arin enterprises

ललित व्यापार मेलाबाट खुला ठाउँ जोगाउनुपर्ने सन्देश

SamacharDesk – विजनेस ब्यूरो | २०७५ चैत्र २८, बिहिबार

ललितपुर उद्योग वाणिज्य संघबाट आयोजित ललित अन्तर्राष्ट्रिय व्यापार मेलाको आज दोश्रो दिन, विभिन्न ठाउँबाट आएका अवलोकनकर्ता खचाखच थिए । मेला भर्न आएका अवलोकनकर्ताहरुले मेलाको त मजा लिए नै, साथमा धेरैले यस्तो पनि भने, ‘अनियन्त्रित शहरी विकासले ललितपुरका खुल्ला ठाउँ क्रंक्रिटको जंगल बन्दै गएको अवस्थामा यो मेलाले खुल्ला ठाउँको महत्व दर्शाएको छ ।’

‘यहाँको खुल्ला स्थान त मेलाको लागि निकै सुहाउँदो पाएँ’ मेलाको अवलोकन गर्न आउनुभएका ललितपुर ठेचोका विकास मालीले भन्नुभयो । मेलामा यस किसिमको सजावट सधै ललितपुर बाहिर मात्र देख्न पाइन्थ्यो’ प्रफुल्लित हुँदै मालीले भन्नुभयो ।

ललितपुर–१६ क्वालखु निवासी सुजन बज्राचार्यले भने फरक ढङ्गले यो स्थानलाई देखे । ‘खुल्ला चौरहरुमा धमाधम आधुनिक गगनचुम्बी भवन ठडिन थाले । मदनस्मारको खुल्ला चौरमा मेला गरेर खुल्ला ठाउँको महत्व र त्यसलाई जोगाउनुपर्ने सन्देश दिएको छ ।’ विगतमा विभिन्न मेलाको व्यवस्थापनको जिम्मेवारी सम्हालिसक्नुभएका बज्राचार्यको भनाई रहेको छ ।

अघिपछि ललितपुरमा हुने हरेक व्यापार मेला पाटन दरबार क्षेत्र आसपासका स्थानमा हुने गर्दथ्यो । यसपटक भने मेलाको आयोजना ललितपुर पूल्चोकस्थित मदन स्मारक स्कूलको खुल्ला चौरमा हुँदैछ । संघका अध्यक्ष कृष्णलाल महर्जनले मेलाकोे स्थान छनौटले सो स्थान मेलाको लागि केन्द्रबिन्दु रहेको ध्यानाकर्षण गराएको धारणा राख्नुभयो ।

‘सबैलाई पायक पर्ने, सिधै यातायातको पहुँच भएको स्थान हो । पार्किङदेखि हरेक सुविधा उपलब्ध स्थान भएकोले एक वर्षदेखि मेलाको लागी यहि स्थान मनमा खेल्न थालेको थियो । बल्ल साकार भएको छ ।’ अध्यक्ष महर्जनले भन्नुभयो ।

बुधबार भएको उद्घाटन समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनले ललितपुरमा एउटा अन्तराष्ट्रिय स्तरको प्रर्दशनी हल बनाउन सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । यस अघि संघका अध्यक्ष महर्जन र ललितपुर क्षेत्र नं ३ का सांसद् पम्फा भुसालले ललितपुरमा प्रदर्शनीको हलको बारेमा उठाएको विषयलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुन सो ध्यानाकर्षण गराउनुभएको हो ।

मेलाको दोस्रो दिन विहीबार मात्र १५ हजार भन्दा बढीले मेलाको अवलोकन गरेको दाबी प्रचार प्रसार संयोजक मिलन शाक्यले गर्नुभयो । तीन दिनमा सो संख्या दोब्बर हुने अनुमान शाक्यको रहेको छ । 

मेलामा करिब १ सय वटा स्टलहरु रहेका छन् । नेपाली उत्पादनका ७० र भारत, पाकिस्तान, बंगलादेश, चीन लगायत विभिन्न देशबाट उत्पादित लत्ताकपडा, दैनिक उपभोग्य र सजावट सामग्रीका ३० वटा गरी सय वटा स्टल रहेका छन् ।

संघको ५२औं स्थापना दिवस र हरेक वर्ष निरन्तर मेला आयोजना गर्ने नीति अनुरुप सो मेला आयोजना गरिएको थियो । पाँच दिनसम्म चल्ने सो मेलामा हरेक दिन सांस्कृतिक कार्यक्रम हुनेछ ।

Categorized in बिजनेस