लकडाउनमा कलाकारहरु श्रृजनामै व्यस्त
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७६ चैत्र २१, शुक्रबार

नेपाल अहिले लकडाउनमा छ । सारा नेपाल ठप्प छ । नेपालमात्र होइन, सारा संसारै लकडाउनमा ठप्प छ । कोरोना भाइरस कोभिड १९को संक्रमणले संसाभरी महामारीको रुप लिएपछि यो भाइरसबाट बच्न करिव पुरा विश्वमै लकडाउन गरिएको छ ।
यस्तो बेला प्राय सबैको कामकाज ठप्प छ र घरमै थुनिएर बस्न वाध्य छन् । साहित्यकार, कलाकारहरु भने नयाँ श्रृजनामा जुटेको देखिन्छ । साहित्यकारहरु कोरोनालाई नै लिएर कविता, गीत रचनातर्फ जुटे भने गायक संगीतकारहरु यी कवितालाई संगीतवद्ध गर्दै गाउनमा जुटेका छन् ।
दिपक बज्राचार्यको लकडाउन
लकडाउन शुरु हुन अघि नै गायक दिपक बज्राचार्य सेल्फ क्वारेन्टाइनमा ‘मेरो घर’मा बसिरहेका थिए । कार्यक्रमको लागि अस्ट्रेलिया गएका दिपक र उनको व्यान्ड बीचमै कार्यक्रम स्थगित भएपछि फर्केर सिधै सेल्फ क्वारेन्टाइनमा बस्न गएका थिए । सेल्फ क्वारेन्टाइनमा बसेका दिपकले लकडाउन शुरु भएको दिन चैत्र ११ गतेबाट आफ्नै ब्यान्डसँग लाइभ प्रस्तुति फेसबुकमार्फत दिन थालेका थिए । सोही क्रममा लकडाउनको दोश्रो दिन चैत्र १२मै उनले लकडाउन गीत सार्वजनिक गरे ।
लकडाउनको पहिलो दिन लाइभ प्रस्तुति पछि उनकै रिदम ब्यान्डका लाखय् राजीप बज्राचार्यले उनलाई एउटा गीत दिए । राजीपका आफन्त विजेन्द्र बज्राचार्यले लेखेको गीतलाई दिपकले आफ्नो रिदम ब्यान्डसँग बसेर करीब २ घन्टा जतिमै संगीतबद्ध मात्र होइन, संगीत संयोजन पनि गर्न भ्याए र भोलिपल्ट आफ्नौ लाइभ प्रस्तुतिमा गाउन पनि भ्याए ।
फेसबुक लाइभमा दिपकले यो गीत गाइरहँदा गीतको प्रशंसा गर्दै थुप्रै कमेन्टहरु आए भने यो सामग्री लेखिरहँदासम्म युट्युबमा यो गीतको भ्यूज २६ हजार नाघिसकेको छ ।
यो गीत रेकर्ड नगर्ने त भन्ने प्रश्नमा दिपकले भने, ‘यो लकडाउन अवधिको लागि मात्र हो, यो गीतलाई रेकर्ड गर्नुभन्दा लकडाउन र यो भाइरसले पार्ने दीर्घकालीन प्रभावलाई ध्यानमा राखेर केही योजना शुरु गरेको छु ।’
आफ्नो नयाँ योजनाको बारे चाँडै नै जानकारी दिने उनले बताए ।
यमनले पनि गरे लकडाउन
चर्चित हास्य कलाकारको साथमा गायक यमन श्रेष्ठले पनि लकडाउनकै बीच एउटा गीत बनाउन भ्याइहाले । उनले आफ्ना बुवासँग बसेर एउटा गीत लेखे, ‘लकडाउन लकडाउन संसारै छ सटडाउन ।’
लकडाउनमा घर बस्दै गर्दा उनले यो गीत बुवासँग बसेर यो गीत लेखेनन् मात्रै, संगीतवद्ध गरेर, संगीत संयोजन गरेर, आफैले घरमा रेकर्डिङ गरे र उनकी बहिनी सरानाले मोबाइलको क्यामेराबाट खिचेर निर्देशन गरेकी फुटेजहरुलाई दृश्य सम्पादन गरेर म्यूजिक भिडियो सम्म पनि बनाउन भ्याए ।
‘मेरै स्यानो कम्प्यूटरमा रेकर्ड गरें, मेरै मोबाइलबाट खिचिएको भिडियोलाई युट्युब हेर्दै एडिटिङ सिकेर आफैं एडिटिङ गरे, सुटिङ पनि घरभित्रै सिद्धियो, निर्देशन बहिनीले नै गरिन् । यो गीतमा मैले त एक रुपैयाँ पनि खर्च गर्नु परेन’ हाँस्दै यमनले भने ।
पवनराज बज्राचार्यले पनि बनाए सन्देशमूलक गीत
यूवा गायक पवजराज बज्राचार्यले पनि यो लकडाउनमा एउटा गीत श्रृजना गरे । लकडाउनलाई सर्वसाधारणले लापरवाही गर्दै बाहिर निस्कने गरेको देख्दै सन्देशमूलक गीत बनाउने सोच आएको बज्राचार्य बताउँछन् ।
‘लकडाउन हाम्रै लागि हो, अनुशासित भएर यसको पालना गरौं, अनावश्यक बाहिर नहिँडौं । सामाजिक दुरी कायम गर्दै एक अर्कालाई गर्न सकिने सहयोग गरौं भन्ने सन्देश दिन मैले यो गीत बनाएको हो’ बज्राचार्यले भने ।
चैत्र १४ गते शुक्रबार उनमा यो गीतको परिकल्पना आयो र आइतबारसम्ममा यो गीतको भिडियोसम्मै तयार भइसक्यो ।
गीतको रचना, संगीत, संगीत संयोजन गरेर गाउनुका साथै रेकर्डिङ सम्म पनि पवनले नै गरेका छन् भने भिडियोको काम उनकै दाजु मिलनरत्न बज्राचार्यले गरेका छन् । पवनले घरमै रेकर्डिङ स्टुडियो बनाएका छन् ।
इन्टरनेटबाट फुटेजहरु निकालेर मिलनले गीत एडिटिङ पनि गरेर गीतको भिडियो बनाएका छन् ।
ग्यान्पु स्टाइल सुरजले पनि गाए अय् कोरोना
ग्याङनम स्टाइलको नेपालभाषा भर्सन ग्यान्पु स्टाइलको साथमा जन्मदिनको शुभकामना गीत गाउने चर्चित गायक साथै संचारकर्मी सुरजबीर बज्राचार्यले पनि लकडाउनमा कोरोनाको गीत गाउन भ्याए ।
सुरजले हिन्दी गीत ‘है अपना दिल तो आवारा’को संगीतमा ‘अय् कोरोना, ओ कोरोना’ गाएका छन् । शब्द भूषणप्रसाद श्रेष्ठको रहेको छ ।
यहि हिन्दी गीतको संगीतमा लेखिएको शब्द भने सुरजलाई नेपालभाषाको पाक्षिक पत्रिका ‘पेजथ्री’ का सम्पादक दर्शनबीर शाक्यले उपलब्ध गराएका रहेछन् ।
रेकर्डिङ स्टुडियोहरु सबै बन्द रहेको अवस्थामा उनले यो गीत आफ्नै ल्यापटपमा रेकर्ड गरे । ल्यापटपमा पनि राम्रै रेकर्ड भएछ त भन्ने जिज्ञासामा छोटो उत्तर दिए, ‘हुने रहेछ ।’
गीतको लिरिकल भिडियो पनि सुरज आफैले बनाएका हुन् ।
लकडाउनमा सब ठप्प हुँदा कलाकारहरु यसरी उपलब्ध श्रोत साधनकै सदुपयोग गर्दै कलाकारहरु श्रृजनामा जुटेका छन् । यस्तो अवस्थामा कलाकारका यी श्रृजनाले आम नागरिकलाई पनि केही क्षणको भएपनि मनोरन्जन पनि दिइरहेको छ ।
p
Categorized in पेजथ्री