सम्मान सहित सामूहिकको साधारणसभा सम्पन्न
SamacharDesk – विजनेस व्युरो | २०७५ भाद्र २३, शनिबार

विभिन्न सम्मानहरु गर्दै सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरको २०औं वार्षिक साधारण सभा भक्तपुरमा सम्पन्न भएको छ ।
सभामा नेफ्स्कूनका अध्यक्ष डीवी बस्नेतले आ.व.२०७४/०७५ का असल वचतकर्ता सम्मान सदस्य संगीता खिम्बाजा बज्राचार्य, असल ऋणी सम्मान सदस्य अञ्जु जोशी (चिपालु) लाई प्रदान गर्नुभयो । सोही कार्यक्रममा उत्कृष्ट कर्मचारी सम्मान वरिष्ठ कार्यालय सहयोगी प्रेमबहादुर ग्वाछालाई प्रदान गरीयो ।
नमूना काम गरिरहेको सामूहिक साकोसले यस वर्ष एक्सेस ब्राण्ड प्राप्त गर्ने २१औं संस्था हुने विश्वास अध्यक्ष बस्नेतले व्यक्त गर्नुभयो । त्यसका लागि शेयर सदस्यहरुले शेयरपूँजी बृध्दि गर्न शेयर खरिद गर्नुपर्नेमा बस्नेतले जोड दिनुुभयो ।
भक्तपुर नगरपालिका वडा नं.३ का वडाध्यक्ष राजकृष्ण गोराले भक्तपुर नगरपालिकाले सहकारी संस्थाहरुलाई नियमन अनुगमन गर्न नीति शून्य भइरहेको बताउँदै तत्काल सहकारी ऐन जारी गरी दोस्रो नगर परिषदबाट पनि केही दफाहरुलाई सुझाव अनुसार संशोधन गरी काम गरिरहेको जानकारी दिनुभयो । भक्तपुर साकोस संघ र सहकारी विज्ञहरुसंग सल्लाह गरि आगामी नगरपरिषदबाट सहकारी ऐनलाई सहकारी मैत्री बनाई संशोधन गरि लागू गर्ने क्रममा रहेको पनि वडाध्यक्ष गोराले बताउनुभयो ।
समारोहमा संस्थाका पूर्वअध्यक्षहरु नित्यनाथ श्रेष्ठ, श्यामप्रसाद मुनंकर्मी, भक्तपुर साकोस संघका सचिव जगनाथ प्रजापति, भक्तपुर जिल्ला सहकारी संघ लि. का संचालक कृष्णहरि सैंजू, राष्ट्रिय सहकारी बैंक लि.का संचालक हरिनाथ योगी, समता बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष मोहनकृष्ण श्रेष्ठले आआफ्नो बिचार राखेका थिए ।
उद्घाटन सत्र लगत्तै भएको सभाको बन्द सत्रमा सचिव धनेशराज राजोपाध्यायले आ.व.२०७४/०७५ को वार्षिक प्रगति प्रतिवेदन र आ.व.२०७५/०७६को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष अशोकरत्न शाक्यले ५००० सदस्य पुर्याई रु.५० करोडको कूल कारोवार, ३५ करोड निक्षेप संकलन, ४०करोड लगानी गरि १ करोड ९० लाखको कर अघिको नाफा गर्ने लक्ष्य सहितको बजेट प्रस्तुत गर्नुभयो । साथै लेखा समितिको प्रतिवेदन संयोजक राजेशबहादुर श्रेष्ठले प्रस्तुत गर्नुभयो । प्रस्तुत गरिएको सबै प्रतिवेदनमाथि उपस्थित सदस्यहरुबीच व्यापक छलफल गरी सर्वसम्मतले पारित गरिएको थियो ।
२०७५ भाद्र २४ आइतबार बिहान ८ः४२ मो पोष्ट भएको
Categorized in बिजनेस
