यइपुले अब डिजाइनिङसँगै व्यक्तित्व विकास तालीम पनि दिने
SamacharDesk – विजनेस ब्यूरो | २०७५ माघ ६, आइतबार

यइपु फेसन डिजाइनिङ इन्स्टिच्यूटले अब फेसन डिजाइनिङसँगै व्यक्तित्व विकासको पनि तालीम दिने भएको छ । स्थापनाको दुइ दशक पार गरेसँगै यइपुले डिजाइनिङसँगै व्यक्तित्व विकासको समेत तालीम दिने भएको हो ।
सन् १९९९मा पूल्चोक ललितपुरबाट यइपु फेसन डिजाइनिङ इन्स्टिच्यूटको शुरुवात भएको थियो । अहिले सन् २०१९मा इन्स्टिच्यूटको दुइ दशक पुरा हुँदैछ । यहि अवसरमा यइपुले रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.लि.सँग सहकार्य गर्दै व्यक्तित्व विकासको तालीम संचालन गर्न लागेको हो ।
यइपुले स्थापनाकालदेखि नै फेसन डिजाइनिङको तालीम दिँदै आएको छ । धेरै राम्रा डिजाइनरहरुमा आत्मविश्वासको कमी र बोल्ने कलाको कमी देखेको इन्स्टिच्यूटकी संचालक सानु बज्राचार्यले बताइन् ।
‘डिजाइनिङमा राम्रो प्रतिभा भएर पनि बोल्न हिच्किचाउने, आत्मविश्वासको कमीले कतिपय डिजाइनरहरु अगाडि आउन नसकेको मैले देखें’ बज्राचार्यले भनिन्, ‘त्यसैले यस्ता कमीले गर्दा प्रतिभा पछाडी नपरोस् भन्ने उद्देश्ले व्यक्तित्व विकासको तालीम पनि दिन लागिएको हो ।’
यसको साथमा यइपुले डिजाइनरहरुलाई अगाडी ल्याउनका लागी पनि रेडियन्टसँग सहकार्य थालेको छ । रेडियन्टको प्रतिष्ठित इभेन्ट फेसन युनाइट्सका लागी यइपुले सहकार्य थालेको हो ।
फेसन युनाइट्सको दोश्रो संस्करणदेखि ड्रेस डिजाइनमा यइपुले रेडियन्टसँग सहकार्य गर्न थालेको हो । तेश्रो संस्करणका लागी पनि यइपुले डिजाइनिङमा काम गर्ने यइपुकी संचालक बज्राचार्यले बताइन् ।
‘रेडियन्टसँग फेसन युनाइट्सका लागी सहकार्यले एक त हामीकहाँ डिजाइनिङको तालीम लिन आउने प्रशिक्षार्थीहरुका लागी आफ्नो प्रतिभा प्रस्तुत गर्ने डबली पाउँछन् भने अर्को पक्ष भनेको अनुभवले आत्मविश्वास बढाउनेछ’ बज्राचार्यको भनाई छ ।
महिलाहरुलाई सीप दिएर उद्यमशील बनाई आफ्नै खुट्टामा उभिनसक्ने बनाउनु नै आफ्नो प्रमुख उद्देश्य रहेको बज्राचार्यको भनाई छ । त्यहि कारणले न्यून शुल्कमै डिजाइनिङ सम्बन्धी स्तरीय तालीम दिँदै आएको बज्राचार्यले बताइन् ।
आफुकहाँ डिजाइनिङको तालीम लिन आउने प्रशिक्षार्थीलाई अझ सक्षम व्यक्तित्व विकासको तालीमसँगै विभिन्न इभेन्टमा संलग्न गराउने कार्यक्रम ल्याएको पनि उनले जानकारी दिनुभयो । यसको लागी आफुले अतिरिक्त शुल्क पनि नलिने जानकारी पनि बज्राचार्यले दिनुभयो । ‘हाम्रो उद्देश्य नाफा कमाउने नभई महिलाहरुको सशक्तिकरण र सबलीकरण हो’ बज्राचार्यले थपिन् ।
Categorized in बिजनेस