arin enterprises

ललित अन्तर्राष्ट्रिय व्यापार मेला सम्पन्न

SamacharDesk – विजनेस ब्यूरो | २०७६ बैशाख १, आइतबार

पाँच दिनको उत्साहजनक कारोबार गर्दै ललित अन्तर्राष्ट्रिय व्यापार मेला आईतबार सम्पन्न भएको छ ।

गत बुधबार ललितपुरको पुल्चोक, नःटोलस्थित मदनस्मारक विद्यालयको प्रांगणमा शुरु भएको मेलामा अहिलेसम्मकै उल्लेख्य कारोवार भएको ललितपुर उद्योग वाणिज्य संघका अध्यष कृष्णलाल महर्जनले बताउनुभयो । ५० हजार भन्दा बढिले मेलाको अवलाकेन गरेको पनि संघका अध्यक्ष महर्जनले दाबी गर्नुभयो ।

मेलामा चीनमा उत्पादित दैनिक उपभोग्य, खेलकुदको सामग्री, भारत, पाकिस्तानका लत्ता कपडा, नेपाली हस्तकलाको सामानको उल्लेख्य बिक्री वितरण भएको बताइएको छ । तन्ना, लुगा, ब्लाकेट लगायतको कारोबार उत्साहजनक रहेको व्यवसायी बाबुराजा ज्यापुको भनाई छ ।

मेलामा राखिएका १२ फिटका बुद्धमूर्ति, दुई मिटरको पद्मसम्भव,  करिब ५ फिट सहस्रभुज लोकेश्वर सबैको आकर्षण बन्यो । ललितपुरमै उत्पादित ती धातुका ती मूर्तिहरु हेर्दै त्यसमा कुँदिएको कलात्मक बुट्टाको प्रंसशा प्राय सबैले गरेका थिए । 

त्यसैगरी मेलामा नेपाल आर्ट भिलेजको स्टलमा कलाकार राजकुमार महर्जनले मानव मूर्ति बनाएको जीवन्त प्रदर्शनी पनि धेरैका लागि रोचक विषय बन्यो ।

हस्तकलाको क्षेत्रमा संकट व्यहोर्नु परिरहेको अवस्थामा मेलाले त्यसको संरक्षणका लागि ठोस कार्य गर्न ललितपुर महानगरपालिकालाई ध्यानाकृष्ट गरेको संघका वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीको कथन रहेको छ ।

मेलामा भारत, पाकिस्तान, बंगलादेश, चीन लगायत विभिन्न देशका उत्पादित लत्ताकपडा, दैनिक उपयोगी, सज्जावटका ३० वटा स्टल रहेका थिए । त्यसैगरी नेपाली हस्तकलाका सामग्री, धातुकला, लत्ताकपडा, पस्मिना, लगायत ७० वटा स्टल रहेका थिए । विभिन्न महिला समूहले उत्पादन गरेका सामग्रीको बिक्री वितरण राम्रो रहेको बताइएको छ । 

संघको ५२ औं स्थापना दिवस र हरेक वर्ष निरन्तर मेला आयोजना गर्ने नीति अनुरुप सो मेला आयोजना गरिएको संघका कार्यकारिणी सदस्य एवं प्रचारप्रसार संयोजक मिलन शाक्यले जानकारी दिनुभयो । मेलाले ललितपुरमा बृहत मेला प्रदर्शनीको स्थल, खुल्ला ठाउँको महत्व र ललितपुरलाई बजारको रुपमा विकास गर्ने दिशामा ठोस टेवा पु¥याएको पनि संयोजक शाक्यले बताउनुभयो ।

Categorized in बिजनेस