सुबहालमा उद्घोषण तथा वक्तृत्व विकास तालिम सम्पन्न
SamacharDesk – सोसियल ब्यूरो | २०७६ बैशाख १६, सोमबार

ललितपुर महानगरपालिका, वडा नं. ८ का विभिन्न महिला समूहहरुका लागि आयोजित १० दिने उद्घोषण तथा वक्तृत्व विकास तालिम सम्पन्न भएको छ ।
ललितपुर महानगरपालिका वडा नं. ८ को सहयोगमा आयोजित उक्त तालिम २०७५ चैत्र २४ आइतबारबाट शुरु भएको थियो ।
प्रशिक्षणमा आयोजक जय मनोहर महाविहार मिसा पुचः लगायत यलमूल मिसा पुचः, यंगुबहाः मिसा पुचः, सरस्वती मां पुचः, सुबहाः मां पुचः, जागृति महिला पुचःका महिलाहरुका साथ टोलका पुरुष प्रशिक्षार्थी समेतको सहभागीता थियो ।
२५ जना प्रशिक्षार्थीको सहभागिता रहेको उक्त तालिममा संचारकर्मी सुरजवीर बज्राचार्यले प्रशिक्षण दिएका हुन् ।
तालिमको समापन समारोहमा ललितपुर महानगरपालिका वडा नं. ८ का अध्यक्ष हेम महर्जनले प्रमाण पत्र वितरण गर्दै अन्य कार्यक्रम पनि निरन्तर आयोजना गर्दै जान आग्रह गर्नुभयो । महिला नेतृत्व विकासका कार्यक्रमहरुमा सघाउनका लागि वडा कार्यालय सँधै तत्पर रहने प्रतिवद्धता अध्यक्ष महर्जनले ब्यक्त गर्नुभयो ।
वडा महिला सदस्य लक्ष्मी महर्जन, प्रशिक्षक सुरजवीर बज्राचार्यले १० दिने तालिमबाट प्राप्त उपलब्धिप्रति खुशी ब्यक्त गर्नुभयो ।
कार्यक्रममा जय मनोहर महाविहारका दाफा भजन गुरु नेमराज शाक्य, विहारका ज्येष्ठ आजु पुण्यराज शाक्य, वडा सदस्य प्रकाश महर्जन, जय मनोहर महाविहार सुधार समितिका अध्यक्ष सिङ्गराज शाक्यको पनि उपस्थिति थियो ।
वडा ८ का महिलाहरुलाई विभिन्न कार्यक्रम आयोजना गर्न सहज होस् भन्ने उद्देश्यले जय मनोहर महाविहार मिसा पुचः, सुबहालले महाविहार प्राङ्गणमा उक्त तालिम आयोजना गरेको हो ।
Categorized in समाज