुने शिक्षा नीति र शिक्षा सम्बधी ऐन कानुनमा संविधानमा आधारित हुनुपर्ने माग गर्दै नेपालभाषा एकेडेमीले मन्त्री पोखरेल समक्ष ज्ञापनपत्र बुझाएको हो । नेपालको संविधानमा नेपालमा बोलिने सबै भाषालाई समान अधिकार र राष्ट्रिय मान्यता दिइएको र यस किसिमका मातृभाषाले शिक्षा हासिल गर्ने अधिकार सुनिश्चित गरिएको छ ।
नेपालभाषा ऐकेडेमीका चान्सलर चित्तरञ्जन नेपालीको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले बुझाएको ज्ञापन पत्रमा देशको हरेक प्रदेशमा मातृभाषाको रुपमा बोलिने भाषाबाटै आधारभुत शिक्षा हासिल गर्न पाउनुपर्ने, प्रदेशमा संचालन हुने सामुदायिक र गैर सामुदायिक विद्यालयमा आधारभुत शिक्षा आआफ्नो मातृभाषाबाट अनिवार्य रुपमा पढन् पाउनुपर्ने, अन्य भाषा ऐच्छिक विषयको रुपमा पठनपाठनको व्यबस्था हुनुपर्ने र मातृभाषा शिक्षाको लागी आवश्यक पाठ्यसामग्री र शिक्षकको व्यबस्था सरकारी कोषबाट हुनुपर्ने माग उल्लेख गरिएको छ ।
भेटवार्ताको क्रममा बहुभाषिक र बहुजातिय मुलुकमा सामाजिक संरचना अनुरुप सरकारले शिक्षा सम्बन्धी कानुनी व्यबस्था तर्जुमा गर्नेछ भन्नेमा एकेडेमीका चान्सलर नेपालीले विश्वास व्यक्त गर्नुभएको थियो । एकेडेमीका सदस्य सचिव मल्ल के सुन्दरले भने मातृभाषा शिक्षाका लागी सरकारले गर्नुपर्ने परिवर्तनका बारेमा बोल्नुभएको थियो ।
भेटवार्तामा एकेडेमीका भाइस चान्सलर यज्ञरत्न धाख्वाः, कोषाध्यक्ष डा.पुष्पराज राजकर्णिकार लगायत एकेडेमीका प्राज्ञ सदस्यहरुको उपस्थिती थियो ।
Categorized in समाज